युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक

रुस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ।
युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीको एक प्रश्नको जवाफमा भने, “यो दृष्टिकोण सामान्यतया सकारात्मक छ ।”
अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीबाट प्राप्त पत्रलाई ठूलो स्वरमा पढेर सुनाएका थिए जसमा युक्रेनी नेताले आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । क्रेमलिनले जेलेन्स्कीसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा पटक–पटक शङ्का व्यक्त गर्दै आएको छ ।
बुधबार पेस्कोभले जेलेन्स्कीले जारी गरेको आदेशको हवाला दिँदै पुटिनसँग प्रत्यक्ष वार्ता गर्न नमिल्ने बताएका थिए । युक्रेनी नेताले धेरै पटक पुटिनलाई भेट्न आफू इच्छुक रहेको बताउँदै आएका छन् । यद्यपि, किएभ र उसका पश्चिमी सहयोगीहरूले वार्ताको साझा अडानमा सहमति जनाएपछि मात्र यो सम्भव हुने बताएका छन् ।
मस्कोले सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेन्स्कीको पाँच वर्षे कार्यकाल समाप्त भएको भन्दै वार्ताका लागि वैध नेता नभएको आरोप लगाएको छ । युक्रेनको सैनिक कानुनअनुसार युद्धकालमा चुनावमाथि प्रतिबन्ध लगाइएको छ ।
जेलेन्स्कीका प्रमुख युरोपेली समर्थकहरूले रुसको पूर्ण आक्रमणका बीच मतदान स्थगनको समर्थन गरेका छन् । यद्यपि, ट्रम्पले युक्रेनी नेता स्वदेशमा व्यापक रूपमा अलोकप्रिय भएको झूटो दाबी गरेका छन् र उनलाई चुनाव गराउन आह्वान गरेका छन् ।
गत शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय (ओभल अफिस) मा जेलेन्स्कीसँग भएको चर्काचर्कीपछि ट्रम्पले किएभलाई अमेरिकी सैन्य सहायता रोक्ने घोषणा गरेका थिए । ट्रम्पले युक्रेनलाई मस्कोको पक्षमा रहेको शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न खोजेको हो कि भन्दै किएभ र युरोपभरि नै आशङ्का व्यक्त गरिएको छ ।
यसैबीच रुसी सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को एउटा सानो गाउँ कब्जामा लिएको मस्कोस्थित रक्षा मन्त्रालयले जनाएको छ ।अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु) को तथ्याङ्कअनुसार रुसले धेरै जमिन कब्जा गरे पनि फेब्रुअरीमा रुसको प्रगतिको गति सुस्त भएको छ ।
- युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव
बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गरेका छन् ।
“(अमेरिकी राष्ट्रपति डोनाल्ड) ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राखेका थिए ।
लुकासेन्को पुटिनका निकट सहयोगी छन् र उनको देश युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको र विपक्षीहरू विरुद्धको सरकारी कारबाहीलाई लिएर अमेरिका र युरोपीय सङ्घ (इयु) को प्रतिबन्धमा छ । रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो ।
तर ७० वर्षीय राष्ट्रपतिले भने, “यदि तपाईं सहमति गर्न चाहनुहुन्छ भने हामी बस्नेछौँ र शान्त रूपमा सहमति गर्नेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड
-
कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण
-
फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता