बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

नेमकिपामा पाँच दशकदेखि बिजुक्छेकै रजगज

बुधबार, २१ फागुन २०८१, २० : ००
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित)ले नै निरन्तरता पाएका छन् । फागुन २० गते सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले बिजुक्छेलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

नेमकिपाले बिजुक्छेकै नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । पार्टीको सचिवमा संघीय सांसदसमेत रहेका प्रेम सुवाल निर्वाचित भएका छन् ।

महाधिवेशनले अध्यक्षसहित सबै समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको बिजुक्छेले बताए । ‘अध्यक्षसहित सिङ्गो केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन भएको छ । पहिलेभन्दा साथीहरू गम्भीर देखिएका छन् । यसबाट म के अनुमान लगाउन सक्छु भने देश र जनताका लागि साथीहरू अझै सक्रियतापूर्वक लाग्नेछन्’, उनले भने ।

देशका ४० जिल्लाबाट करिब ३५० जना प्रतिनिधि सहभागी महाधिवेशनको निर्णयबाट बिजुक्छे निकै उत्साहित देखिएका छन् । उनले निष्क्रिय रहेको प्रदेशमा सक्रियतापूर्वक सहभागी भई राजनीतिक ढंगले जनतालाई सचेत गराउने प्रतिबद्धता जनाए ।

१९९६ साल फागुन २६ गते भक्तपुरको सुकुलढोका–५ (हाल भक्तपुर नगरपालिका–५) मा जन्मिएका बिजुक्छे विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा बिजुक्छे नेकपाको केन्द्रीय सदस्य बने । तत्कालीन परिवेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा पुष्पलालसँग सैद्धान्तिक र वैचारिक मतभेद भएपछि २०३१ माघ १० गते पार्टीबाट अलग भई आफ्नै नेतृत्वमा उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठन गरेका थिए ।

पार्टी स्थापनापश्चात् ५० वर्षसम्म उनी अविच्छिन्न रूपमा अध्यक्ष रहँदै आएका छन् । बिजुक्छेलाई भक्तपुरबाट बाहिर राजनीतिक प्रभाव बढाउन नसकेका सदाबहार अध्यक्षका रूपमा राजनीतिक वृत्तमा कतिपयले चर्चा गर्दै आएका छन् । त्यो आलोचनाको जवाफ दिँदै उनले सबै जिल्लामा जनताको सेवा गर्न नेता–कार्यकर्तालाई पठाउने प्रतिबद्धता जनाए ।

‘सबै नेता तथा कार्यकर्ता भक्तपुरमा मात्र थुपारेको हामीमाथि आरोप छ । भक्तपुरमात्र बनेर के गर्नुहुन्छ ? देश बन्नु पर्दैन ? भनेर पनि आलोचना भइरहेको छ’, उनले भने, ‘आलोचना स्वाभाविक छ । यसैलाई ध्यान दिएर हामीले जनताको सेवा गर्न जिल्ला जिल्लामा प्रतिनिधि पठाएका छौँ । भक्तपुरबाट बाहिर गएका शिक्षक, डाक्टर लगायत विभिन्न प्रतिनिधिले राम्रो काम गरेको रिपोर्ट आएको छ ।’

देशको अवस्था नाजुक हुनुमा राजनीतिक दलका नेताहरू नै दोषी रहेको बिजुक्छेको निष्कर्ष छ । आफूले २५ वर्ष संसद्मा बसेर हेर्दा विरक्त लागेको उनले बताए ।

‘नेताहरू भ्रष्टाचार गरी पैसा कमाउन थाले । सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्नु भनेको खाली कमाउनु र आसेपासेलाई पोस्नु मात्र ठानेका छन् । देश र जनतालाई सोच्ने नेता नै भएन । हाम्रा नेता तथा कार्यकर्तालाई भनेको छु– जतिसम्म सक्छ, असल काम गर्नु । देश र जनता सेवामा काम गर्नु ।’ आफ्नो स्वास्थ्यले जतिसम्म धान्छ, त्यतिसम्म जनताको सेवामा लाग्ने उनले प्रस्ट पारे ।

२०४८ देखि २०७० को निर्वाचनसम्म लगातार प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनले २०७४ र २०७९ को निर्वाचनमा भाग लिएनन् । पार्टीको निर्णय अनुसार नै बिजुक्छेले निर्वाचनमा भाग नलिएको सचिव सुवाल बताउँछन् ।

बिजुक्छेको निर्वाचन क्षेत्र भक्तपुर–१ बाट सुवालले निर्वाचन जित्दै आएका छन् । राष्ट्रिय राजनीतिको आवश्यकता अनुसार नै बिजुक्छेलाई सर्वसम्मत निर्णयका आधारमा अध्यक्ष चुनिएको सुवालले स्पष्ट पारे ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति निकै गम्भीर हुँदै गएको छ । राजनीतिक दलका नेताहरू भ्रष्टाचार गर्ने, कमिसन खाने, प्रतिक्रियावादी शक्तिहरू गुलाम बन्दै गए । देश र जनताप्रति उहाँ (बिजुक्छे)को निष्ठा, त्याग, समर्पणका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेरेर नै अध्यक्षमा दोहोर्‍याएको हो’, सुवालले भने ।

फागुन २६ गतेदेखि ८४ वर्ष पूरा गरी ८५ वर्षमा प्रवेश गर्न लागेका बिजुक्छे २०१४ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय छन् । मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गनिर्देशक सिद्धान्त मानेका उनले भक्तपुरको विकासलाई नेपालको मौलिकता र कम्युनिस्ट ढाँचाको विकास मोडेल भनेर चिनाउने गरेका छन् ।

नेमकिपासँग थोरै नेता तथा कार्यकर्ता भएकाले भक्तपुरजस्तो अन्य जिल्ला बनाउन नसकिएको बिजुक्छेले बताए ।

भक्तपुरको पद्म माध्यामिक र शारदा रात्रि माध्यमिक विद्यालयमा शिक्षा आर्जन गरेका बिजुक्छेले मानविकी सङ्काय (राजनीतिशास्त्र र अर्थशास्त्र)मा स्नातक उत्तीर्ण गरेका छन् । रामेछापकी शोभा प्रधानसँग २०४० सालमा विवाह गरेका उनका दुई छोरा– सुवेग र सुवान छन् ।

  • पुष्पलालसँग मतभेद, नेमकिपा स्थापना

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा सैद्धान्तिक र वैचारिक मतभेदका कारण नेपाली कम्युनिस्ट राजनीतिमा सही दिशा निर्देश गर्न पार्टी स्थापना भएको नेमकिपाको दस्ताबेजमा उल्लेख छ । अन्तर्राष्ट्रिय मुद्दाहरूमा रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको नस्वीकार्नु, बंगलादेशको सवालमा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारमा पूर्वी पाकिस्तानमा आफ्नो सेना पठाउनु, पाकिस्तानबाट बंगलादेश टुक्र्याउनुलाई बंगलादेशको मुक्ति आन्दोलन र स्वाधीनताको लडाइँ भन्नु, सिक्किमलाई भारतमा विलय गर्दा विरोध नगर्नु, भियतनाम, हिन्द चीनमा अमेरिकी साम्राज्यवाद विरोधी संघर्षमा उदासिनता देखाउनु पार्टी स्थापनाको आधार भएको नेमकिपाको जिकिर छ ।

राष्ट्रिय सवालमा नेपाली कांग्रेससँग सम्बन्ध बिग्रने नाममा सामन्त र जमिनदारको हितमा मजदुर तथा किसानको विरोध, मजदुर किसान आन्दोलनलाई प्राथमिकता दिनुभन्दा प्रमुख दुस्मन राजा र भारतीय विस्तारवाद हो भनेर छलफल चलेकाले नेमकिपा स्थापनाको आधार बनेको दस्ताबेजमा उल्लेख छ ।

  • राजनीतिक संघर्ष

बिजुक्छे २०१५ सालताका मार्क्सवादी अध्ययनसर्कलमा संलग्न रही २०१६–१७ मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भए । २०१६ सालमा प्रतिकूल स्वास्थ्यस्थितिका कारण झण्डै १ वर्ष उनी उपचारार्थ चीनमा रहे । २०२१–२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रम अन्तर्गत मोहीहरूले पाउनुपर्ने मोहीयानी हक दिलाउन उनी सक्रियतापूर्वक लागे ।

पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत रहँदै उनले झन्डै १० वर्ष भूमिगत जीवन बिताए । २०३६ सालको जनमतसंग्रह पश्चात् नेपालमा आएर सक्रिय राजनीति जारी राखेका उनले भारतमा भूमिगत जीवन बिताउँदा प्रवासी नेपाली विद्यार्थीहरू मार्फत तत्कालीन कर्णाली अञ्चलमा बलियो सङ्गठन बनाएका थिए ।

उनकै नेतृत्वमा २०१७ देखि २०३१सम्म निरन्तर मजदुर किसानको मोहियानी हक सुरक्षित गर्न संघर्ष भएको थियो । २०२२ देखि २०२४ सम्म बाली बुझाउँदा भरपाइ लिने संघर्ष, २०२५ देखि २०२७ सम्म बाली काट्ने आन्दोलन, २०१९ देखि २०३५ सम्म साँढे धपाउने आन्दोलन, २०२५ र २०२६ मा नवदुर्गा संस्थाको भ्रष्टाचारविरुद्ध आन्दोलन, सुस्ता रक्षा आन्दोलन उनकै नेतृत्वमा भएको थियो ।

२०४५ सालमा पञ्चायती सरकारले ह्योजू काण्डमा बिजुक्छे लगायत नेपाल नेमकिपाका ६५ जना नेता–कार्यकर्ताहरूमाथि फाँसीको सजाय माग गर्दै ज्यान–मुद्दा चलाएको थियो । २०४६ सालमा बहुदलीय व्यवस्थाको बहाली पश्चात् सो मुद्दा खारेज भएको थियो । भक्तपुर सहरलाई सफा, पर्यटकीय बनाउन नेमकिपाको महत्त्वपूर्ण योगदान छ । ख्वपः कलेजको निर्माण, सञ्चालन, ऐतिहासिक सांस्कृतिक सहरको विकास लगायत कामले भक्तपुरमा नेमकिपाको पकड रहँदै आएको छ ।

  • संगठन भक्तपुरमा मात्रै सीमित

प्रतिक्रियावादी शक्तिलाई ध्वस्त पार्न उनीहरूकै संस्थामा घुस्नुपर्ने लेनिनवादी नीति अनुसार नेमकिपाले २०३८ र २०४३ सालमा पञ्चायतले गराएको निर्वाचनमा भाग लिएको थियो । भक्तपुरको ह्योजू काण्डपछि नेपाली कांग्रेस र संयुक्त वाममोर्चा मिलेर निरंकुश पञ्चायतविरुद्ध आन्दोलन भयो । बहुदलीय व्यवस्था स्थापनापश्चात् भक्तपुर लगायत कर्णालीका केही क्षेत्रमा संगठन बलियो बनाएको नेमकिपा २०५६ को निर्वाचन पश्चात् भक्तपुरमा सीमित भएको देखिन्छ ।

२०४८ को निर्वाचनमा नेमकिपाले प्रतिनिधिसभामा २ सिट जितेको थियो । त्यतिबेला देशभरबाट यो पार्टीले जम्मा ९८ हजार ३३५ मत प्राप्त गरेको थियो । २०५१ को मध्यावधिमा नेपाकिपाले ४ सिट जित्दा कुल मत ७५ हजार ७२ मत प्राप्त गर्‍यो ।

२०५६ को निर्वाचनमा नेमकिपा भक्तपुर–१ मामात्र विजयी भयो । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक २, प्रत्यक्ष २ र मनोनीत एक गरी पाँच सिट जितेको नेमकिपाले कुल ७४ हजार ७९ मत प्राप्त गरेको देखिन्छ । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक २, प्रत्यक्ष २ गरी जम्मा ४ सिट नेमकिपाले जित्यो ।

नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको संसदीय निर्वाचनमा भक्तपुर–१ मा मात्र निर्वाचन जित्न सफल भएको नेमकिपा २०७९ को निर्वाचनमा पनि भक्तपुर– १ बाहेक अन्य क्षेत्रमा जित निकाल्न सफल भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप