बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?

बिहीबार, २२ फागुन २०८१, १० : ०१
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेसमा एकातिर शेरबहादुर देउवा सभापति रहेको कार्यसमितिको म्याद एक वर्ष थप्नेबारे आन्तरिक तयारी सुरु भइरहेको छ भने अर्कोतर्फ नेताहरू महाधिवेशनबाट नेतृत्व हत्याउन आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । 

यस्तोमा संस्थापन र इतर समूहका नेताहरूबाट सभापतिमा दाबी हुन थालेका छन् । इतर समूहबाट १४ औँ महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला र महामन्त्री गगन थापा सभापति बन्ने तीव्र तयारीमा जुटेका छन् । डा. कोइराला त घोषणा गरेरै अगाडि बढिसकेका छन् भने महामन्त्री थापाले सार्वजनिक रूपमा घोषणा नगरे पनि आन्तरिक तयारी जुटिसकेका छन् । 

संस्थापन समूहबाट सभापतिमा धेरैको दाबी छ । पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला, पूर्वउपसभापतित्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ तथा वर्तमान उपसभापति पूर्णबहादुर खड्काले सभापतिमा आकांक्षा राखेका छन् । 

यही फागुन २ गते सभापतिमा आकांक्षा राखेका यी नेतासहित ११ जना सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । उनीहरूले त्यहाँ १५ औँ महाधिवेशनमा संस्थापनको उम्मेदवार को हो ? भनी सभापति देउवालाई सोधेका थिए । ‘सभापतिले भनिदिए हामी मिलेर जान तयार छौँ,’ नेताहरूले देउवासँग भनेका थिए । तर, देउवाले मुख खोलेनन् ।

समूहमा आकांक्षी धेरै, सभापति कसको पक्षमा खुल्ने हुन् यकिन नभएपछि महाधिवेशनसम्म संस्थापन एक रहन्छ कि रहन्न भन्ने कांग्रेस नेता कार्यकर्तामा चासो छ । 

पूर्वमहामन्त्री सिटौला १३ औँ महाधिवेशनबाट संस्थापन समूहमा जोडिएका हुन् भने डा. शशांक १४ औँ महाधिवेशनबाट जोडिएका हुन् । सिंह भने कांग्रेस विभाजित भई नेपाली कांग्रेस प्रजातान्त्रिक बन्दा देउवालाई साथ दिने नेता हुन् । 

तर उनी १२ औँ महाधिवेशनमा तत्कालीन संस्थापन (सुशील कोइराला नेतृत्व) बाट महामन्त्री निर्वाचित भएका थिए । १३ औँ महाधिवेशनसम्म सोही समूहमै रहेका सिंह १४ औँ महाधिवेशनमा भने पहिलो राउन्डबाटै सभापतिको रिङबाट आउट भए । 

पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि दोस्रोमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबिच प्रतिस्पर्धा हुँदा डा. कोइरालालाई छोडेर सिंहले देउवालाई साथ दिएका थिए । १० औँ महाधिवेशनपछि कांग्रेस विभाजित हुँदा सिंह देउवालाई समर्थन गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा बसेको थिए । 

निधि भने सधैँ देउवाकै पक्षमा थिए । तर १४ औँ महाधिवेशनमा भने देउवासँग कुरा नमिलेपछि उनले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तर सुरु चरणबाटै सभापतिको प्रतिस्पर्धामा ‘रिङआउट’ भए । पछि उनले देउवालाई नै समर्थन गरेका थिए । 

वर्तमान उपसभापति पूर्णबहादुर खड्का भने लामो समयदेखि देउवासँगै छन् । खड्का पहिला खुमबहादुर खड्का गुटका नेता हुन् । खुमबहादुरको निधनपछि पूर्णबहादुरले त्यो गुटको नेतृत्व गरेका थिए । तर अहिले आफू नेतृत्वको गुटका नेता तितरबितर भएपछि उनी देउवासँगै छन् । अहिले भने कांग्रेस–एमाले गठबन्धन बनेपछि पूर्णबहादुर र शेरबहादुरको सम्बन्धमा हार्दिकता नदेखिएको नेताहरू बताउँछन् । 

अहिले उल्लिखित यी सबैले सभापतिबाहेक अन्य पदमा नलड्ने भन्दै आफ्नो पक्षमा माहौल बनाइरहेका छन् । 

वर्तमान सरकारमा कांग्रेसको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका सिंहले आफू सभापति र प्रधानमन्त्रीको आकांक्षी प्रस्ट नै पारिसके । ‘पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पटक–पटक अनुभव प्राप्त गरिसकेँ । संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बन्ने मेरो इच्छा छ,’ सिंहले भने, ‘अहिलेसम्म सम्हालेका जिम्मेवारीले ती पदमा पुग्न अनुभव प्राप्त भइसकेको मेरो निष्कर्ष हो । यी पदबाहेक पद मलाई पुगिसक्यो ।’

निधि पनि यसअघि उपसभापति र महामन्त्री भइसकेका नेता हुन् । महामन्त्री भइसकेका डा. शशांक कोइराला सभापतिको तयारीका लागि अहिले पार्टीको कुनै पदाधिकारी पद नलिएर केन्द्रीय सदस्यमा बसेका छन् । उपसभापति खड्का यसअघि महामन्त्री र सहमहामन्त्री भइसकेका नेता हुन् । 

  • संस्थापन पक्ष एक ठाउँमा रहने सम्भावना कम

यस्तो अवस्थामा आगामी १५ औँ महाधिवेशनमा संस्थापन पक्ष एक रहने सम्भावना कम देख्छन् राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल । ‘वर्तमान सभापति शेरबहादुर देउवा विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशनबाट सभापति बन्न सक्नुहुन्न । उहाँ सभापति नबन्ने भएपछि नयाँ किसिमले ध्रुवीकरण हुने देखिन्छ । नेताहरू आफूलाई कता लाग्दा लाभ हुन्छ भन्ने हिसाबले पोजिसन बनाउँछन्,’ प्रा.पोखरेलले रातोपाटीसँग भने, ‘अहिले नेताहरूले देखाएका सक्रियता हेर्दा वर्तमान संस्थापन समूह १५ औँ महाधिवेशनमा एकै ठाउँमा नरहने निश्चितजस्तै देखिन्छ ।’

सभापतिका अर्का दाबेदार पूर्वउपसभापति गोपालमान श्रेष्ठ आफू सभापतिको उम्मेदवार भए आकांक्षीजति सबै समेटिएर समूह एक बनाउन सक्ने दाबी गर्छन् । ‘म सभापतिको उम्मेदवार भए भने संस्थापनमा अहिले भएका सबै नेता अटाउँछन्,’ श्रेष्ठले भने, ‘म सभापतिको उम्मेदवार हुँदा उपसभापति जो भए पनि सभापतिको उम्मेदवार मभन्दा ‘जुनियर’ भयो भन्ने हुँदैन । महामन्त्रीको उम्मेदवार जो भए पनि सभापतिको उम्मेदवार म भन्दा जुनियर भयो भन्ने हुँदैन । म हुँदा सबै समेट्नलाई पार्टीमा योगदान गरेको आधारमा सजिलो हुन्छ ।’    

पूर्वउपसभापति सिंह संस्थापनमा हुने सहमतिअनुसार नै नेताहरू अघि बढ्ने बताउँछन् । ‘आर्थिक सम्पन्नताको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्छ भन्ने आम जनताको चाहनाअनुरूप पार्टीलाई अगाडि बढाउन नेतृत्वमा पुग्ने मेरो चाहना हो । सल्लाह भइरहेको छ, के सहमति हुन्छ त्यहीअनुसार म अगाडि बढ्छु,’ उनले भने । 

  • १४ औँ महाधिवेशनमा बलियो संस्थापन अहिले तितरबितर

२०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा वर्तमान संस्थापनले केन्द्रीय समितिमा करिब ८२ प्रतिशत मतको हैसियत राखेको थियो । १४ सदस्यीय पदाधिकारीमा सभापतिसहित एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक ९ जना संस्थापनका छन् ।  

पदाधिकारीमा संस्थापनमा सभापति देउवा, उपसभपाति खड्का, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी र किशोरसिंह राठोर तथा कोषाध्यक्ष उमेश श्रेष्ठ संस्थापनका हुन् । इतर समूहमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार मात्रै छन् । 

कार्यसम्पादन समिति र केन्द्रीय समितिमा पनि संस्थापनकै बाहुल्य छ । तर, अहिलेबाटै नेताहरू गुट अदलबदलमा लागेकाले यो समूह एक रहनेमा भन्ने आशंका छ । 

संस्थापनमा देउवापछि सबैलाई स्वीकार्य पात्र भेटिन गाह्रो भइरहेको प्रा. पोखरेल बताउँछन् । भन्छन्, ‘१४ औँ महाधिवेशनसम्म समूहलाई एक ठाउँमा जोड्ने फ्याक्टर वर्तमान सभापति देउवा थिए । अब उनी नेतृत्वमा नरहने भएपछि सबैलाई स्वीकार्य पात्र भेटिन गाह्रो छ ।’

  • प्रधानमन्त्री भएपछि महाधिवेशन गर्ने देउवाको रणनीति

सभापति देउवा भने आफू नेतृत्वको समूहलाई सकभर बचाइराख्न खोजिरहेका छन् । जसका लागि उनले विधानले केन्द्रीय समितिलाई दिएको अधिकार उपयोग गरी एक वर्ष वर्तमान कार्यसमितिको म्याद थप्दै आफू प्रधानमन्त्री भएपछि महाधिवेशन गर्ने आन्तरिक तयारी गरिरहेका छन् । 

वर्तमान सरकार निर्माणका वेला कांग्रेस–एमालेबिच गठबन्धन हुँदा भएको सातबुँदे सहमतिमा एमाले अध्यक्ष ओली ०८२ असार ३० सम्म प्रधानमन्त्री हुने र त्यसपछि निर्वाचनसम्म कांग्रेस सभापतिका हैसियतमा देउवा प्रधानमन्त्री हुने उल्लेख छ । 

सहमतिमा रहेको ‘कांग्रेस सभापतिका हैसियतमा’ भन्ने शब्द देखाएर देउवाले एक वर्ष महाधिवेशनको मिति सार्ने उनीनिकट नेताहरूको फागुन २ गतेको बैठकमा प्रस्ताव राखेका थिए । एक वर्ष महाधिवेशन सार्ने निर्णय गर्दा आफू प्रधानमन्त्री भएको वेला पर्ने र नेताहरूलाई अरू पदमा ‘एडजस्ट’ गरेर समूहलाई तितरबितर हुन नदिने देउवाको दाउ छ । ‘प्रधानमन्त्री भएको वेलामा महाधिवेशन गर्न पाएमा सभापति बनाउन नसक्नेलाई महत्त्वपूर्ण मन्त्रालय, संवैधानिक निकायमा नियुक्तिजस्ता लोभ देखाउन सकिन्छ भन्ने पनि होला । पद र शक्तिको खेल खेल्न सकिन्छ भन्ने त हो । प्रभाव पार्ने उद्देश्य त छ नै,’ प्रा.पोखरेल तर्क गर्छन् । 

देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सहयोग गरेका नेताहरूलाई पहिला महाधिवेशनको निर्क्योल गरेपछि मात्रै उम्मेदवारका विषयमा कुराकानी गर्ने भन्दै टारिरहेका पनि छन् ।

तर पूर्वउपसभापति श्रेष्ठले भने १४ औँ महाधिवेशनका वेला आफूलाई देउवाले अब सभापतिको उम्मेदवार बनाउने बचन दिएको बताउँछन् । उनले भने, ‘म १४ औँ महाधिवेशनमै उम्मेदवार बन्न खोजेको थिएँ । त्यतिवेला बालुवाटार बोलाएर ए गोपालमानजी तपाईंले मलाई धेरै सहयोग गर्नुभयो । मलाई एक पटक फेरि सभापति हुने इच्छा रह्यो, अहिले पनि सहयोग गर्नुस् । १५ औँ महाधिवेशनमा तपाईंलाई म अगाडि सार्छु, तपाईं बन्नुहोला भन्नुभएको हो ।’

आफूले देउवालाई १० औँ महाधिवेशनदेखि निरन्तर सहयोग गर्दै आइरहेकाले पनि देउवाले अब सहयोग गर्नेमा उनी विश्वस्त देखिन्छन् । ‘पोखरामा भएको कांग्रेसको १० औँ महाधिवेशनपछि देउवालाई निरन्तर सहयोग गर्दै आइरहेको छु,’ श्रेष्ठले भने, ‘साढे तीन वर्ष पार्टीको कार्यवाहक सभापति बनेर चलाएको हुँ । विभाजित भएको पार्टी एक भएपछि उपसभापति भएँ । संघर्ष गर्दै यहाँसम्म आइपुगेको हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई
लेखकबाट थप