‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन

धनगढी । २०७४ फागुन २४ का दिन कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरी नामकी एक युवतीलाई बोक्सीको आरोप लगाउँदै गाउँलेले निर्घात कुटपिट गरे ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानवअधिकारकर्मी, मिडियाकर्मी, प्रहरी प्रशासन र सरकार लगायत विभिन्न पक्षको ध्यानाकर्षण भयो । परिणामस्वरुप कुटपिटमा संलग्न ६ जनालाई कानुनी कारबाही गर्दै कारागार चलान गरियो ।
यसै वर्ष पुस १ गते कैलालीकै भजनी नगरपालिकामा २८ वर्षीय हसिना चौधरीलाई बोक्सीको आरोप लगाउँदै गाउँकै केही व्यक्तिले सार्वजनिक रूपमा कुटपिट गरे । गाउँमा ‘गुरुबा’ भनेर चिनिने बाबुराम डगौरासहित केही व्यक्तिले उनीमाथि आक्रमण गरे ।
कुटपिट हुँदा हसिना घरमा एक्लै थिइन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा थिए । पत्नीमाथि आक्रमण भएको खबर पाएपछि श्रीमान् ४८ घण्टाको यात्रा गरेर घर फर्के । उनी घर पुग्दा हसिनामाथि फेरि कुटपिट हुन लागेको खबर आयो ।
उनका श्रीमान् चुन्नीलाल घटनास्थल पुगे । हसिनामाथि कुटपिट भइरहेको थियो । उनले रोक्न खोजे तर कुनै उपाय नलागेपछि प्रहरीलाई खबर गर्छु भनेर धम्काए । त्यसपछि मात्रै कुटपिट रोकियो ।
पुस २ गते उनका हसिनाका बाबुले प्रहरीमा उजुरी गरे । त्यही आधारमा चार जनालाई पुस ४ गते पक्राउ गरियो ।
हालै भएका यी प्रतिनिधिमुलक घटनामात्र हुन् । यस्ता घटनाले नेपालको कानुनी व्यवस्था, समाजमा रहेका अन्धविश्वास र राज्यको वास्तविक उपस्थिति कति कमजोर छ भन्ने उजागर गर्दै आएको छ ।
बोक्सीका नाममा हुने यस प्रकारका घटनालाई उन्मूलन गर्न भनेर विभिन्न तहबाट आवाज उठाइएको छ ।
कैलाली लगायत सुदूरपश्चिमका अन्य जिल्लामा यस्ता घटना निरन्तर भइरहेका छन् । केही घटना प्रहरी प्रशासनसम्म पुग्छन् भने धेरैजसो घटना गाउँमै दबिन्छन् ।
विशेष गरी सुदूरपश्चिमका थारू समुदायमा यस प्रकारको समस्या बढी देखिएको छ । अन्धविश्वास र अशिक्षाका कारण यस्तो समस्या फैलिएको धेरैको भनाइ छ ।
यस्ता प्रायः घटनामा महिलालाई निशाना बनाउने गरिएको छ । कहिलेकाहीँ पुरुषलाई पनि बोक्सीको आरोप लगाएर सार्वजनिक रूपमा अपमान र हिंसा गरिन्छ । यहाँसम्मकि, बोक्सीको आरोप लगाएर सम्बन्धित व्यक्तिमाथि शारीरिक, मानसिक र यौनिक अत्याचारसमेत हुने गरेको पाइन्छ ।
सामाजिक, सांस्कृतिक र धार्मिक अन्धविश्वासहरूको घेरामा यस प्रथाले जरा गाडेको सरोकारवाला बताउँछन् । ग्रामीण र अशिक्षित नागरिकको बाहुल्यता भएको समाजमा मात्र नभएर शिक्षित व्यक्तिहरू भएको समाजमा पनि यस प्रकारका घटना प्रकाशमा आउने गरेका छन् ।
कानुनी सहयोग खोज्दा पनि धेरै स्थानमा आफ्ना आवाजलाई दबाउने गरिएको कतिपय पीडित बताउँछन् ।
नेपालको संविधान, २०७२ को धारा ३८ (३) अनुसार महिलाविरुद्ध हुने कुनै पनि प्रकारको हिंसा, सामाजिक विभेद वा शोषण दण्डनीय छ ।
मुलुकी अपराध संहिता–२०७४ को दफा १६८ (१) मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने प्रावधान छ । कसैमाथि अपमानजनक वा अमानवीय व्यवहार गरेमा पाँच वर्षसम्म कैद र पचार हजार रुपैयाँ जरिबानाको व्यवस्था छ ।
तर, उल्लिखित कानुनी प्रावधानका बाबजुद यसको प्रभावकारी कार्यान्वयनको अभावले यस्ता घटना दोहोरिने गरेका छन् ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बोक्सी आरोप सम्बन्धी दुई वटा घटनामात्र दर्ता भए । २०७९/०८० र २०८०/०८१ मा यस प्रकारका कुनै घटना दर्ता नभएको देखिए पनि वास्तविकता भने फरक छ ।
गाउँमा हुने यस प्रकारका धेरै घटना प्रहरीसम्म पुग्दैनन् । समाजको ठुलो हिस्सा अझै पनि अन्धविश्वासमै कायम गर्छ । यस प्रथामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्नका लागि ग्रामीणस्तरमा सचेतना कार्यक्रमका साथै सामाजिक अभियानकै खाँचो देखिएको सरोकारवाला बताउँछन् ।
स्थानीय अधिकारकर्मी रामप्यारी चौधरीका अनुसार अझै पनि गाउँमा कोही बिरामी परे, कुनै समस्या आए अथवा अनौठो घटना घटे भने धामीझाँक्री र गुरुबाहरूले ‘बोक्सीको प्रभाव’ भनेर आरोप लगाउँछन् ।
त्यसपछि यस्ता घटनाका लागि कसैलाई जिम्मेवार ठहर गर्ने र कुटपिट तथा सामाजिक बहिष्कार गर्ने गरिन्छ ।
अहिलेको जमानामा पनि बोक्सा–बोक्सीको आरोपमा कुटपिटमा पर्ने गरेका घटनाले लज्जित बनाउने गरेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए ।
‘हामी त्यसको विरूद्धमा सधैँ लागेका छौँ, बोक्सी किन हुन्छ ? के हो ? बोक्सी, जादु र टुना के हो भनेर ती आरोप लगाउने गुरूबाहरूले प्रमाणित गर्नुपर्यो,’ उनले भने ।
जादुमार्फत गुरूबाहरूले बोक्सीलाई नचाउँछन् भन्ने आफूले पनि सानैदेखि सुनेको भन्दै नगर प्रमुख चौधरीले भने, ‘यस्ता कुरामा सत्यता छैन । यस्ता कुरा केवल शंका र उपशंकाका आधारमा गरिन्छ ।’
नगर प्रमुख चौधरीका अनुसार अन्धविश्वासका कारण शिक्षित समाजमा पनि यस्ता घटना भइरहेका छन् । ‘अहिलेको जमानामा अशिक्षित कोही पनि छैनन् । स्थानीय सरकारबाट सचेतना पार्ने काम त कयौँ वर्षदेखि भइरहेको छ । कानुन पनि बनेको छ, बनेको कानुनको पनि डर नमान्ने, अबुझलाई बुझाउन पनि गाह्रो छ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार चेतनाको कमीका कारण अन्धविश्वासमा यस्ता घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
‘हामीले कानुनी कारबाही गर्छाैं तर समाजमा चेतनाको कमी छ । जबसम्म जनस्तरबाटै यस्ता कुराहरू अन्त्यको पहल हुँदैन, प्रहरी कारबाही मात्रै पर्याप्त हुँदैन’, उनले भने ।
बोक्सी प्रथालाई जरैदेखि उन्मुलन गर्नका लागि कानुन कार्यान्वयन मजबुत बनाउने, जनचेतना अभिवृद्धि गर्ने, स्कुल र स्थानीय तहबाट शिक्षित गर्नुपर्ने लगायतका काम गर्नुपर्ने अधिकारकर्मी नानु सिंहको भनाइ छ । धामीझाँक्री र गुरुबाहरूको गतिविधिमा निगरानी र पीडितलाई संरक्षण तथा पुनःस्थापना गर्ने काममा लाग्नुुपर्ने उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’