च्याम्पियन्स ट्रफीको फाइनल आइतबार

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा उपाधिका लागि भिडन्त गर्ने दुई टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनल खेलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै भारत र न्युजिल्यान्ड फाइनलमा पुगेका छन् ।
पहिलो सेमिफाइनल खेलमा भारती टोलीले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई चार विकेटले पराजित गरेको थियो । न्युजिल्यान्ड भने दोस्रो सेमिफाइनल खेलमा प्रभावशाली प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
‘मिनी विश्वकप’ का रुपमा चर्चित च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । जारी च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्यान्ड दुबै लयमा देखिएका छन् । रमाइलो संयोग के हो भने, यी दुबै टोली एउटै समूहबाट अगाडि बढ्दै फाइनलसम्म पुगेका हुन् । भारत समूह ‘ए’ को विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । भारतले समूहगत चरणमा तीनवटै खेल जितेको थियो ।
न्युजिल्यान्ड भने समूहगत चरणमा एक खेलमा पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा भारतले नै न्युजिल्यान्डलाई ४४ रनले हराएको थियो । यी दुई टोलीबिच हालसम्म च्याम्पियन्स ट्रफीमा केवल दुईपटक भिडन्त भएको छ ।
त्यसैले आइतबारको फाइनलमा यी दुई टोली तेस्रोपटक आमने–सामने हुनेछन् । च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा पहिले यी दुई टोलीबिच सन् २००० मा भिडन्त भएको थियो । त्यतिबेला च्याम्पियन्स ट्रफीको फाइनलमै यी दुई टोली आपसमा भिडेका थिए ।
फाइनलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले हराउँदै दोस्रो संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ६ विकेट गुमाएर दुई सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४९.४ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
त्यसपछि एकैपटक भारत र न्युजिल्यान्डबिच नवौँ संस्करणको समूहगत चरणमा भिडन्त भएको हो । त्यसैले च्याम्पियन्स ट्रफीमा यी दुबै टोलीले हालसम्म १–१ खेलमा एक–अर्कालाई पराजयको स्वाद चखाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय भिडन्तको इतिहासलाई हेर्दा भने न्युजिल्यान्डभन्दा भारत बलियो देखिन्छ । हालसम्म यी दुई टोलीबिच कुल एक सय १९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये भारतले न्युजिल्यान्डलाई ६१ खेलमा हराएको छ ।
न्युजिल्यान्डले भने ५० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतलाई पराजित गरेको छ । यी दुई टोलीबिचको सात खेल भने अनिर्णित रुपमा सकिएको छ । यसका अतिरिक्त, एक खेल बराबरीमा टुंगिएको छ ।
यी दुबै टोलीबिच अर्को एउटा रमाइलो संयोग पनि रहेको छ । ‘न्यूट्रल भेन्यू’ मा भारत र न्युजिल्यान्डले हालसम्म १६–१६ पटक एक–अर्कालाई हराएका छन् । आगामी आइतबार न्युजिल्यान्ड र भारतबिचको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’ मै खेलिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री