‘प्रधानमन्त्री र सभापति बन्ने इच्छा छ’

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका प्रकाशमान सिंह कांग्रेसका पूर्वउपसभापति हुन् । कांग्रेसको पहिलो निर्वाचित महामन्त्री सिंह १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए ।
पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा सिंहले वर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गरे । त्यसपछि उनी अहिलेसम्म कांग्रेसको संस्थापनमै छन् । १५ औँ महाधिवेशनमा संस्थापनका तर्फबाट सभापतिमा दाबी गरिरहेका सिंहसँग रातोपाटीका लागि मधुसुधन भट्टराईले गरेको कुराकानी ।
- –१४ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्नुभएको थियो, १५ औँ महाधिवेशनको तयारी के छ ?
म नेपाल विद्यार्थी संघबाट राजनीति गरेर कांग्रेसको यो लेभलसम्म आइपुगेको व्यक्ति हुँ । म राजनीतिक दल प्रतिबन्धित अवस्थामा हुँदा नै नेपाल विद्यार्थी संघको जिल्ला सभापति भए । पछि नेपाल विद्यार्थी संघको केन्द्रमा पनि पुगेँ । मुलुकमा बहुदलीय व्यवस्था ल्याउने आन्दोलनमा सहभागी भएँ । आन्दोलनमा सहभागी भएको भन्दै तत्कालीन व्यवस्थाले जेल हाल्यो । जेलबाट निस्केपछि नेपाली कांग्रेस काठमाडौँको लामो समयसम्म जिल्ला सभापति भएँ । दुई कार्यकाल काठमाडौँको जिल्ला सभापति भएको थिएँ ।
तेस्रो कार्यकालका लागि जिल्ला सभापति उठ्ने तयारी गर्दा कांग्रेसको १० औँ महाधिवेशनको तिथिमिति तोकिसकेपछि १६ जिल्लाका जिल्ला कार्यसमिति भंग गरेको थियो । भंग हुनेमा काठमाडौँ जिल्ला कार्यसमिति पनि थियो । त्यो वेला म सभापति थिए । त्यसपछि मैले अभियानकै रूपमा डेमोक्रयाटिक पार्टीमा पार्टी महाधिवेशनको तिथि मिति तोकिसकेपछि केन्द्रीय कार्यसमिति बैठक बसेर जिल्ला कार्यसमितिहरू भंग गर्न मिल्दैन । यस्तो कार्य अप्रजातान्त्रिक हो । यस्ता प्रकारका निर्णयले पार्टीलाई राम्रो गर्दैन । पार्टी विधिअनुरुप चल्नुपर्छ भनेर अभियान चलाएको थिएँ । त्यही अभियान लिएर महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएँ । त्यो वेला महाधिवेशन प्रतिनिधिहरूले मेरो एजेण्डालाई मन पराएर केन्द्रीय सदस्यमा तेस्रो लोकप्रिय मत दिनुभएको थियो । तत्काmलीन पार्टी नेतृत्वले भंग गर्ने १६ जिल्ला कार्यसमितिमा म सभापति भएको काठमाडौँ जिल्ला कार्यसमिति पनि परेपछि केन्द्रको राजनीतिमा होमिएको हो ।
१० औँ महाधिवेशनपछि पार्टी विभाजन भयो । पार्टी विभाजन हुँदा वर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गरेर उहाँले नयाँ गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक)मा बसेको थिएँ । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले नेताहरूलाई दुःख दिन ‘शाही आयोग’ बनाए । आयोग बनेपछि सबैभन्दा पहिला मैले नै यो आयोग असंवैधानिक छ, यसलाई सहयोग गर्न मैले सक्दैन भनेर बोलेँ र त्यो अडानमा अन्तिमसम्म अडिग रहेँ । अरू नेतासँग पनि यो असंवैधानिक तवरबाट गठित आयोगलाई सहयोग गर्न हुँदैन भनेर बैठकहरूमा अडान लिएको हुँ । त्यसपछि मलाई पक्राउ गरेर अनेक तरहबाट केरकार गर्ने प्रयास गरिएकै हो ।
सभापतिमा मेरो आवश्यकता देखे भने म सभापतिमा उम्मेदवार बन्छु । साथीहरूले जिम्मेवारी दिएमा काम गर्न सक्छु ।
म कांग्रेसको उपसभापति भइसकेँ । कांग्रेस इतिहासमा पहिलो निर्वाचित महामन्त्री पनि म नै हो । कांग्रेस संसदीय दलको उपनेता भएर काम गरिसकेको छु । सैद्धान्तिक विषयमा मात्रै ज्ञान भएको होइन, अहिलेसम्म लोकतन्त्र अप्ठ्यारो पर्ने गरी आएका कठिनाइ पार गर्दै यहाँसम्म आइपुगेको व्यक्ति हुँ ।
साथीभाइ सबैसँग सल्लाह गरिरहेको छु । सभापतिमा मेरो आवश्यकता देखे भने म सभापतिमा उम्मेदवार बन्छु । साथीहरूले जिम्मेवारी दिएमा काम गर्न सक्छु ।
- संस्थापनबाट सभापतिमा एउटा उम्मेदवार हुने र त्यो उम्मेदवार म हुनुपर्छ भन्ने तपाईंको माग हो ?
सस्थापनमा सभापतिका उम्मेदवार म मात्रै होइन, अरू साथीहरू पनि हुनुहुन्छ । संस्थापनमा पूर्वपदाधिकारी साथीहरू धेरै हुनुहुन्छ । उहाँहरू केही पनि होइन, म मात्रै सभापतिमा योग्य हो भन्ने मान्यता म राख्दैन । आफ्नो इच्छाअनुसार सभापतिको उम्मेदवार हुन सबैले आफ्नो ‘मुभ’ गरिहाल्छन् । मुभ अनुसार आफ्नो माहौल जसले बनाउन सक्छ, उही सभापतिको उम्मेदवार हुन्छ ।
- सभापति बन्न र बनेपछि काम गर्न तपाईंका योजना के–के हुन् ?
पार्टीको सभापति बन्न अहिले मात्रै योजना प्रस्तुत गरेर हुँदैन । लामो राजनीतिक यात्रामा पार्टीलाई व्यवस्थित बनाएर अगाडि बढाउनुपर्छ, पार्टीलाई संस्थागत रूपले अगाडि बढाउनुपर्छ । विधि र विधानअनुसार चलाउनुपर्छ । मेरो परिचय पार्टीलाई व्यवस्थित गर्न आवाज उठाउँछ भन्ने छ । म पार्टीलाई व्यवस्थित गर्न चाहन्छु । पार्टीलाई आगामी दिनमा आउने चुनौती सम्बोधन गर्न सक्ने सशक्त बनाउन चाहन्छु । लोकतन्त्रका लागि लडेको पार्टी भएकाले, लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गरेर समाजलाई अगाडि बढाउने मेरो ध्येय रहन्छ । त्यसका लागि सभापतिमा मेरो दाबी रहन्छ ।
सभापतिभन्दा तल्लो पदमा त नबस्ने मेरो निष्कर्ष छ । लोकतन्त्रलाई बचाइराख्न क्राइसिस पर्दा कुन नेताले के गर्यो भन्ने पार्टीका साथीहरूले लेखाजोखा गर्लान् भन्ने मेरो विश्वास छ ।
- संस्थापनमा हुने सहमतिका आधारमा अगाडि बढ्ने तपाईंको योजना हो ?
पार्टीलाई विधि विधानको अधीनमा रहेर लोकतान्त्रिक प्रक्रियाबाट चलाउनुपर्छ भनेर पोखरामा सम्पन्न १० औँ महाधिवेशनका वेलाबाट उठाउँदै आइरहेको छु । लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थित गरेर चलाउनुपर्छ भन्ने मेरो एजेन्डा हो । सबैलाई मिलाएर लोकतन्त्र जोगाउने र आम जनतालाई स्वतन्त्र रूपमा आफ्नो जीवनयापन गर्ने र काम गर्ने व्यवस्था मिलाउनुपर्छ । आर्थिक सम्पन्नताको बाटोमा मुलुकलाई डोर्याउनुपर्छ भन्ने आम जनताको चाहनाअनुरूप पार्टीलाई अगाडि बढाउन पार्टी नेतृत्वमा पुग्ने मेरो चाहना हो । सल्लाह भइरहेको छ, के सहमति हुन्छ त्यहीअनुसार म अगाडि बढ्छु ।
- सभापतिबाहेक अन्य पदमा तपाईं उम्मेदवार बन्नुहुन्छ कि हुँदैन ?
मैले यहाँसम्म तल्लो तहबाट राजनीति गरेर आइपुगेको हुँ । तल्लो तहबाट यहाँसम्म पुगेकाले केही गरेर देखाउन सक्छु भन्ने आत्मबल मसँग छ । विद्यार्थी जीवनकालदेखि नै जिल्लाको नेतृत्व सम्हाल्दै, जेलनेल सबै भोगेर विभिन्न पदमा अनुभव पनि बटुलिसकेको छु । पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पटक–पटक अनुभव प्राप्त गरिसकेँ । संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बन्ने मेरो इच्छा छ । अहिलेसम्म सम्हालेका जिम्मेवारीले ती पदमा पुग्न अनुभव प्राप्त भइसकेको मेरो निष्कर्ष छ । यी पदबाहेक मलाई पुगिसकेको छ । सभापतिभन्दा तल्लो पदमा त नबस्ने मेरो निष्कर्ष छ । लोकतन्त्रलाई बचाइराख्न क्राइसिस पर्दा कुन नेताले के गर्यो भन्ने पार्टीका साथीहरूले लेखाजोखा गर्लान् भन्ने मेरो विश्वास छ ।
- महाधिवेशनको मिति पनि सार्ने कुराकानी भइरहेको छ भन्ने बाहिर आएको छ नि ?
१५ औँ महाधिवेशन विधान र संविधानले दिएको व्यवस्थाअनुसार हुन्छ । समयको पाबन्दीलाई मध्यनजर गरेर महाधिवेशनलाई गराउने तयारी हामीहरूले गरिरहेका छौँ । पार्टीलाई विधिसंगत, संस्थागत गराउने मेरो जोड सधैँ रहँदै आएको छ । १० औँ महाधिवेशनदेखि पार्टीलाई विधिसंगत बनाउने माग निरन्तर उठाइरहेको छु । अहिले पनि विधिसम्मत तरिकाले महाधिवेशन गर्नुपर्छ भन्ने मेरो धारणा सभापतिज्यू अन्य नेताहरूसँगको बैठकमा राख्दै आएको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगम्बर झासहित ८ जना दोषी ठहर, अरुलाई सफाइ
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु