बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले मोरङको अधिवेशनमा शीत युद्ध

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको नाममा प्यानल

बुधबार, २१ फागुन २०८१, १८ : ४०
बुधबार, २१ फागुन २०८१

विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ अधिवेशनमा भइरहेको मतदानका क्रममा मतदाताले पाउने मतपत्र संस्थापन पक्षले जस्ताको तस्तै बाहिर ल्याएको भन्दै इतर पक्षले आक्रोश व्यक्त गरेको छ । 

‘मतदाताले पाउने मतपत्र जस्ताकोतस्तै बाहिर आउनु ज्यादै दुःखद र गम्भीर विषय हो । निर्वाचनसम्बन्धी यसको मर्यादा, पारदर्शिता र सुशासनका दृष्टिकोणले नमुना मतपत्र यस्तो हुँदैन । यो सत्ताको चरम दुरुपयोग हो । हारको पराकाष्ठा हो । निन्दा, भर्त्सना आदि प्रकट गर्दै निर्धक्क मतदान गरौँ,’ इतर पक्षकी टिला शर्माले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मसानघाटमा पुर्‍याएको मुर्दा चिताबाट फोन गरेर आतंक फैलाउन खोजेको थियो । त्यतिले नसकेपछि भड्किएको मृतात्मा मसान बनेर आयो र मतपत्रमा आफ्नो मसाने कालो घस्न भ्याएछ । विश्वास नलागे यो मतपत्रमा हेर्नुहोस् ।’

उनले संस्थापन पक्षले बाँडेको मतदाताले पाउने मतपत्रको फोटो फेसबुकमा राख्दै यस्तो आक्रोश व्यक्त गरेकी हुन् । मतदान स्थलमा संस्थापन पक्षले आफू नै आधिकारिक भएको भन्दै अर्को पनि चिर्कटो बाँडेको पाइएको छ । जहाँ प्रत्येक उम्मेदवारको नाम पछाडि ‘संस्थापन पक्ष’ उल्लेख छ । 

इतर पक्षले बाँडेको पर्चामा भने आफ्नो पक्षको नामावली मात्रै उल्लेख छ । बिहान साढे ९ बजेदेखि सुरु भएको मतदान भने अझै सकिएको छैन । 

नयाँ नेतृत्वको लागि संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्तिकुमारी लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्की चुनावी मैदानमा छन् । 

यस्तै इतर पक्षबाट भने अध्यक्षमा अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष बान्तवा र उषा झा मैदानमा छन् । १६५ सदस्यीय जिल्ला समितिमध्ये ७१ जना जिल्ला सदस्य भने सर्वसम्मत भएका छन् । बाँकी ९४ पदमा १९१ जना चुनावी मैदानमा छन् । 

अधिवेशनमा अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीको नाममा समूह खडा गरिएको छ । ओझालाई एमाले उपाध्यक्ष गुरु बराल र स्थायी कमिटी सदस्य शेरधन राई, भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमाले नेता ऋषिकेश पोखरेललगायतले खुलेर सहयोग गरेका छन् । 

राईको प्यानललाई भने नेता विनोद ढकाल, केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा, नैनकला ओझालगायतले सहयोग गरेका छन् ।

481268688_3557746821025481_5584355768528860487_nWhatsApp Image 2025-03-05 at 6.02.44 PMWhatsApp Image 2025-03-05 at 6.02.44 PM (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप