बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा

ओली सरकारका कारण मुलुक गम्भीर संकटतर्फ गएको निष्कर्ष
बुधबार, २१ फागुन २०८१, २३ : १९
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले मुलुकको राजनीतिक अवस्था गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । बुधबार बिहान र दिउँसो बसेको पदाधिकारी बैठकले देशभित्र र बाहिर प्रतिक्रियावादी तथा प्रतिगामी शक्तिहरूले प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र गरेको निष्कर्ष निकालेको हो ।

बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा माओवादीले सुरु गरेको हुलाकी मार्ग केन्द्रित जागरण अभियान, सरकारले नियमित संसद् छलेर अध्यादेश पेस गरेको, प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रविरुद्ध वक्तव्यबाजी गरेको, त्यसकै आडमा राजावादीहरूले सडकमा टाउको उठाउन खोजेको विषयमा छलफल भएको महासचिव देव गुरुङले रातोपाटीलाई बताए । गुरुङका अनुसार सदनमा विपक्षी दलहरूसँग मिलेर सशक्त प्रतिवाद गर्ने र सडकको मोर्चालाई थप प्रभाकारी बनाउने निर्णय भएको छ ।

‘देशी विदेशी प्रतिक्रियावादी शक्ति तथा प्रतिगामी शक्तिले अहिलेको व्यवस्थालाई उल्ट्याउन षड्यन्त्र गरिरहेका छन् । केपी ओली नेतृत्वको गठबन्धन सरकार संसद्को नियमित प्रक्रिया मिचेर अध्यक्षबाट शासन गर्न खोजिरहेको छ । ओली सरकारको गैर जिम्मेवार प्रवृत्तिका कारण मुलुकमा राजनीतिक संकट बढ्दै गइरहेको छ । माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सदन र सडकको मोर्चा प्रभावकारी बनाउने निर्णय भएको छ । अलोकतान्त्रिक गठबन्धन सरकारविरुद्ध देशभक्त, प्रगतिशील वामपन्थी शक्तिसँग मिलेर प्रतिवाद गर्छौँ,’ गुरुङले भने ।

बैठकले माओवादीको जागरण अभियान उत्साहपूर्ण र प्रभावकारी रहेको निष्कर्ष निकालेको उनले बताए  । पार्टीको स-साना आन्तरिक विषय मिलाउनु पर्ने भएकाले दुई दिन अभियान स्थगित गरेको र भोलिदेखी जारी राख्ने गुरुङले जानकारी दिए । यस्तै माओवादी सुदूरपश्चिम संसदीय दलसम्बन्धी विवादबारे छलफल नभएको उनले दाबी गरे । 

खुमलटारमा बिहान एक घण्टा बैठक बसेको थियो । सदनको कामलाई थप प्रभावकारी बनाउन विपक्षी दलहरूसँग छलफल गर्न भन्दै बैठक दिउँसो ३ बजे पुन: बसेको थियो ।

  पेरिसडाँडामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवबिच छलफल भएको गुरुङले जिकिर गरे । उनले अमेरिका र युक्रेन द्वन्द्व, मध्यपूर्वमा देखिएको संघर्ष, ओली सरकारको छिमेकी मुलुकसँग चिसिँदै गएको सम्बन्ध लगायत समसामयिक विषयमा पार्टीले गम्भीर समीक्षा गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप