पूर्वआप्रवासीहरूको प्रदेशस्तरीय भेला हुने

झापा । नेपाली कांग्रेसनिकट पूर्वआप्रवासी विभागले फागुन २४ र २५ गते झापामा कोशी प्रदेशस्तरीय बृहत् भेला तथा अन्तरक्रिया गर्ने भएको छ ।
विभिन्न मुलुकमा गएर नेपाल फर्किएका लोकतन्त्रमा आस्था र विश्वास राख्ने समर्थक, शुभेच्छुकहरूलाई समेट्ने अभियान स्वरूप उक्त वृहत् भेला गर्न लागेको हो । झापाको बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा हुने भेलालाई कांग्रेस नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमको तयारी धमाधम भइरहेको विभागका कोशी प्रदेश संयोजक विज्ञान प्रसाईँले जानकारी दिए ।
विदेशदेखि स्वदेश सम्म विषयक दुई दिने कार्यशालामा झापासहित कोशी प्रदेशका १४ वटै जिल्लाहरूबाट सयौँको संख्यामा सहभागी हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलको भनाई छ ।
कार्यक्रमको तयारीसँगै नेपाली कांग्रेस झापाले जिल्लास्थित सबै निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र पालिका समितिहरूलाई लक्षित सहभागीहरूसहित उपस्थित हुन सर्कुलर जारी गरेको छ ।