बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती सरकारको क्याबिनेटबाटै हरायो प्रादेशिक अस्पताल बनाउने निर्णय

बिहीबार, २२ फागुन २०८१, १२ : ३०
बिहीबार, २२ फागुन २०८१

मकवानपुर । मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने सम्बन्धमा भएको निर्णय बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्बाटै हराएको छ । प्रदेश सरकारले गत २०८१ जेठ ३२ मा मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेर चालु आर्थिक वर्षबाटै काम थाल्ने बताइए पनि मन्त्रिपरिषद्को निर्णय सूचीमा यो विषय लिपिबद्ध हुन सकेको छैन । जेठ ३२ मा मन्त्रिपरिषद् बैठकले आवधिक योजना स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गर्ने, आयुर्वेद औषधिसंहिता स्वीकृत गर्ने तथा आयुर्वेद औषधिको लेबल स्वीकृत गर्ने निर्णय गरेको थियो । मकवानपुरमा प्रादेशिक अस्पताल बनाउने निर्णय भने प्रमाणीकरण हुन सकेको देखिँदैन ।

cabinet nirnaya

उक्त बैठकको निर्णय सरकारका तत्कालीन प्रवक्ता गंगानारायण श्रेष्ठले सार्वजनिक गरेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पेस गरेको अस्पताल निर्माण गर्ने प्रस्तावबारे मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । बैठकको निर्णय सार्वजनिक गर्दै तत्कालीन मन्त्री श्रेष्ठले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने कार्यदल बनाउने बताएका थिए ।

rameshwor sthrestha

तत्कालीन मन्त्री श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरिसहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाका लागि अध्ययन गर्ने गरी बजेट वक्तव्यमै व्यवस्था गर्ने निर्णय भएको थियो ।

baktabya sthaniya

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको श्रेष्ठले बताए । बैठकको निर्णय अनुसार प्रादेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्ने तत्कालीन सरकारको तयारी थियो ।

अस्पताल र प्रतिष्ठानबिच रहेको समस्या क्रमशः हल गर्दै जाने र उक्त समस्या हल गर्न तथा नागरिकमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्य अनुसार निर्णय भएको श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय प्रतिष्ठान र अस्पतालबिचको विवादमा दोहोरो प्रशासनको प्रमुख कारण देखिएकाले त्यसलाई छिटै हल गरेर ऐन अनुसार अघि बढ्ने तत्कालीन सरकारको योजना रहेको उनले बताए ।

मकवानपुरको भौगोलिक असमानताका कारण नागरिकलाई स्वास्थ्य सेवामा सहजता दिने गरी अस्पताल निर्माणको तयारी थाल्ने निर्णय भए पनि सो पश्चात् सरकार परिवर्तन भएकाले कार्यान्वयनको अवस्थाबारे आफूलाई जानकारी नरहेको उनको भनाइ छ ।

  • कुनै प्रक्रिया अघि बढेको छैन ः प्रवक्ता गेलाल

स्वास्थ्य मन्त्रालयका प्रवक्ता खगेश्वर गेलालले मकवानपुरका प्रादेशिक अस्पताल निर्माणको सैद्धान्तिक सहमतिसहित निर्णय भए पनि औपचारिकता नपाएको बताए । मकवानपुरमा प्रादेशिक अस्पताल बनाउने विषयमा बजेट व्यवस्था नभएको र प्रक्रिया पनि अघि नबढेको उनको भनाइ छ ।

khageshwor-gelal

मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण नहुँदा कार्यान्वयनमा नगएको गेलाल बताउँछन् । हेटौँडा अस्पताल र प्रतिष्ठानको विवाद समाधान गर्ने उद्देश्य तथा आम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन भौगोलिक अवस्थिति अध्ययन गर्ने र अस्पताल निर्माणको योजना अघि बढाउने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढेको उनले बताए । सो विषयमा मन्त्रालयले प्रस्ताव उठाएर पठाए पनि प्रमाणीकरण नहुँदा कार्य अघि नबढेको उनले प्रस्ट पारे ।

मन्त्रालयबाट हेटौँडा अस्पताल र प्रतिष्ठानको विवाद समाधान गर्न छलफल गरेर अघि बढ्ने काम भइरहेको प्रवक्ता गेलालले बताए । प्रदेशका ५ स्थानीय तहका अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने गरी बजेटमा व्यवस्था भएअनुसार काम भइरहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप