बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

पालिकामै स्थापित बैंकको सेवा लिन चार दिन हिँड्नुपर्ने बाध्यता

बिहीबार, २२ फागुन २०८१, १० : ४५
बिहीबार, २२ फागुन २०८१

धनगढी । बझाङको साइपाल गाउँपालिकामा पहिलो पटक बैंक स्थापना भए पनि सेवा लिन सहज देखिएको छैन । एक हजार ४६७ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो पालिकाले बझाङ जिल्लाकै करिब ४३ प्रतिशत क्षेत्रफल ओगटेको छ ।

आफ्नै पालिकामा बैंक सेवा सञ्चालन भए पनि यहाँका कतिपय बासिन्दाले बैंकिङ सेवा लिन चार दिन खर्चिनुपर्ने बाध्यता देखिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ सालमै साइपालमा बैंक सेवा पुर्‍याउने जिम्मेवारी एभरेस्ट बैंकलाई दिएको थियो । यद्यपि विकट भूगोल, सुरक्षा र यातायातका अभावका कारण बैंक स्थापना हुन सकेको थिएन ।

पटक–पटक गरिएको पहलपछि बल्लतल्ल गत असोज ९ गतेदेखि बैंकले आफ्नो सेवा विस्तार गरेको थियो । गत माघ २८ गते पालिकामा बैंक शाखा उदघाटन गरियो ।

बैंक गाउँपालिकाको वडा नम्बर १, धलौनमा स्थापना गरिएको छ, तर वडा नम्बर ३, ४ र ५ का बासिन्दालाई बैंकसम्म पुग्न सहज नभएको त्यहाँका स्थानीयले बताएका छन् ।

‘कतिपय वृद्धवृद्धालाई बैंकसम्म लैजाने मान्छेसम्म छैनन् । हामीले चाहेर पनि सेवा उपभोग गर्न सक्दैनौँ,’ गुरुङले भनिन् ।

साइपाल गाउँपालिका वडा नम्बर ४, धुलीका सीता गुरुङले पालिकामा बैंक खुले पनि अझै आफूहरूको समस्या उस्तै रहेको बताइन् ।

‘हाम्रो पालिकामा बैंक खुल्दा खुसी लागेको छ, तर बैंकसम्म पुग्न कम्तीमा दुई दिन लाग्छ । आउजाउ गर्दा चार दिन खर्चिन्छौँ । हाम्रो दुःख त उस्तै रहे,’ उनले भनिन् ।

यहाँ सबैभन्दा ठुलो समस्या सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिहरूलाई परेको छ । कतिपय ज्येष्ठ नागरिक हिँडडुल गर्नसमेत असमर्थ रहेकाले उनीहरूलाई बोकेरै बैंकसम्म लैजानुपर्ने अवस्था छ ।

‘कतिपय वृद्धवृद्धालाई बैंकसम्म लैजाने मान्छेसम्म छैनन् । हामीले चाहेर पनि सेवा उपभोग गर्न सक्दैनौँ,’ गुरुङले भनिन् ।

बैंक नहुँदा लामो समयदेखि आर्थिक कारोबारका लागि सदरमुकाम चैनपुरसम्म जानुपर्ने बाध्यता थियो ।

बझाङको साइपाल गाउँपालिका–५ का गोर्ख धामीका छोरा रोजगारीका लागि भारत गएका छन् । उनी तीन–चार महिनाको अन्तरमा घरखर्चका लागि पैसा पठाउँछन् तर, गोर्खलाई त्यो पैसा बुझ्न सजिलो थिएन । पैसा लिन उनी तीन दिनको पैदल यात्रा गरेर सदरमुकाम जान्थे र फर्किन त्यति नै समय लगाउँथे ।

दुई महिना अघि उनले छोराले पठाएको पैसा लिन ६ दिनको यात्रा गरेका थिए । ‘भिरालो, जोखिमपूर्ण बाटो छ, उकालो–ओरालो धेरै गर्नुपर्छ । सदरमुकाम जाँदा निकै सकस हुन्थ्यो,’ उनले सुनाए ।

अब भने धामीलाई बैंकबाट पैसा निकाल्नकै लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।  बैंक नजिकै बस्ती भएका स्थानीयलाई बढी सहज भएको छ । आफूहरूलाई पहिलाको भन्दा केही सहज भएको धामीले बताए ।

संघीयताको अवधारणाअनुसार हरेक स्थानीय तहमा अनिवार्य रूपमा बैंक सेवा सञ्चालन गर्ने नीति ल्याइए पनि साइपालको विकट भूगोलका कारण बैंक स्थापना हुन सकेको थिएन ।

बैंक नहुँदा गाउँपालिकाको कार्यालयको शाखा कार्यालय सदरमुकाम चैनपुरमै सञ्चालन थियो । महिनामा एकपटक मात्रै कर्मचारी गाउँपालिकामा पुग्ने गर्थे । अरु बेला सदरमुकामबाटै कामकाज हुने गरेको थियो । यसो हुँदा त्यहाँ संघीयताको अनुभूति हुन सकेको थिएन ।

बैंक नभएका कारण साइपालका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न नपाएको भन्दै पालिकाका जनप्रतिनिधिहरू बैंक स्थापनाका लागि पटक–पटक काठमाडौँ धाउँदै आएका थिए ।

साइपालमा त ६ महिना हिउँ पर्छ, गाह्रो छ भन्ने धारणा थियो । त्यसैले वास्तविकता बुझ्न र बैंक सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भनेर जनप्रतिनिधिको अनुरोधमा त्यहाँ अध्ययन टोली आयो ।

गाउँपालिकाका अध्यक्ष मानवीर बोहराका अनुसार बैंक स्थापना भएसँगै केही सहजता त आएको छ, तर पूर्ण रूपमा समस्या समाधान भएको छैन ।

गत चैतमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेस्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्मा र एभरेस्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेको थियो ।

सोही टोलीको सिफारिसका आधारमा यो वर्षभित्रै बैंक स्थापना गर्ने गरी नेपाल सरकारले नीति तथा कार्यक्रमसमेत ल्याएको थियो । सोही अनुसार त्यहाँ बैंक स्थापना भयो ।

देशका सात सय ५३ वटै स्थानीय तहमध्ये बैंकविहीन भएको साइपालमा पनि बैंक सञ्चालन भयो ।

गाउँपालिकाका अध्यक्ष मानवीर बोहराका अनुसार बैंक स्थापना भएसँगै केही सहजता त आएको छ, तर पूर्ण रूपमा समस्या समाधान भएको छैन ।

‘पालिकामा बैंक आए पनि टाढाका बासिन्दालाई अझै सहज सेवा दिन सकिएको छैन । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रियालाई कसरी सरल बनाउने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ,’ उनले भने ।

साइपालमा अहिलेसम्म बैंकमात्रै होइन, भरपर्दो सञ्चार र विद्युत् सेवा पनि उपलब्ध छैन । दुई वर्ष अघिमात्रै नेपाल टेलिकमको टावर जडान गरिएको थियो, तर मौसम खराब हुँदा टावरले काम गर्दैन । घाम नलागेको दिन, पानी परेका बेला र बिहान–बेलुका मोबाइल सम्पर्क सम्भव हुँदैन ।

अहिले बैंक चलाउनका लागि इन्टरनेटले अलिअलि काम गरिरहेकै छ । सोलार जडान लगायत नेटको सम्झौताका लागि प्रदेश सरकारले पनि बजेट छुट्ट्याएकाले त्यही अनुसार काम गरिने अध्यक्ष बोहराले बताए ।

अहिले बैंक, सडक, सञ्चार, विद्युतजस्ता पूर्वाधार विस्तार गर्ने काम साइपाल गाउँपालिकामा भइरहेको अध्यक्ष बोहराको भनाइ छ ।

यहाँ ३५० घरधुरीका करिब ३ हजार ५ सय  बासिन्दा छन् । अझै टाढाका बासिन्दालाई बैंक लगायतका सेवाको उपभोग गराउन आफूहरू लागिपरेको र यसका प्रदेश, संघ सरकारबाट पनि सहयोग हुनुपर्ने अध्यक्ष बोहरा बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप