बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

नौ महिना लामो निलम्बनमा परे फ्रान्सेली क्लब लियोनका प्रमुख प्रशिक्षक फोन्सेका

बिहीबार, २२ फागुन २०८१, १० : ३६
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । फ्रान्सेली फुटबल क्लब लियोनका प्रमुख प्रशिक्षक पाउलो फोन्सेका करिब नौ महिना लामो निलम्बनमा परेका छन् । प्रतियोगिताका क्रममा खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको र जिम्मेबारी वहन गर्न अवरोध सृजना गरेको आरोपमा उनी निलम्बनमा परेका हुन् । 

५२ वर्षीय प्रमुख प्रशिक्षक फोन्सेकाले मार्च २ तारिखमा खेलिएको ब्रेस्टविरुद्धको खेलका क्रममा अफिसियलमाथि अभद्र व्यवहार गरेका थिए । उक्त खेलमा लियोनले ब्रेस्टलाई २–१ गोलले हराएको थियो । उक्त घटनापछि उनलाई तत्कालै बाहिर निकालिएको थियो ।

फ्रान्सको व्यवसायिक फुटबल लिगले पनि यो समाचारको पुष्टि गरेको छ । निलम्बनमा परेका पोर्चुगिज प्रशिक्षक फोन्सेकाले अब आगामी नोभेम्बर ३० तारिखसम्म खेल स्थलमा कुनै पनि गतिविधि गर्न पाउने छैनन् ।  

निलम्बनको अवधिमा उनले खेलका क्रममा बेन्चमा बस्न, अफिसियलहरुको ड्रेसिङ रुममा जान र खेलअघि वा पछि कुनै पनि गतिविधि गर्न पाउने छैनन् । व्यवसायिक फुटबल लिगले उनलाई सेप्टेम्बर १५ तारिखसम्म त आफ्नै खेलाडीको ड्रेसिङ रुपमा जानसमेत रोक लगाएको छ । 

लियोनले भने आफ्ना प्रमुख प्रशिक्षकलाई सुनाइएको कठोर सजायबाट आफूहरु स्तब्धः भएको प्रतिक्रिया दिएको छ । लियोनले यो सजायविरुद्धमा पुनरावेदन गर्छ वा गर्दैन भन्ने विषयमा भने हालसम्म केही बताइएको छैन । 

तर, लियोनले यो सजायविरुद्ध पुनरावेदन गर्ने प्रवल सम्भावना छ । लियोनले हालसम्म ६ पटक फ्रेन्च लिगको उपाधि जितिसकेको छ । फ्रेन्च लिगको जारी सिजनमा भने लियोन अंक तालिकाको छैटौँ स्थानमा छ । यो सिजन लियोनले २४ खेलबाट ३९ अंक बटुलेको छ । 

उक्त घटनापछि प्रमुख प्रशिक्षक फोन्सेकाले आफूबाट गल्ति भएको स्वीकार गर्दै माफीसमेत मागेका थिए । उनले गत जनवरी ३१ तारिखमा लियोनको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । त्यसअघि उनी इटालियन क्लब एसी मिलानका प्रमुख प्रशिक्षक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप