बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
टिप्पणी

राजावादीको यो प्रदर्शन, त्यो सुखानी हत्याकाण्ड !

बुधबार, २१ फागुन २०८१, २१ : ४९
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । समयको चक्र पनि कस्तो भने कुनै बेला निरंकुश राजतन्त्रको विरुद्ध लाग्दा तत्कालीन शासकको आदेशमा गोली हानेर हत्यासम्म गरिन्थ्यो । सत्ताको विरोध वर्जित थियो । तर आज समय फेरिएको छ । 

फरक के भने त्यतिबेला जस्तो सत्ताको विरोध गर्दा गोली हान्ने परिस्थिति आज छैन । त्यतिबेलाको निरंकुश शासककै पक्षधरहरू सडकमा आएर जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतान्त्रिक व्यवस्थालाई खुला रुपमा चुनौती दिइरहेका छन् ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । जहाँ स्वतन्त्रता, मानवअधिकार तथा सबै किसिमका विचारको सम्मान हुने वातावरण छ ।

अझ भन्नुपर्दा वर्तमान व्यवस्थामा राजावादीदेखि सबै दलहरूले राजनीतिक स्वतन्त्रता उपभोग निर्धक्कसँग गर्न पाएका छन् । उनीहरूले आफ्ना विचार, विश्वास तथा राजनीतिक गतिविधिहरू स्वतन्त्र रूपमा अभिव्यक्त गर्न, समर्थन गर्न वा विरोध गर्न पाएका छन् । लोकतन्त्रको एउटा महत्त्वपूर्ण विशेषता नै राजनीतिक स्वतन्त्रता हो । 

Raprapa protest_Nepal photo library17

२०२९ साल फागुन २१ गते तत्कालीन राजा नेतृत्वको पञ्चायती शासकले इलाम र झापाको सिमाना रहेको सुखानी जंगलमा झापा किसान आन्दोलनका चर्चित पाँच जना योद्धालाई गोली हानेर मारेका थिए । रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको हत्या भएको थियो र उनीहरू नेकपा झापा समितिले सञ्चालन गरेको ‘वर्गशुत्र सफाया’ अभियानका योद्धाहरू थिए । 

जुन अभियानका नेताहरुमध्ये एक थिए हाल प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । सोही अभियानमा राधाकृष्ण (आरके) मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशी लगायत नेताहरू पनि थिए । 

पाँच जनाको हत्या भएको उक्त घटनापछि ओली त लामो समय फरार रहे । त्यतिबेलाको व्यवस्था यस्तो थियो कि दलहरू प्रतिबन्धित अवस्थामा थिए भने राजाको विरोधमा लाग्दा जसले जुनसुकै बेला ज्यान गुमाउनु पर्थ्यो । 

यद्यपि यो घटना नेपालमा कम्युनिस्ट आन्दोलनको एउटा ऐतिहासिक संघर्षको प्रतीक बन्यो भने नेपाली कम्युनिस्ट पार्टीले हरेक वर्ष फागुन २१ लाई ‘सुखानी सहिद दिवस’ को रूपमा मनाउने गर्छन् । 

संयोग पनि कस्तो भने सोही दिनको स्मरणमा बुधबार एमाले, माओवादीसहितका कम्युनिस्ट पार्टीले सुखानी हत्याकाण्डको स्मरणमा विविध कार्यक्रमहरू गरिरहँदा राजावादी पार्टी राप्रपाले भने राजधानीमा राजा फर्काउनुपर्ने माग गर्दै वृहद मोटरसाइकल र्‍यालीसहित विरोध सभाको आयोजना गर्‍यो । 

तर, अहिले फरक के छ भने सुखानी काण्डको बेलाजस्तो कहालीलाग्दो अवस्था आज छैन । बिना कुनै डरत्रास  राजावादीहरूले छाती फुलाएर आफ्नो माग सडकमा प्रस्तुत गर्न पाए भने वर्तमान व्यवस्थाको न्वारनको बल लगाएर विरोध गरे । 

यसरी विरोध गर्दा राज्यले राप्रपालाई न कुनै हस्तक्षेप गर्‍यो न त पञ्चायतको जस्तो गोली खानुपर्ने डर नै  । उनीहरूले निर्धक्कका साथ आफ्नो माग राख्दै वर्तमान व्यवस्थाको कटु आलोचना गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणासहितका नेता कार्यकर्ताले सडकमा उभिएर वर्तमान व्यवस्थाको आलोचना गर्दै ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाउ, भ्रस्ट सरकार मुर्दावाद जस्ता...’ नारा मात्रै लगाएनन् यो संघीयता, धर्मनिरपेक्षता समाप्त गरेर पुरानै व्यवस्था फर्काउन लाग्ने समेत उद्घोष गरे । उनीहरूले आम जनताले यो व्यवस्था उल्ट्याउनका लागि भूमिका खेल्नुपर्नेमा समेत जोड दिए । 

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले त अब आफूहरू राजतन्त्र फर्काउनका लागि जनआन्दोलन ३ को तयारीमा लागेको समेत बताए । चैत महिनामा लाखौँको संख्यामा जनता उतारेर यो सत्ता, व्यवस्था र अवस्था परिवर्तन गर्नका लागि अगाडि बढेको समेत बताए । 

अहिले सत्ताको नेतृत्व गरिरहेका ओली तिनै हुन्, जो सुखानी हत्याकाण्डका हर्ताकर्ता र सोही काण्डपछि ज्यान बचाउन फरार रहनु पर्‍यो । संयोग नै मान्नुपर्छ अहिले तिनै ओली सत्तामा हुँदा समेत ठुलो बलिदानीबाट प्राप्त वर्तमान  व्यवस्थाको विरोध गर्न पाएका छन् । 

 जबकि ओलीलाई त्यो व्यवस्थामा फाँसी चढाइन सक्थ्यो ।  त्यस्तो व्यवस्था हटाउन जनयुद्ध, दुई पटकसम्म जनआन्दोलन र मधेससहितका अनेकन् आन्दोलन भए । त्यही आन्दोलनहरूको जगमा अहिले गणतन्त्र आएको छ ।  

आफ्नै अलोकप्रिय गतिविधि र व्यवहारले राजतन्त्र इतिहास बनेको यथार्थ हो । तर, अझै पनि त्यो निरंकुशतन्त्र फर्काउन राजावादीले चलाइरहेको अभियान हेरेर हिजोको त्यो कहालीलाग्दो सुखानी हत्याकाण्ड भोगेर आएका प्रधानमन्त्री ओलीको मानसपटलमा के खेलिरहेको होला ?   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप