बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म

बिहीबार, २२ फागुन २०८१, ०० : २९
बिहीबार, २२ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो। 

२. संसद् बैठक
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले षडयन्त्रपूर्वक हटाउन लागेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले विरोध गरेका छन् । बुधवारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । 

३. अमेरिकाबाट नेपाली डिपोर्ट
अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । 

४. माओवादी बैठक 
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले मुलुकको राजनीतिक अवस्था गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । बुधबार बिहान र दिउँसो बसेको पदाधिकारी बैठकले देशभित्र र बाहिर प्रतिक्रियावादी तथा प्रतिगामी शक्तिहरूले प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र गरेको निष्कर्ष निकालेको हो ।

५. निजामती कर्मचारीको उमेरहद बढाउने तयारी 
निजामती कर्मचारीको उमेरहद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा भइरहेको छलफल सकारात्मक रूपले अघि बढिरहेको हो । 

६. सहकारीका समस्या
सहकारीको रकम हिनामिनाबाट कैयौँ बचतकर्ता प्रभावित भएका छन् । यो विषय राष्ट्रिय मुद्दा नै बनिसकेको छ । बागमती प्रदेश पनि सहकारी रकम हिनामिनाको मुद्दाबाट अछुतो छैन । बागमती प्रदेश सरकारले सहकारी व्यवस्थापनका लागि विभिन्न प्रयास गरे पनि ठोस नतिजा हात लाग्न सकेको छैन ।

७. नयाँ गभर्नर नियुक्ति
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर को बन्छ भन्नेबारे चासो र चर्चा सुरु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका सम्बन्धमा बहस सुरु हुन थालेको हो । 

८. बिजुक्छेकै रजगज
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित)ले नै निरन्तरता पाएका छन् । फागुन २० गते सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले बिजुक्छेलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

९. राजावादी सडकमा
 राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो । 

१०. सुन तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाकथ्रु गेट पार गरिसकेका ४ जना उज्वेकिस्तानका नागरिक फागुन १४ मा साँझ पक्राउ परे । पक्राउ गरेको करिब ३ घण्टाको प्रयासपछि आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरी अधिकृतहरूले बरामद गरेका हुन् । 

११. सुखानी हत्याकाण्ड
झापा विद्रोहका कारण त्यहाँका मान्छे आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेको सातोपुत्लो गएको बुझिन्थ्यो । नक्सलाइट कम्युनिस्टको शीर्षकले धेरैलाई तर्साएर काबुमा राखेको थियो । त्यसै फेरोमा झापा आन्दोलनका मुख्य नायक मानिएका रामनाथ दाहाल पनि पक्राउ परेका थिए ।

१२. जसपा नेपाल 
जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रले जनतासँग माओवादीः तराई मधेश जागरण अभियान सञ्चालन गरिरहेको छ । यस्तोमा जसपा नेपालले पनि देशका प्रमुख तीन वटा राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप