कहाँ अड्कियो काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति ?

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिएको १८ दिन बितिसक्दा समेत नाम सिफारिस गर्न सकेको छैन ।
समिति सदस्यहरूबिच विवाद बढेसँगै उपकुलपतिका लागि नाम सिफारिसमा ढिलाइ भएको हो । विश्वविद्यालयका संस्थापक तथा पूर्वउपकुलपति प्राडा सुरेजराज शर्मा संयोजकत्वको समितिभित्र कसलाई सिफारिस गर्ने भन्नेमा विवाद बढेको हो ।
संयोजक शर्मा निवर्तमान उपकुलपति प्राडा भोला थापालाई उपकुलपति बनाउने पक्षमा देखिएका छन् । समितिका अर्का सदस्य पूर्वसचिव जनार्दन नेपाल प्राडा अच्यूत वाग्लेलाई बनाउनुपर्ने पक्षमा छन् । यस्तै, सदस्य डाक्टर अर्जुन कार्की भने तटस्थ छन् ।
तीन जना तीनतिर देखिएपछि समितिले आजसम्म नाम सिफारिस गर्न सकेको छैन । माघ २ र ३ गते सर्टलिष्टमा परेका १० जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिइएको थियो । अन्तर्वार्ता र प्रस्तुतिकरण सकिएलगत्तै मेरिटोक्रेसीका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नुपर्नेमा यतिका दिनसम्म अलमल भएको हो ।
समिति संयोजक शर्माले २/३ दिनभित्रमा उपकुलपतिको टुङ्गो लाग्ने बताएका छन् । उनले सहयोगीमार्फत रातोपाटीलाई दिएको जानकारी अनुसार केही विवाद देखिएकाले सिफारिस गर्न ढिलाइ भएको स्वीकार गरे ।
संयोजक शर्मा र अर्का सदस्य नेपालले अलगअलग व्यक्तिलाई बोक्दा मेरिटोक्रेसीको समेत खिल्ली उडेको प्राध्यापकहरू बताउँछन् ।
‘अन्तर्वार्ता र प्रस्तुतिकरणमा सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गर्न किन यति पीडा भइरहेको हो, बुझ्न सकिएको छैन,’ उपकुलपतिका एक उम्मेदवारले भने ।
समितिले उपकुलपति छनोट तथा सिफारिसका लागि प्रस्ट आधार र मापदण्ड बनाएको छ । त्यही आधारमा विभिन्न मापदण्डका लागि दिइने नम्बरसमेत प्रस्ट छन् । बढी अंक आएका तीन जनालाई सिफारिस गर्नुपर्नेमा आफ्ना मान्छे सिफारिस गर्न परेकाले समस्या भएको हुन सक्ने ती उम्मेदवारको भनाइ छ ।
समितिले प्राडा अच्युत वाग्ले, प्राडा कन्हैया झा, प्राडा जनार्दन लामिछाने, प्राडा बालचन्द्र लुईंटेल, प्राडा विभूति रञ्जन झा, प्राडा वेदमणि दाहाल, प्राडा भोला थापा, प्राडा राजेन्द्र प्रसाद कोजु, प्राडा श्यामनारायण लाभ र प्राडा सुवोध शर्मालाई उपकुलपतिका लागि सर्टलिष्टमा पारेको थियो ।
विश्वविद्यालयका १३ जना पदाधिकारीले उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका थिए । उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेको उनीहरूको भनाइ थियो ।
गत माघ ६ गतेदेखि काठमाडौँ विश्वविद्यालय उपकुलपतिविहीन छ । हाल रजिष्ट्रार प्राडा अच्यूत वाग्लेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
अन्तर्वार्ता भएको लामो समय बितिसक्दा पनि नाम सिफारिस नभएपछि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै हस्तक्षेप गरेका छन् । उनले अन्तर्वार्ता लिइएका सबै जनाको नम्बर हेर्ने र बढी नम्बर ल्याउने एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले समितिका सदस्यहरूलाई मंगलबार बोलाएर नाम सिफारिस गर्न ढिलाइ भएको विषयमा चासो राखेका थिए । सहमति गरेर सिफारिस गर्न र सहमति नभएको खण्डमा कसले कति नम्बर पाएको हो, त्यो आफूले हेर्ने प्रधानमन्त्रीले बताइसकेका छन् ।
आफू अनुकूलका व्यक्तिलाई नाम सिफारिस गर्न खोजेपछि समितिका तीन सदस्यबिच सहमति नभएको विश्वविद्यालयका प्राध्यापक बताउँछन् ।
विश्वविद्यालयका १३ जना पदाधिकारीले उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका थिए । उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेको उनीहरूको भनाइ थियो ।
विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्राडा प्रकाशचन्द्र भट्टराई र प्राडा हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एशोसिएट डिन डा उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा विजय केसी, एशोसिएट डिन डा खगेन्द्र आचार्य, स्कुल अफ मेडिकल साइन्सेज डिन प्राडा मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्राडा उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्राडा ऋशिकेश वाग्ले, एशोसिएट डिन डा शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एशोसिएट डिनद्वय डा श्यामसुन्दर खड्का र प्रा डा बालकृष्ण बलले समितिको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघले समेत चाँडो सिफारिस गर्न दबाब दिन आन्दोलन गर्दै आएको छ । तीन दिने अल्टिमेटम दिएको संघले उक्त समयसीमा भित्र सिफारिस नभएपछि दबाबमूलक कार्यक्रम गर्दै आएको हो ।
थापा र वाग्लेलाई लिएर विवाद
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोटका लागि पहिलो पटक सहकुलपति बाहिरका व्यक्तिको संयोजकत्वमा समिति गठन गरिएको थियो । विगतका उपकुलपति छनोटका लागि शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपतिको संयोजत्वमा समिति गठन गरिँदै आएको थियो । यो पटक भने विश्वविद्यालयका संस्थापक शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो ।
प्राध्यापक संघका अध्यक्ष डाक्टर विकास अधिकारीले एकेडेमिसियन वा पोलिटिसियनमध्ये कसलाई उपकुलपति बनाउने भन्नेमा विवाद देखिएको बताए । संस्थागत हितका लागि उपकुलपति छान्ने कि दलीय भागबण्डामा उपकुलपति छान्ने भन्नेमा लडाइँ देखिएको उनको भनाइ छ ।
समितिका संयोजक शर्मा र सदस्य नेपालबिच निवर्तमान उपकुलपति थापा र हालका निमित्त उपकुलपति वाग्लेमध्ये कसलाई बनाउने भन्नेमा विवाद देखिएको हो । विगतमा उपकुलपतिहरू दोहोरिने परम्परा रहेकाले थापाको कार्यकाल एक पटक दोहोर्याउने मनसायमा संयोजक शर्मा देखिएका छन् ।
नेपाल भने वाग्लेलाई बनाउनुपर्ने पक्षमा अडिग छन् । उनले उपकुलपति पद एकेडेमिकभन्दा पनि राजनीतिक भएकाले वाग्लेलाई बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
प्राध्यापक संघका अध्यक्ष डाक्टर विकास अधिकारीले एकेडेमिसियन वा पोलिटिसियनमध्ये कसलाई उपकुलपति बनाउने भन्नेमा विवाद देखिएको बताए । संस्थागत हितका लागि उपकुलपति छान्ने कि दलीय भागबण्डामा उपकुलपति छान्ने भन्नेमा लडाइँ देखिएको उनको भनाइ छ ।
संस्थागत हितका लागि काम गर्ने खालको व्यक्तिलाई उपकुलपति बनाउन पर्नेमा आफूहरू अडिग रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण