बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश सभा

संसदीय समितिको प्रभावकारितामाथि मुख्यमन्त्री र सत्तारुढ दलकै नेताले उठाए प्रश्न

सरकारले मनपरी गरिरहेको प्रतिपक्षको आरोप
बुधबार, २१ फागुन २०८१, १९ : १९
बुधबार, २१ फागुन २०८१

सुर्खेत । बुधबार बसेको कर्णाली प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेल र सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसदीय समितिको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।

समितिले पूर्णता पाए पनि विधेयकहरूमाथि छलफल गर्ने, टुङ्गो लगाउने कुरामा असक्षम बनेको उनीहरूको भनाइ छ ।

मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा बैठकलाई प्रभावकारी बनाउने कुरामा सरकारको ध्यान गएको बताए । यद्यपि प्रदेश सभाका संसदीय समितिको कामप्रति असन्तुष्ट जनाउँदै उनले केही समितिले दिनदिनै बैठक बसेर छलफल गर्ने तर केहीले कुनै काम नगर्ने प्रवृत्ति देखिएको बताए ।

लामो समयदेखि विभिन्न विधेयकहरू समितिमा अड्केर बसेका छन् । ती विधेयकलाई प्रभावकारी रूपमा छलफल गरेर नीति निर्माणमा योगदान दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उनले अगाडि भने, ‘प्रदेशलाई सफल बनाउन सबैको भूमिका उत्तिकै हुन्छ । अपेक्षित परिणाम नआए पनि निराश हुने अवस्था छैन ।’

सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाहीले त सभामुख नन्दा गुरुङको कार्यक्षमतामाथि नै प्रश्न उठाए । उनले भने, ‘सभामुखले समितिहरूलाई हस्तक्षेप गर्नुहोस् । समितिको कामै भएन ।’

समितिहरूमा थुप्रै विधेयक विचाराधीन रहेको बताउँदै शाहीले लगातार संसद् बैठक चलाउन सभामुखलाई आग्रह गरे । उनले भने, ‘यसो हेर्दा महिनाभरि नै सदन नचल्ला जस्तो देखियो । विधेयक कता गए–गए ? समिति बने पनि काम हुँदैन । पहिला समिति नहुँदा काम भएन भनियो । आफैँलाई आफैँले गिज्याएजस्तो लाग्न थाल्यो ।’

शाहीले प्रदेश सभाको पहिलो कार्यकालमा अगाडि बढाएका विधेयक अहिलेसम्म अगाडि बढ्दैनन् भने कसलाई दोष दिने हो भनेर प्रश्न उठाए । उनले भने, ‘सभामुख, सांसद सचेत हुन आवश्यक छ । हिउँदको समयमा एउटा पनि विधेयक पास हुने अवस्था छैन ।’

सदन नचल्ले बित्तिकै समिति पनि नचल्ने अवस्था देखिएको उनको भनाइ थियो ।

प्रतिपक्ष नेताले दिए सरकारलाई चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले सरकारको काम–कारबाहीमाथि प्रश्न उठाए ।

मुख्यमन्त्री र मन्त्रीहरूले कर्मचारीलाई धम्क्याइरहेको आरोप लगाउँदै शर्माले ढोका बन्द गरेर बिरालो लखेट्ने काम नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिए ।

उनले प्रश्न गरे, ‘नमुना विद्यालयको विषय बिचमा किन तोडमोड गरियो ? हाम्रा आवाज त सरकारले सुन्दैन, अनि जनताका आवाज सुन्छ ?’

सरकारले अगाडि बढाएका निर्णयहरू भताभुङ्ग पारेको र सरकारमा छु भन्दैमा जे मन लाग्यो त्यही गरिरहेको शर्माको भनाइ थियो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे उनले भने, ‘रंगशाला मर्निङवाक गर्न बनाएको हो ? किन बेलामा भएन राष्ट्रिय खेलकुद ? गर्मी खुवाउन हो ? समयको छनोट ठिक तरिकाले गर्नु पर्छ कि पर्दैन ?’

उनले सरकार जनताप्रति जिम्मेवार नदेखिएको आरोपसमेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप