महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी

काठमाडौँ । इङ्ल्यान्ड, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सका फुटबल संघले सन् २०३५ को फिफा महिला विश्वकप संयुक्त रुपमा आयोजना गर्ने दाबी प्रस्तुत गर्ने भएका छन् । यसका लागि यी चार राष्ट्रिय फुटबल संघले सहमति गरिसकेको समाचारमा जनाइएको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले महिला विश्वकपको उक्त संस्करण युरोप वा अफ्रिकामा आयोजना गर्ने प्रतिबद्धता सार्वजनिक गरेलगत्तै यी चार राष्ट्रिय फुटबल संघले यस्तो सहमति गरेका हुन् । सन् २०३१ र सन् २०३५ को फिफा महिला विश्वकपका लागि यसै वर्ष निर्णय गरिने भएको छ ।
यसका लागि फिफाले सन् २०२५ को अन्तिम चौमासिकमा बोलपत्र सार्वजनिक गर्ने तयारी अगाडि बढाएको छ । सन् २०३१ को महिला विश्वकप आयोजना गर्न भने अमेरिकाले लामो समयदेखि चासो व्यक्त गर्दै आएको छ ।
अमेरिकाले यसअघि सन् २०२७ को महिला विश्वकप आयोजना गर्ने तयारी अगाडि बढाएको थियो । तर, महिला विश्वकपको उक्त संस्करणको अधिकार ब्राजिलले पाएको थियो । त्यसैले पनि सन् २०३१ को विश्वकप अमेरिकाले पाउने बलियो सम्भावना छ ।