बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
कृषि कर्म

कालिज पालनमा कामयाब गौरवको सङ्कल्प : कृषिसँग होमस्टे जोड्न चाहन्छु

‘सरकारी अनुदान कागजी किसानमै सीमित’
बिहीबार, २२ फागुन २०८१, १४ : ३०
बिहीबार, २२ फागुन २०८१

धनगढी । अछामको चौरपाटी गाउँपालिका–४ का गौरव जोशी अहिले व्यावसायिक कालिज पालनमा समर्पित छन् । अहिले उनको फार्ममा १ हजार २ सयभन्दा बढी कालिज छन् । सिजन अनुसार कालिजको संख्या घटबढ भइरहने उनले बताए ।

न्यूनतम २ हजार पाँच सय रुपैयाँभन्दा माथिको मूल्यमा कालिज बिक्री हुने गौरवले बताए । उनको दैनिकी कालिज फार्ममै बित्छ । बिहानै चार बजेदेखि उनी राति अबेरसम्म फार्मको काम र मासु खान आएका ग्राहकको सेवामा लाग्छन् ।

gaurav kaliz (2)

त्यसो त गौरवले जागिरको अनुभव पनि बटुले, तर जागिर उनलाई फापेन । जागिर त्यागेर कृषि व्यवसायलाई नै उनले आफ्नो बाटो बनाए । ‘जिन्दगीमा अर्काको लागि काम गरिरहनुभन्दा आफ्नो सानो व्यवसाय भए पनि सुरु गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले मैले व्यवसाय सुरु गरेको हुँ ।’

सानैदेखि गाउँको माटो, डाँडापाखा र प्रकृतिलाई साथी बनाउँदै हुर्किएका गौरव घरबाट टाढा भएर जीवनमा अनेकौँ संघर्ष पार गर्नुपरेको सम्झन्छन् ।

गौरवले तीन वर्षअघि व्यावसायिक रूपमा कालिज पालन सुरु गरेका हुन् । अछाममा पहिलो पटक व्यावसायिक कालिज पालन गर्ने उनी पहिलो हुन् ।

gaurav kaliz (1)

खाली जमिनलाई उपयोग गर्दै कृषि र पशुपालनको माध्यमबाट आत्मनिर्भर बन्नु गौरवको योजना थियो । फेसबुक र युट्युबमा उनी कृषि सम्बन्धी भिडियो हेर्थे । यस क्षेत्रका विभिन्न कुरामा उनले सामाजिक सञ्जालबाटै जानकारी लिए ।

नेपालमा कालिज पालन व्यवसाय सुरु भएकै समयमा गौरव पनि कालिज पालन गर्न चाहन्थे । आर्थिक अभावका कारण उनले केही वर्ष पर्खिनुपर्‍यो । तीन वर्षअघि जब अवसर मिल्यो, उनले सर–सापटी मागेर लगानी जुटाउँदै हिम्मतका साथ आफ्नो व्यवसाय सुरु गरे ।

व्यावसायिक कालिज पालन गरिरहेकाहरूसँग गौरवले सल्लाह मागे । आत्मविश्वास र केही तयारीले उनलाई यो काम गर्न साहस मिल्यो ।

‘हाम्रो पहाडी भूभागको जमिन धेरैजसो बाँझो छ । बाँझो जमिनलाई सदुपयोग गरेर यसमाथि फस्टाउने व्यवसाय कसरी गर्ने भन्नेबारे अध्ययन गर्दा गर्दै कालिज पालन गर्न उपयुक्त ठानेँ,’ उनले सुनाए ।

gaurav kaliz (4)

सुरुवाती दिनमा धेरै कठिनाइसँग जुध्नुपरेको गौरवले सुनाए । बजारको अनिश्चितता, दानाको लागत, सरसफाइका चुनौतीलगायतको अभाव रहे पनि उनले हार मानेनन् । ‘धैर्य गर्नु कृषि व्यवसायको मूल मन्त्र हो,’ उनले भने ।

सुरुमा बजारको अभावजस्तो देखिए पनि गुणस्तरीय उत्पादनका कारण उनका कालिज मासुका लागि स्थानीयस्तरमै लोकप्रिय बन्न थाले । गत वर्ष उनले १ सय ६२ कालिज काटेर विभिन्न परिकार ग्राहकलाई खुवाएका थिए । यो वर्ष उनले दुई सय वटा कालिज काटेर ग्राहकलाई खुवाइसकेका छन् । उनी बजारका लागि धेरै भौतारिनु परेको छैन ।

अछामको मुख्य बजार मंगलसेन, साँफेबगर र कहिलेकाहीँ धनगढीसम्म पुर्‍याएर उनी कालिज बिक्री गर्छन् ।

गौरवले गाउँपालिकाको वडा नम्बर १ मा आफ्नो पुर्ख्यौली जमिनमा कालिज पालन गरिरहेका छन् । उनी त्यहीँ बस्छन् । आठ रोपनी क्षेत्रफलमा जाली लगाएर कालिज फार्म निर्माण गरेका उनले बाँकी दुई रोपनी क्षेत्रमा मासु प्रशोधन, भान्सा, निवासका लागि संरचना खडा गरेका छन् ।

फार्मको विशेषता भनेकै यहाँ पालिएका कालिजलाई ८० प्रतिशत प्राकृतिक आहारा (ऐसेलु, घाँसपात, घघारू, किरा, फट्याङ्ग्रा आदि) दिइन्छ । बाँकी २० प्रतिशतमात्र दाना खुवाइन्छ ।

gaurav kaliz (7)

‘हाम्रो पहाडमा बाँझो जमिन छ, तर मेहनत गर्ने हो भने त्यसलाई उत्पादनशील बनाउन सकिन्छ,’ जोशीले भने ।

मासिक २ लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गौरवले बताए । अहिलेसम्म उनको कालिज फार्ममा ४० लाखभन्दा बढी लगानी पुगेको छ ।

गौरव आफ्नो लगानी उठाउन अझै दुई वर्ष पर्खिने बताउँछन् । आम्दानी भएकै पैसाको केही हिस्साले उनी ऋण पनि तिर्दैछन् । ‘अहिलेसम्म त मैले धेरै फाइदा लिएको छैन । आम्दानी भएको पैसा बरु फार्ममै थपथाप गरिन्छ । सापटी तिर्ने काम पनि भइरहेको छ,’ उनले भने ।

बाँझो जमिनमा कृषि व्यवसायको सम्भावना अनगिन्ती रहेको बताउने गौरवले वडा नम्बर ४ स्थित आफ्नो गाउँमा पाँच हजार बोट टिमुर लगाइसकेका छन् । उनले दालचिनी खेतीको परीक्षण पनि गर्दैछन् ।

gaurav kaliz (9)

‘म कृषिसँग होमस्टे जोड्न चाहन्छु । यहाँको सुन्दरतासँगै पर्यटकहरूलाई कृषि अनुभव प्रदान गर्न सकिन्छ,’ उनले सुनाए ।

व्यवसाय विस्तारका लागि उनले सरकारी अनुदानको आशा नगरेको होइनन् । त्यस्तो अनुदान वास्तविक किसानभन्दा कागजी किसानहरूलाई नै दिने परिपाटी देखेर उनी निराश भएका छन् ।

‘कागजमा मात्रै किसान देखाउनेहरूले अनुदान पाउँछन् । वास्तविक किसान भने पछि पारिन्छ,’ गौरवले सरकारी नीतिप्रति गुनासो गर्दै भने ।

सही समय र पद्धतिमा अनुदान दिए किसानहरूको स्थिति सुधार्न सकिने गौरवको भनाइ छ । अनुदानमा अनावश्यक जटिलता र ढिलाइले किसानको उधारो बढाइदिने उनले बताए ।

गौरवको यो यात्रा सहज भने थिएन । समाजका कतिपय मानिसले उनलाई ‘डुब्यो, सकियो’ भनेर टिप्पणीसमेत गर्थे । यद्यपि उनले नकारात्मक कुराहरूलाई पन्छाउँदै आफ्नै बाटो समाते । ‘अरू के भन्छन् भनेर चिन्ता गर्नुको साटो आफ्नो काममा निरन्तर लाग्नुपर्छ । एक न एक दिन सफलता पाइन्छ,’ उनले भने ।

gaurav kaliz (11)

आफूले विश्वास गरेको काममा निरन्तर लागिपरे सफलता प्राप्त हुने गौरवको भनाइ छ । उनले भने, ‘सफलता भनेको मेहनत र समयको कुरा हो । मेरो फार्मको सफलताले अर्को किसानलाई प्रेरणा दिन सक्छ ।’

अहिले फार्ममा प्रायः उनी एक्लै काम गर्छन् । आवश्यकता अनुसार कहिलेकाहीँ उनले अस्थायी रूपमा स्थानीयलाई रोजगारी पनि दिन्छन् । ‘देशमा काम छैन भन्ने होइन, मानिसहरू मेहनत गर्न चाहँदैनन् । आफैँ केही गर्ने हो भने धैर्य गर्नुपर्छ । कृषि व्यवसायीले लगानीको प्रतिफल पाउन पाँच वर्ष पर्खिनुपर्छ,’ उनले भने ।

गौरवकै सफलता देखेर गाउँका अन्य युवालाई कृषि कर्म गर्न प्रोत्साहन मिलेको स्थानीय धनबहादुर साउदले बताए ।

‘आफ्नो गाउँ, ठाउँमा कृषि, पशुपालन र पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरा गौरवजीबाट सिकेका छन्,’ साउदले भने, ‘उहाँले जस्तै गाउँमा कृषि कर्म गर्न युवा लागेको खण्डमा बेरोजगारीको समस्या कम हुन्थ्यो । यहाँको उत्पादन बाहिर पठाउन सकिन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप