बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

पारा एथलेटिक्स टोली भारत जाँदै

बिहीबार, २२ फागुन २०८१, १९ : २७
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबिच बिदाइ गरे । 

मार्च ७ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणीनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्ने छन् । प्रभा आङदेम्बेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिने छिन् ।

अफिसियलमा राखेपकी सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।

एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्समा सहभागिता जनाएको यो दोस्रो पटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप