बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाकाबाट हुने पोल्ट्रीजन्य पदार्थको अवैध तस्करी रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

बुधबार, २१ फागुन २०८१, १७ : ०१
बुधबार, २१ फागुन २०८१

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  मधेस प्रहरी कार्यालयका प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई बुधवार यस्तो निर्देशन दिएका हुन् । 

विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न दुवै निकायका प्रमुखलाई मुख्यमन्त्री सिंहले कडा निर्देशन दिएका हुन् ।

सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधवार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो । 

मुख्यमन्त्री निवासमा भेट गर्दै कुखुरापालक व्यवसायीहरूले देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षणका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग गरेका थिए। 

ती मागलाई तत्काल सम्बोधन गर्न मुख्यमत्री सिंहले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् । सुरक्षा निकायका प्रमुखलाई उनले भने- ‘अवैध आयात नियन्त्रण गर्न आयातित वस्तुको बिक्री वितरण निषेधमा जोड दिनुपर्छ, यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरका बारेमा पनि चेतना जागृत गर्नुपर्छ ।’

योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै उनले त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप