बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

वैदेशिक सहायताको मामिलामा चीनले लिन सक्ला अमेरिकाको ठाउँ ?

बुधबार, २१ फागुन २०८१, २१ : ४१
बुधबार, २१ फागुन २०८१

एजेन्सी ।  अमेरिकी वैदेशिक सहायता अचानक बन्द भएपछि विश्वभर चिन्ता बढेको छ । धेरैको एउटै प्रश्न छ– यो खाडल कसले पूरा गर्ला ?

अमेरिकी सरकारले लामो समयदेखि प्रदान गर्दै आएको वैदेशिक सहायता कटौती गरेको छ । यसै कारणले राजनीति र सहायता क्षेत्रमा काम गर्ने व्यक्तिहरू चीनले यस दिशामा कदम चाल्छ कि भनेर चासो राख्दै आएका छन् ।

चीनले पहिले नै कम्बोडियालाई सहयोग गर्ने कुरामा ध्यान केन्द्रित गरिसकेको थियो । कम्बोडिया एउटा यस्तो देश हो जहाँ धेरै वर्षदेखि युद्धका अवशेषका रूपमा रहेका बारुदी सुरुङ हटाउन अन्तर्राष्ट्रिय सहायता प्रयोग हुँदै आएको छ । यी बारुदी सुरुङका कारण यहाँका नागरिकहरू मारिने र घाइते हुने गरेका छन् ।

ट्रम्प प्रशासनले विदेशी सहायता कटौती गरेको एक हप्तापछि, कम्बोडियामा बारुदी सुरुङ हटाउन जिम्मेवार समूह कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी)का अनुसार चीनबाट ४४ लाख डलर सहयोगको प्रतिबद्धता आएको छ । यो रकमले बारुदी सुरुङ हटाउने प्रयोजनका लागि एक वर्षसम्म काम हुनेछ ।

यो अवस्थाले नै वैदेशिक सहायताको मामिलामा अमेरिका पछाडि हटेको अवस्थाको फाइदा उठाउन चीनले अवसर खोजिरहेको देखाउँछ । सहयोग प्रदान गरेर चीनले आफ्नो प्रभाव बढाउन सक्छ र अफ्रिका, ल्याटिन अमेरिका, एसिया र बाहिरका देशहरूसँगको सम्बन्धलाई बलियो बनाउन सक्छ ।

सीएमएसीका अध्यक्ष हेङ रेटाना अमेरिकाले आफ्नो कोष पुनः सुरु गर्ने विश्वासमा छन् । सीएमएसी भने अमेरिकाबाट प्राप्त हुने विदेशी सहायतासँग सम्बन्धित नीतिहरूको समीक्षा गरिने बताउँछ ।

कम्बोडियाका सन्दर्भमा चीनको यो सहयोग महत्त्वपूर्ण भए पनि विज्ञहरू यसको अर्थ चीनले अमेरिकाको सबै वैदेशिक सहायता नीति आफ्नो नियन्त्रणमा लिने योजना बनाएको अर्थमा बुझ्न नहुने बताउँछन् । तैपनि चीन लामो समयदेखि पश्चिमा शक्ति पतनको पर्खाइमा छ । डोनाल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने निर्णयले वास्तवमा चीनलाई मद्दत गरिरहेको छ ।

अमेरिकाको भन्दा फरक छ चीनको सहायता मोडल ?

चीन वैश्विक विकासमा एक परिचित नाम हो । भर्जिनियास्थित विलियम एण्ड मेरी कलेजको एक अनुसन्धान प्रयोगशाला ‘एडडाटा’का अनुसार चीनले २००० देखि २०२१ सम्म विश्वव्यापी विकासमा १.३४ ट्रिलियन डलर खर्च गरेको छ ।

यसको तुलनामा अमेरिकाले २००१ देखि २०२३ सम्म १.२४ ट्रिलियन डलर खर्च गरेको छ । यसले चीनलाई विश्वमै विकासमा सबैभन्दा बढी खर्च गर्ने देश बनाएको छ ।

सन् २०१३ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सुरु गरेपछि चीनको सहायता खर्चमा उल्लेखनीय वृद्धि भयो । यो राष्ट्रपति सी जिनपिङको एक प्रमुख विदेश नीति योजना हो, जसको उद्देश्य पूर्वाधार र विकास परियोजनाहरूमा लगानी गरेर चीनलाई अन्य देशहरूसँग जोड्नु हो ।

२०१८ मा चीनले आधिकारिक रूपमा चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) सिर्जना गरेर आफ्नो सहायता प्रयासलाई सुरु ग¥यो । यो अमेरिकाको यूएसएआईडीको चिनियाँ संस्करण हो, जसले विदेशी सहायता व्यवस्थापन गर्न मद्दत गर्दछ ।

यद्यपि, चीनको सहायता मोडेल अमेरिकाको भन्दा धेरै फरक छ । एडडाटाका अनुसार २०१२ देखि २०२१ सम्म अमेरिकी सहायताको लगभग ८० प्रतिशत अनुदानको रूपमा दिइएको थियो, जसको अर्थ सम्बन्धित देशहरूले यसलाई फिर्ता गर्नुपरेन ।

अर्काेतर्फ चीनको सहयोगको केवल ३ प्रतिशत अनुदानको रूपमा थियो । चीनले प्रायः ऋण वा ‘एक्सपोर्ट’ ऋण दिन्छ, जसका कारण चीन विकासशील देशहरूका लागि सबैभन्दा ठुलो ऋणदाता बनेको छ ।

अमेरिकाले स्वास्थ्य र मानवीय राहतमा धेरै ध्यान केन्द्रित गरेको छ भने यसको विपरीत चीनले ठुला स्तरका पूर्वाधार, ऊर्जा र खानी परियोजनाहरूमा लगानीलाई प्राथमिकता दिएको छ ।

बीआरआई यस दृष्टिकोणको एक उत्कृष्ट उदाहरण हो, जसले सिधै पैसा दिनुको सट्टा पूर्वाधार विकासमा लगानी गरेर देशहरूको अर्थतन्त्र बढाउन मद्दत गर्छ ।

चीनले यस दृष्टिकोणलाई ग्लोबल साउथलाई दिने सहयोग भन्दै आएको छ, जसको उद्देश्य त्यहाँका देशहरूबिच स्रोत र ज्ञान बाँडफाँट गर्नु हो । चीनले आफ्नो सहायता मोडलमा आफूलाई पश्चिमा देशहरूबाट अलग राख्ने गरेको छ र पश्चिमा देशमाथि अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सहायतालाई प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।

यद्यपि, आलोचकहरू चीनको सहायताले प्रायः मानव अधिकारका मुद्दाहरूलाई बेवास्ता गर्ने आरोप लगाउँछन् । जबकि अमेरिकाले कुनै देशलाई सहयोग गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा देशको मानव अधिकार रेकर्डलाई महत्त्वपूर्ण कारकको रूपमा लिन्छ । उदाहरणका लागि युक्रेनमा आक्रमण गरेकोमा रुसले पश्चिमा प्रतिबन्ध खेपिरहेको छ, तर विकासका लागि उसले अझै पनि चीनबाट धेरै पैसा पाउँछ ।

त्यसैगरी, श्रीलंकाको हिंसात्मक गृहयुद्धको समयमा संयुक्त राज्य अमेरिकाले सहायता बन्द गर्दा चीनले त्यहाँ लगानी गर्न जारी राख्यो ।

अमेरिकाको ठाउँ लिन चीन तयार छ ?

धेरै विज्ञहरू चीनले यूएसआईडीको भूमिकालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्षम नहुने विश्वास गर्छन् । ‘चीनले उही विधिहरू प्रयोग गरेर पश्चिमी देशलाई प्रतिस्थापन गर्न सक्षम हुने छैन,’ एडडाटाकी नीति विश्लेषण निर्देशक सामन्था कस्टरले भनिन्, ‘यस विषयमा चिनियाँ र पश्चिमी सरकारहरूको विचार र दृष्टिकोण धेरै फरक छ ।’

यसका अतिरिक्त खाद्यवस्तु एउटा ठुलो चुनौती हो । संयुक्त राज्य अमेरिकाले सहायता पु‍¥याउनका लागि एक विशाल सञ्जाल निर्माण गर्न दशकौँ बितायो । विश्वभरका गैरसरकारी संस्था, सरकार र स्थानीय समुदायसँग काम ग¥यो ।

चीनमा यो पूर्वाधारको अभाव छ । ‘यो सञ्जाल निर्माण गर्न वर्षाैं वा दशक लाग्छ,’ स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका डा. जिंगडोङ युआनले भने ।

अर्काे चुनौती भनेको पैसा हो । २०१६ मा चीनले आफ्नो बलियो अर्थतन्त्रका कारण सहायतामा ठुलो मात्रामा खर्च ग¥यो, जुन १२५ अर्ब डलर पुग्यो । यद्यपि, त्यसबेलादेखि चीनको सहायता खर्च घटेको छ र २०२१ मा २००८ को स्तरमा फर्किएको छ । आंशिक रूपमा यसको कारण भनेको चीनको अर्थतन्त्रमा आएको मन्दी हो ।

घरेलु आर्थिक संकटका कारण चीनका धेरै मानिस कठिन समयबाट गुज्रिरहेको बेला उसले अन्य देशलाई किन बढी आर्थिक सहायता गर्नुपर्छ भनेर आफ्ना जनतालाई बुझाउन कठिन हुन सक्छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकी प्राध्यापक डेबोरा ब्राटिगमका अनुसार अहिले यस किसिमको खर्चका लागि कुनै घरेलु दबाब छैन । विश्वव्यापी सहायतामा चीन र अमेरिकाको संलग्नता त्यति सजिलो अवस्था होइन, जहाँ एउटा पछाडि हट्दा अर्काेले तुरुन्तै आफ्नो समर्थन बढाओस् ।

हालैका घटनाले चीनले निकट भविष्यमा आफ्नो मानवीय सहयोग धेरै बढाउने छैन भन्ने देखाउँछ ।

सन् २०२३ मा यूएसएआईडीले भ्रष्टाचारको चिन्ताका कारण इथियोपियालाई खाद्य सहायता प्रदान गर्न बन्द गर्दा चीनले आफ्नो खाद्य सहायता बढाएन । यद्यपि पूर्वाधार परियोजनाहरू मार्फत इथियोपियासँग चीनको बलियो सम्बन्ध छ ।

‘चीनसँग कदम उठाउने धेरै अवसर छन्,’ लेइडेन विश्वविद्यालयका सहप्राध्यापक साल्भाडोर सान्टिनो रिगिलले भने, ‘तर धेरैजसो कुरामात्र हुन्छ । जब परियोजना कार्यान्वयनको कुरा आउँछ, चीनले वास्तवमा कहिल्यै कुनै ठुलो कदम चालेको छैन ।’

चीनको रणनीति के हो ?

युएसएआईडीले छोडेको मानवीय सहायताको शून्यता चीनले भर्न नसके पनि दीर्घकालीन रणनीतिमार्फत यसले विश्वभर आफ्नो प्रभाव लगातार बढाउँदै लगेको छ ।

युएसएआईडीले चीनको बढ्दो प्रभावलाई पहिचान गरेको थियो र चीनको प्रभाव प्रतिरोध गर्न एक विशेष टोली गठन गरेको थियो । चीनका लागि युएसएआईडीका पूर्ववरिष्ठ सल्लाहकार फ्रान्सिस्को बेन्कोस्मेले सहायता कटौती गर्दा दीर्घकालीन प्रभाव पर्ने चेतावनी दिए । चीनले नेपाल र कम्बोडिया जस्ता यूएसएआईडीका साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न सुरु गरिसकेको उनको भनाइ थियो । उनले भने, ‘यो बत्तीको स्विच होइन, जसलाई तपाईं खोल्न र बन्द गर्न सक्नुहुन्छ ।’

उनको चिन्ता अमेरिकाभरि महसुस भइरहेको छ । विज्ञहरूका अनुसार विश्वभरका धेरै मानिस जुन महत्त्वपूर्ण सहायतामा निर्भर थिए, अचानक भएको निलम्बनले चीनलाई फाइदा भइरहेको छ ।

अमेरिकाको पछिल्लो कदमले चीनलाई आफू कुनै साझेदारमात्र नभई विश्वको मनपर्ने साझेदार हो भन्ने आफ्नो भनाइ अझ मजबुत बनाउने अवसर दिन्छ ।

‘चीनले पहिले नै केही नगरी यसको फाइदा उठाइसकेको छ,’ एडडेटाकी सामन्था कुस्टरले भनिन्, ‘केही नगरी चीन सकारात्मक छवि निर्माण गर्न सक्षम भएको छ, जसको निर्माण अमेरिकाको विश्वसनीयतामाथि प्रश्न उठाएर भएको हो ।’

विगत २० वर्षमा पूर्वाधार निर्माणमा चीनको ठुलो लगानीले ग्लोबल साउथका धेरै देशको मन जितेको छ । चीनले आफूलाई यस्तो साथीका रूपमा चित्रण गरेको छ, जो कुनै पनि मित्र राष्ट्रको फैसलामा हस्तक्षेप गर्दैन । यसबाट चीनले धेरै देशहरूलाई आफ्नो विकास मोडेल सफलतापूर्वक बेचेको छ ।

चीनले अफ्रिकामा रंगशालाहरू र ल्याटिन अमेरिकाका प्रमुख बन्दरगाह द्रुत गतिमा निर्माण गरेर प्रमुख विकास परियोजनाहरूका लागि आफूलाई एक महत्तवपूर्ण साझेदारको रूपमा स्थापित गर्न खोजेको छ ।

चीनले विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्न एउटा महत्त्वपूर्ण सर्त राख्छ, जसअनुासर ‘एक चीन’ नीतिलाई समर्थन गर्नुपर्छ । जसको अर्थ हो– ताइवानमाथि चीनको दाबीलाई मान्यता दिनु ।

हालै गरिएको एक सर्वेक्षण अनुसार ७० देशले चीनको यो नीतिलाई समर्थन गरेका छन् । यीमध्ये धेरैजसो देश ग्लोबल साउथमा पर्छन् ।

विज्ञहरूका अनुसार चीनको आर्थिक सहयोगले यी देशहरूको गठबन्धन परिवर्तन गर्न भूमिका खेलेको छ, जसले गर्दा उनीहरूले आफ्नो समर्थन ताइवानबाट हटाएर चीनतिर सारेका छन् ।

प्रोफेसर ब्रटिगमले भने, ‘चिनियाँ नेताहरूले लामो समयदेखि चाहेको बहुध्रुवीय संसार अब वास्तविकता बन्दैछ र ट्रम्प प्रशासनले यो प्रक्रियालाई अझ तीव्र बनाइरहेको छ ।’

यूएसएआईडी निलम्बनपछि विश्वको अग्रणी सहायता राष्ट्रको रूपमा संयुक्त राज्य अमेरिकालाई प्रतिस्थापन गर्ने प्रयासका लागि गम्भीरतापूर्वक विचार गर्न चीनलाई धेरै वर्ष लाग्न सक्छ । यद्यपि, चीनको स्थिर र दीर्घकालीन रणनीतिले यसलाई केही फाइदा लिन मद्दत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप