बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

गौर राइस मिलको जग्गा संरक्षणको मागसहित प्रधानमन्त्रीलाई  ज्ञापनपत्र

बिहीबार, २२ फागुन २०८१, ०७ : ५२
बिहीबार, २२ फागुन २०८१

रौतहट  । गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओली लाई ज्ञापन पत्र बुझाएका हुन्।

गौर नगरपालिकाका पूर्व मेयरसमेत रहेका एमाले नेता  गुप्ताले  प्रधानमन्त्री ओलीलाई  भेटेर गौर राईस मिलको जग्गा भूमाफियाले  बिक्री गर्न लागेकोमा तत्काल उक्त जग्गा रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन ज्ञापनपत्र मार्फत माग गरेका  छन् ।   

भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक  उपभोगमा  रहेको राईस मिलको जग्गा बेचविखन गर्न लागेकोमा जग्गा रोक्का गरी त्यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रत्याशी समेत रहेका गुप्ताले ज्ञापनपत्र मार्फत  माग गरे । 

गौर राइस मिलको जग्गा बर्षों देखि सार्वजनिक रूपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रूपमा प्रयोग हुँदै आएको छ। ज्ञापन पत्रमा भूमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठुलो आथिर्क चलखेल गरी सो जग्गा भागबन्डा गरी खेलमैदानको अस्तित्व नै समाप्त हुने गरी रौतहट वासीका सपनालाई धमिलो पार्ने उद्देश्यका साथ अगाडी बढेकोमा अविलम्ब सो जग्गा बिक्री वितरणमा रोक लगाइनु पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

साबिक गौर गाविस  वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३ को ०.९.० जग्गा गौरको मुटु  भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप