छोरा बचाउन रामप्रसादको हरसम्भव प्रयास, घर बेच्दा पनि पुगेन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११, काठकुवा टोलका रामप्रसाद पोख्रेल (४५) यतिवेला छोराको उपचारका लागि काठमाडौँको निजामती कर्मचारी अस्पतालमा छन् ।
अस्पतालको हेमाटोलोजी वार्डअन्तर्गत बेड नम्बर २३९ मा छोरा (१८) रोशन उपचारत छन् । ब्लड क्यान्सरका बिरामी रोशनलाई बचाउन रामप्रसादले भएका सबै सम्पत्ति बिक्री गरे ।
छोरालाई ब्लड क्यान्सर होला भन्ने उनले कल्पना पनि गरेका थिएनन् । सामान्य बिरामी होला भनेर उनले अघिल्लो महिना वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल लिएर गएका थिए । भन्छन्, ‘त्यहाँबाट डाक्टरले ब्लडमा खराबी छ, काठमाडौँ लैजानुहोस् भनेपछि चिन्ता थपियो ।’
केही दिन सरसापट गरेर उनले फागुन ५ गते छोरालाई काठमाडौँ लगे । उनले सुरुमा सोचेका थिए, सामान्य समस्या होला उपचार भैजाला । तर अस्पतालका डाक्टरले सीधै ‘तपाईंको छोरालाई ब्लड क्यान्सर भएको रहेछ, ३०–३५ लाख खर्च लाग्छ’ भनिदिए । यताउता सरसापट गरी छोरालाई अस्पतालसम्म पुर्याएका रामप्रसादको होस उड्यो ।
‘त्यो वेला मेरा खल्तीमा १० रुपैयाँ पनि भएन, डाक्टरसाबले ३० लाखभन्दा बढी खर्च भनेपछि छाँगाबाट खसेजस्तै भएँ,’ निराश हुँदै उनी भन्छन्, ‘कहाँबाट ल्याउनु त्यत्रो ठुलो रकम ? कहिल्यै त्यति ठुलो पैसा देखेकै छैन । के गरूँ, कसो गरूँ भयो ।’
रामप्रसाद मौरीपालन व्यवसायी हुन् । त्यहीँबाट आएको पैसाले उनी घरखर्च चलाउँछन् । एक छोरा, एक छोरी पढाइरहेका छन् । पछिल्लो समय उनको व्यवसाय पनि कमजोर हुन थालेको छ । अन्य कुनै रोजगारी नभएकाले घर खर्च चलाउन उनलाई हम्मेहम्मे छ ।
छोराको उपचार गर्न यति ठुलो रकम कसरी जोहो गर्ने ? उनलाई चिन्ताले सताउन थाल्यो । ‘छोरालाई यही अवस्थामा घर लैजान पनि सक्दिनँ,’ रामप्रसाद दुःखी हुँदै भन्छन्, ‘के गर्ने गर्ने, घरै बेचेर भए पनि छोरालाई बचाउनुपरो ।’ यताउताबाट सरसापट गरेर उनले जम्मा गरेको पाँच लाख रुपैयाँ पनि खर्च भइसक्यो ।
सम्पत्तिका नाममा भएको त्यही घर उनले बिक्री गरे । भन्छन्, ‘२७ लाखमा बेचेँ, किन्नेले केही रकम दिइसकेको छ, पास गर्न बाँकी छ ।’ उक्त रकमले पनि उपचार गर्न नपुग्ने भएपछि उनले सामाजिक सञ्जालमा गुहार मागेको बताएका छन् ।
उनका अनुसार अहिले दैनिक २० हजारसम्म छोराको उपचारमा खर्च भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटाले अस्पताललाई सहुलियतका लागि सिफारिस पत्र लेखिदिएका छन् । अस्पतालबाट बढीमा १ लाखसम्मको सहयोग पाएका उनको त्यो पैसा पनि सकिएको छ ।
अस्पतालले पनि उपचार गर्न लामो समय लाग्ने बताएको छ । यद्यपि रोशनलाई अझै कति महिना अस्पताल राख्नुपर्ने हो यकिन भने छैन । ‘डाक्टरले सन्चो हुन्छ त भनेका छन्,’ रामप्रसाद भन्छन्, ‘के गर्नु, पैसा जुटाउन निकै कठिन भयो । परिवारको भोको पेट भरौँ कि ? अस्पतालको बेडमा छटपटाइरहेको छोरालाई बचाऊँ ?’
तर पनि उनी छोरा बचाउन आशावादी छन् । रोशन राष्ट्रिय चन्द्रगंगा मावि गाग्रेतालमा कक्षा १२ मा अध्ययनरत छन् ।
रामप्रसादले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेका छन् । सहयोगी मनहरूले रामप्रसाद पोख्रेलको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ३१५०७०१०००८१४४, ईसेवा नम्बर ९८६३५०५९१९ र मोबाइल नम्बर ९८१०५४२५८३ मा सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज