कोशी प्रदेशको आर्थिक समृद्धि : सम्भावना र मार्गचित्र

कोशी प्रदेशका नागरिकले आफूले प्राप्त गरेको ज्ञानलाई सीपमा, सीपलाई रोजगारीमा, रोजगारीलाई उत्पादनमा बदल्ने र उत्पादनबाट प्राप्त हुने आर्जनलाई सम्पूर्ण प्रदेशवासीको उत्थानमा लगाउनु नै समृद्धिको उपयुक्त माध्यम हुनेछ । उत्पादन प्रक्रियालाई समयानुकूल परिवर्तन गराउँदै आत्मनिर्भर अर्थतन्त्रतिर प्रदेशलाई अगाडि बढाउन आवश्यक छ ।
यो प्रदेशका प्रमुख तीन सम्भावना हुन्— कृषि, पर्यटन र उद्योग । शिक्षामा ज्योति छर्ने बालागुरु षडानन्द, परिवर्तनकी संवाहक योगमाया र किराँत धर्मका धर्मगुरु फाल्गुनन्द जस्ता व्यक्तित्वहरूको योगदान यही प्रदेशबाट भएको हो । त्यसैले यस प्रदेशमा शिक्षाको पनि सम्भावना उत्तिकै छ । प्रदेशलाई स्वास्थ्यको हब बनाई स्वास्थ्य पर्यटकलाई आकर्षण गर्न सकिने बलियो आधार छ । प्रविधिमा पनि आत्मनिर्भर हुन सकिन्छ । विदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन र जल यातायातमा पनि यो प्रदेशले प्रशस्तै सम्भावना बोकेको देखिन्छ, तर यो लेखमा प्रमुख सम्भावनाका रूपमा रहेका तीनवटा विषयमा मात्र चर्चा गर्न खोजिएको छ ।
- १) कृषि
प्रदेशको कुल भूभागको खेतीयोग्य क्षेत्रफल आठ लाख २१ हजार ६११ हेक्टरमध्ये ७ लाख ७ हजार २२१ हेक्टर जमिनमा मात्र खेती गर्ने गरिन्छ । कुल खेतीयोग्य क्षेत्रफलको ३७.२ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको अवस्था छ ।
पछिल्लो तथ्यांक अनुसार, ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेको यस प्रदेशमा ७५ प्रतिशत मानिसको जीविकोपार्जनको मुख्य स्रोत कृषि हो । कृषि क्षेत्रमा जनताको सहज पहुँच रहने हुनाले यस प्रदेशमा कृषिलाई समृद्धिको आधार बनाउनुपर्छ । हाम्रो देशलाई वार्षिक रूपमा करिब ६५ लाख मेट्रिकटन खाद्यान्न आवश्यक हुन्छ । यो प्रदेशमा मात्रै वार्षिक १२/१३ लाख मेट्रिकटन धान मात्र उत्पादन हुन्छ । बाँकी मकै, गहँु, आलु, चिया, अलैँची, अम्रिसो, अदुवा, कोदो, दाल, तोरी र तरकारीहरू उत्पादन हुने गर्छन् । तसर्थ पनि यो प्रदेश कृषिका हिसाबले अग्रणी स्थानमा छ ।
देशको राष्ट्रिय उत्पादनसँग तुलना गरेर हेर्दा पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशले चियाको उत्पादनमा ९९ प्रतिशत, अलैँचीमा ९३ प्रतिशत, अदुवामा ३५ प्रतिशत, आलुमा ३४ प्रतिशत, मकैमा २९ प्रतिशत, धानमा २१ प्रतिशत र गहुँको उत्पादनमा १० प्रतिशत योगदान गरेको देखिन्छ ।
खाद्यान्न उत्पादनका दृष्टिकोणले यो प्रदेश आत्मनिर्भर मात्र नभएर आफूलाई उपभोगका लागि चाहिनेभन्दा ३७ प्रतिशत बढी उत्पादन गर्छ, जुन अन्य प्रदेश र छिमेकी मुलुकमा निर्यात हुन्छ । देशकै कुल निर्यातको ४१ प्रतिशत हिस्सा कोशी प्रदेशको रहेको छ । यद्यपि हिमाली जिल्लाहरू खाद्यान्न उत्पादनमा आत्मनिर्भर देखिएका छैनन् तर त्यहाँ औषधी उत्पादनको सम्भावना छ । तराईको भूभाग मुख्य रूपमा खाद्यान्न उत्पादनमा; पहाडी भूभाग नगदेबाली (फलफूल र तरकारी उत्पादन)मा अब्बल देखिएका छन् ।
यो प्रदेशमा सिँचाइका लागि चाहिने जलस्रोतका लागि भने वर्षैभरि जल प्रवाह हुने अरुण, तमोर, दुधकोशी, सुनकोशी, मेची, कन्काई लगायत धेरै साना–ठुला नदीहरू छन् । नेपालकै अति उत्पादन हुने भूमि भनेर चिनिएका झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरूमा सिँचाइ सुविधाको पर्याप्त पहुँच पुर्याएर कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको छ । त्यसै गरी उत्पादनका लागि चाहिने मलका लागि हरियो मल (घन्सी वा ढैँचा) र कम्पोस्ट मल आदिको सम्भावना यो प्रदेशमा प्रशस्त मात्रामा छ । कृषिलाई चाहिने बिउका लागि हाम्रा हजुरआमा, आमा र दिदीहरूले परम्परागत ज्ञानको संरक्षण गरेका छन् । त्यस पुरानो ज्ञानलाई स्थानीय तहहरूले प्रवद्र्धन गर्न जरुरी छ ।
युवाहरूलाई आकर्षित गर्न सकियो भने कृषिमा आवश्यक जनशक्तिको अभाव हुँदैन । बजारका लागि स्थानीय तहले कृषि हाट व्यवस्था गर्न सजिलो हुन्छ ।
दुध तथा दुग्धजन्य उत्पादन र माछा मासु तथा अण्डा उत्पादनमा समेत यो प्रदेश अगाडि देखिन्छ । प्रदेशका विभिन्न भागहरूमा चरनका लागि प्रशस्त ठाउँ रहेकाले व्यावसायिक पशुपालनतर्फ किसानलाई आर्कषित गर्न सकिन्छ । यसका लागि बढी उत्पादन दिने पशुपक्षीहरूको जात सहज ढंगले उपलब्ध गराउने, किसानलाई आवश्यक तालिम दिने, आवश्यक परेको खण्डमा प्राविधिक सहयोग उपलब्ध गराउने, उत्पादनलाई चाहिने बजारको व्यवस्था गर्ने, कृषि बिमाको सुविधा उपलब्ध गराउने र सरल रूपले सक्कली किसानलाई लगानीको स्रोत व्यवस्थापन गर्ने हो भने यो प्रदेशमा मासु, दुध तथा दुग्धजन्य उत्पादनको पनि प्रचुर सम्भावना रहेको देखिन्छ ।
यो प्रदेशका प्रमुख तीन सम्भावना हुन्— कृषि, पर्यटन र उद्योग । शिक्षामा ज्योति छर्ने बालागुरु षडानन्द, परिवर्तनकी संवाहक योगमाया र किराँत धर्मका धर्मगुरु फाल्गुनन्द जस्ता व्यक्तित्वहरूको योगदान यही प्रदेशबाट भएको हो । त्यसैले यस प्रदेशमा शिक्षाको पनि सम्भावना उत्तिकै छ ।
कृषकलाई आवश्यक तालिम र अनुभव साटासाटको अवसर दिन सकिएको छैन । यो प्रदेशका १४ वटै जिल्लाहरूको भ्रमण सम्पन्न गरेपछि मैले के अनुभव गरेँ भने प्रदेश सरकारसँगै कृषिसँग सम्बन्धित संस्थाहरुले हरेक बाली लगाउने समयमा सबै जिल्लाका किसानलाई आ–आफ्नो जिल्लामै भेला गरेर उनीहरूका अनुभव आदान–प्रदान सुन्न र उनीहरुलाई विशेषज्ञबाट सल्लाह–सुझाव दिन आवश्यक देखिन्छ ।
यो प्रदेशमा कृषिको अपार सम्भावना भए पनि करिब दुईतिहाइ भूभागमा सिँचाइको सुविधा छैन । कृषकले आवश्यकता अनुसार उन्नत जातका बिउबिजन, मल, कृषि औजार तथा प्राविधिक सेवा पाउन सकिरहेका छैनन् ।
प्रदेशमा रहेका युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न नसकेर कृषि श्रमिकको अभाव हुन थालेकोे छ । यसले गर्दा अति उत्पादन दिने भूमि बाँझै रहने गरेका छन् । अर्कोतिर बजारको राम्रो व्यवस्था नभएकाले कृषि उत्पादनले उचित मूल्य नपाउने अवस्था छ र कृषि पेसाप्रति नै यहाँका नागरिकमा नैराश्यता सिर्जना भएको छ ।
- २) पर्यटन
पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेशका रूपमा यो प्रदेशलाई चिनिन्छ । यो प्रदेशमा साहसिक पर्यटकका लागि वर्षैभरि जल प्रवाह हुने नदी, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होँचो स्थान केचनाकवल रहेका छन् । आठ हजार मिटरभन्दा माथिको उचाइमा रहेका पाँचवटा हिमालहरू र पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेका ३५ वटा हिमालहरू यसै प्रदेशमा पर्छन् । यी हिमालमध्ये धेरै हिमाल पर्वतारोहीका मुख्य आकर्षण र रोजाइमा पर्ने हुनाले पनि साहसिक पर्यटनका लागि यो प्रदेश उपयुक्त मानिन्छ ।
त्यसैगरी जैविक विविधताले भरिपूर्ण स्थलहरू रहेकाले तथा विश्वका एक दर्जन देशहरूमा पाउने हावापानी यहाँ पाइने हुनाले पनि यो प्रदेश पर्यटकका लागि प्रमुख रोजाइमा परेको देखिन्छ ।
धार्मिक पर्यटनका दृष्टिकोणबाट पनि यो प्रदेश अग्रस्थानमा छ । हिन्दुहरूको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र हलेसी महादेव, पाथीभरा देवी, बराह क्षेत्र, इलामको माईपोखरी लगायत धेरै मन्दिर, धार्मिक तथा ऐतिहासिक स्थलहरू यहाँ छन् । यहाँको पर्यटन पूर्वाधारमा लगानी गरी ठुलो मात्रामा हिन्दु र बौद्धमार्गीको बसोबास रहेका हाम्रा छिमेकी तथा अन्य मुलुकबाट धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।
ठुल्ठुला चट्टानहरू, पदयात्रा गर्न तथा प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि धेरै पदमार्गहरू, ऐतिहासिक गन्तव्यका लागि प्राचीन तथा पुरातात्त्विक स्थलहरू यो प्रदेशमा रहेका छन् । गुराँसको मनोरञ्जन लिन चाहनेहरूका लागि गुराँसको राजधानी भनेर चिनिने तीनजुरे क्षेत्र, चिया बगानको मनोरम दृश्य लिन चाहनेका लागि इलामको चिया बगान, विभिन्न हिमाल तथा राष्ट्रिय निकुञ्जमा रमाउन चाहनेका लागि हिमाली वन्यजन्तुको जीवन पद्धति झल्काउने सगरमाथा, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, कोशी वन्यजन्तु आरक्ष समेत यसै प्रदेशमा पर्छन् । पर्यटन विकास लागि तत्काल प्रदेश सरकारले तीनवटा प्रमुख काम गर्नुपर्ने देखिन्छ —
क) एकीकृत पर्यटन विकास (प्रदेशभित्र र बाहिर पनि) को अवधारणालाई अगाडि बढाउनुपर्छ ।
ख) आन्तरिक पर्यटकहरू घरबाट निस्किएपछि घर फर्किंदासम्म र बाह्य पर्यटकहरू एयरपोर्टबाट एयरपोर्टसम्म आउँदा कहीँ पनि ठगिनु हुँदैन ।
ग) कुनै सहरमा हिँडेर घुम्न चाहने पर्यटकका लागि सहज रूपले हिँड्न बाटोको छेउमा फुटपाथको प्रशस्त व्यवस्था हुनुपर्छ । बाटो काट्नका लागि ठाउँ–ठाउँमा जेब्रा क्रसको व्यवस्था, हिँड्दै जाँदा किनेरै भए पनि पिउने पानीको व्यवस्था, थकाइ लागेको समयमा सुस्ताउनका लागि चौतारोहरू वा फलैँचाहरूको व्यवस्था र भोक लागेका समयमा सफा र स्थानीय स्वादको खाना खाने ठाउँको व्यवस्था गर्न सकेमा पर्यटन आगमनको पहिलो खुड्किलो पूरा हुनेछ ।
यी कार्य सम्पन्न गर्न सके पर्यटनको विकास भई विदेशी मुद्रा आर्जनको स्रोतको रूपमा विप्रेषणपछिको दिगो वैकल्पिक स्रोतको रूपमा विकास गर्न सकिने देखिन्छ । यो प्रदेशमा एकजना विदेशी पर्यटक आउँदा नौजना र आन्तरिक पर्यटक आउदा ६ जनाले रोजगार पाउने सम्भावना पनि भएको हुनाले यो क्षेत्रको विकासले रोजगारी अभिवृद्धिमा पनि सहयोग पुर्याउँछ ।
- ३) उद्योग
औद्योगिकीकरणका हिसाबले कोशी प्रदेशका केही मुख्य सहरहरू औद्योगिक राजधानीका रूपमा परिचित रहेका र मुलुककै औद्योगिक क्षेत्रको उत्पादनमा कोशी प्रदेशको उद्योग क्षेत्रको योगदान दोस्रो स्थानमा छ । नेपालकै पहिलो औद्योगिक सहर भईकन पनि विराटनगर यतिवेला देशका अन्य सहरभन्दा पछि परेको छ । देशमा संघीयताको विकाससँगै उद्योगधन्दा र कलकारखानामा वृद्धि हुने, रोजगारी सिर्जना हुने र उत्पादनमा वृद्धि हुने धेरै नागरिकले अपेक्षा गरेका थिए र अझै पनि आस गरिरहेका छन् । तर कतिपय कुराको तालमेल मिल्न नसक्दा यो अपेक्षा अपेक्षामै सीमित रहन पुगेको तितो यथार्थ हामीसँग छ ।
हाल कोशी प्रदेशमा १२ हजार २२५ वटा उद्योग प्रतिष्ठानमा एक खर्ब ३३ अर्ब लगानी रहेको छ भने यी उद्योग प्रतिष्ठानमा लगभग एक लाख मजदुरहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न छन् ।
यो प्रदेशमा ९०५ औद्योगिक उत्पादन गर्ने ठुला उद्योगहरू र १० हजार ७२१ साना उद्योगहरू, २२८ विद्युत् तथा ग्यासजन्य उद्योगहरू, ३४८ पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापनका उद्योग तथा प्रतिष्ठान र खानी तथा उत्खनन्का २३ उद्योगहरू सञ्चालनमा रहेका छन् । यी उद्योगमा काम गर्नका लागि आवश्यक श्रमिकका लागि यो प्रदेशमा रहेको अपार युवा जनशक्तिहरूलाई प्रदेशमै काम लगाउनका लागि ती युवालाई आत्मसम्मानको प्रत्याभूति गराउन सक्र्नुपर्छ र मानसिक एवं शारीरिक सबै खाले कामहरूको समान ढंगले सम्मान गर्न सके तथा प्रदेशको औद्योगिक उत्पादनले बजार पाउने सुनिश्चितता गर्न सकियो भने यहाँका उद्योगमा काम गर्ने जनशक्तिको अभाव हुँदैन ।
त्यसैगरी औद्योगिक उत्पादनका लागि आवश्यक पर्ने पानीका लागि कोशी प्रदेशमा वर्षैभरि जल प्रवाह हुने अरुण, तमोर, मेची, कन्काई, दुधकोशी, सुनकोशी लगायत नदीहरूमा रहेको जल प्रवाहलार्ई औद्योगिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भने कृषिमा आधारित उद्योग, मुलुककै कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापनामा जोड दिनुपर्छ । यसो गर्न सके कच्चा पदार्थमा पनि हामीले विदेश र अन्य प्रदेशहरूको मुख ताक्नुपर्दैन ।
यो प्रदेशमा रहेका उद्योगबाट उत्पादित वस्तुका लागि बजारको व्यवस्थापनमा कठिनाइ नहोस् भन्नका लागि स्वदेशी उत्पादनलाई प्रयोग र प्रचार–प्रसार गर्ने कार्यलाई प्रोत्साहन गरिनुपर्छ । सरकारले शिशु अवस्थामा रहेका उद्योगहरूलाई फस्टाउन दिनका लागि संरक्षणको नीति अपनाउनुपर्छ । यो प्रदेश भारत र चीन दुवै देशसँग सिमाना जोडिनुको साथै यहाँ रहेका राजमार्गले दुवै छिमेकी मुलुकसम्मको पहुँच सहज बनाएका हुनाले तुलनात्मक लाभका उद्योग तथा कलकारखाना स्थापना गरी विदेशी लगानीलाई आकर्षित गर्न तथा उत्पादित वस्तु तथा सेवा निकासी गर्न श्रम, समय र लागतका दृष्टिले उपयुक्त हुनेछ । त्यसैगरी मध्य पहाडी लोकमार्गले प्रदेशका १४ मध्ये नौवटा जिल्लालाई छुने हुनाले पनि प्रदेशमा उत्पादित वस्तुलाई आन्तरिक बजारसम्म पुर्याउन सजिलो हुनेछ । पछिल्लो समयमा मध्यपहाडी लोकमार्ग तथा लोकमार्गसम्म जोड्ने सहायक मार्गको छिटोछिटो निर्माण तथा विस्तारको कार्य सम्पन्न हुन थालेबाट ग्रामीण भेगमा हुने उत्पादनका लागि आन्तरिक तथा बाह्य बजारको सम्भावनाहरू बढ्दै जानाले कृषि तथा उद्योगहरूबाट हुने उत्पादनको स्थानीय बजार तथा बाहिरी बजारमा निर्यात व्यापार बढ्दै जाने प्रशस्त सम्भावना देखिन्छ ।
उद्योगका लागि चाहिने विद्युत्का लागि भने पुवाखोला जलविद्युत् आयोजना, थामे जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना जस्ता १४ वटा जलविद्युत् आयोजनाहरू यो प्रदेशमा पर्ने र १० हजार मेगावाट विद्युत् उत्पादन क्षमता (जलविद्युत्का हिसाबले कर्णाली प्रदेशपछि नेपालको सबैभन्दा धनी प्रदेशका रूपमा आउँछ) यो प्रदेशले राख्ने हुनाले पनि विद्युत् उत्पादनका हिसाबले धनी प्रदेश मानिन्छ, जसले उद्योगका लागि आवश्यक विद्युत् आपूर्ति गर्न सक्छन् ।
साना तथा घरेलु उद्योगको विकास गर्ने, काठका सामान, बाँस निगालोका चोयाका सामान, बाँस वा निगालोबाट सिधै बन्ने सामग्री, स्थानीय खाद्यान्न, पूर्वको प्रख्यात ढाका, अल्लोको सामग्रीजस्ता स्थानीय सीपमा आधारित उत्पादनहरूको निर्यात गर्न सम्भव छ ।
अबको प्रदेशको प्राथमिकता भने विद्युतीय सवारी–साधनहरू र अन्य विद्युतीय सामग्रीहरू उत्पादनमा जोड दिनुपर्ने देखिन्छ, (५० को दशकमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारीसाधन सञ्चालन हुने सहरको रूपमा थियो । तर सरकारी नीति र यसले आफूलाई समय अनुकूल परिवर्तन गर्न नसक्दा उल्लेख्य प्रगति गर्न सकेन) ।
प्रदेशको सुनसरी–मोरङ करिडोरमा भएका उद्योगहरूलाई समय अनुकूल परिवर्तन गरी पूरै समयविना कुनै अवरोध पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा औद्योगिक उत्पादनले निर्यात व्यापार प्रवर्धन तथा आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान पुर्याउन सक्ने सम्भावना छ । यहाँ सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई प्रत्येक स–साना एकाइमा सञ्चालन गर्नुको सट्टामा बृहत् औद्योगिक क्षेत्रहरू योजनाबद्ध रूपमा निर्माण सम्पन्न गरी ती स–साना एकाइलाई एउटै प्रकृतिका एकै उद्योगमा आबद्ध गरिनुपर्छ, यसो गर्न सके कच्चा पदार्थ व्यवस्थापन, विद्युत् आपूर्ति, चुस्त व्यवस्थापन र ढुवानीजस्ता क्षेत्रमा सहज हुन जान्छ ।
यति मात्र नभएर समृद्ध प्रदेशको नमुना बन्न सक्ने धेरै सम्भावना यो प्रदेशमा रहेको देखिन्छ । विश्वविद्यालय, अन्य शैक्षिक संस्थाहरू, ठुला–साना धेरै सडक सञ्जालहरू, मेडिकलका हबहरूदेखि टेलिभिजन, राष्ट्रिय स्तरका पत्रपत्रिका, रेडियो जस्ता सञ्चारगृह पनि यो प्रदेशमा छन् । राजनीतिक परिवर्तनका दृष्टिकोणबाट यो प्रदेश धेरैपटक मुलुकको राजनीतिको केन्द्र भागमा रहँदै आएको छ ।
अन्त्यमा, यो प्रदेशको विकासको मुख्य रोग भनेको भ्रष्टाचार बढ्नु, सुशासन कायम गर्न नसक्नु, स्थानीय सरकारको कार्य क्षमता अभिवृद्धि गर्न नसक्नु, प्रदेशले आफूलाई आत्मनिर्भर बनाउन नसक्नु, संघीयताको पूर्ण कार्यान्वयनमा ढिलाइ हुनु, बजेट कार्यान्वयनमा समस्या आउनु, सरकारको अस्थिर नीति, परिवारवाद र नातावाद आदि हुन् । यी कुराको व्यवस्थापन गर्न सके कोशी प्रदेशको समृद्धिको ढोका खुल्न समय लाग्ने छैन ।
(लेखक त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड