लाखौँ खर्चेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् ।
उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् । एकजना अधिकृतले रातोपाटीसँग भने, ‘हत्कडी र चेन खोलेर अमेरिकन प्रहरीले यहाँ जिम्मा लगाएर फर्केका छन् ।’
डिपोर्ट (निष्कासन) भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र चेन लगाएको बताएका छन् । डिपोर्ट हुनेमध्ये एकजना महिलाचाहिँ व्यावसायिक उडान मार्फत काठमाडौँ आइपुगेकी छन् । डोटी घर भएर अमेरिका गएकी बिनिता व्यावसायिक उडानमार्फत काठमाडौँ आएकी हुन् । काठमाडौँ आएपछि अध्यागमन अधिकृतहरुसँग उनले भनेकी छन्, ‘डिपोर्टको निर्णय भएपछि म स्वदेश फर्किन राजी भएको हुनाले मलाई चार्टर्ड विमानमा पठाइएन ।’ उनी टेक्ससबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन् ।
चार्टर्ड विमानबाट फर्काइएका ८ जनालाई चाहिँ टेक्ससबाट न्यूयोर्क र अल्वानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो । नेपाली सवार चार्टर्ड विमान इन्धन भर्न अल्वानियमा १ घण्टा रोकिएको डिपोर्ट भएकाहरूले बताएका छन् ।
डिपोर्ट हुनेहरूमा दाङका ३ जना, रुकुम पूर्वका २ जना, रुकुम पश्चिमका २ जना, रोल्पाका १ जना र डोटीका १ जना छन् । विमानस्थल अध्यागमनमा कार्यरत एकजना अधिकृतका अनुसार सुस्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोप , कमल र दीपक डिपोर्ट भएका हुन् ।
उनीहरू लाखौँ खर्चेर अमेरिका पुगेका थिए । तर, सिमानाको पर्खाल कटेको केही बेरमा नै पक्राउ परेर हिरासतमा पुगेको खुलेको छ । बुधबार फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए । फर्काएकाहरूलाई बबरमहल स्थित ब्यूरोको कार्यालयमा ल्याएर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । उनीहरू त्यहाँ ५ देखि ९ महिनासम्म डिटेन्समा बसेको एसपी कुवरले जानकारी दिए । उनले भने, ‘मानव बेचबिखन विरुद्धको कानुन अनुसार उहाँहरू पीडित भए नभएको बारेमा सोधपुछ र परामर्श गरिरहेका छौँ ।’
काठमाडौँबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुगेको कुँवरले बताए । उनले भने, ‘त्यहाँसम्म पुग्दा लाखौँ खर्च गरेको देखिन्छ ।’
कुँवरका अनुसार उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि १ करोडसम्म खर्च गरेका छन् । उनी भन्छन्, ‘कसैले ४० लाख, कसैले ६५ लाख पनि खर्च गरेको देखिन्छ ।’
ब्राजिलमा पुगेपछि बिचौलियाले भनेअनुसार उनीहरूले पासपोर्ट फ्याँकिदिए । त्यहाँबाट कोही विमानमा र केही सड्क मार्ग हुँदै मेक्सिको पुगेका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘ब्राजिलबाट शरणार्थी बनेर उनीहरू अमेरिका प्रवेश गरेको देखिन्छ ।’ फर्किनेहरू अधिकांश २० देखी ३५ वर्ष उमेर समूहका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले अवैध आप्रवासीहरूप्रति कडा नीति लिए । ठिक त्यसैबेला डिटेन्सनमा रहेका नेपालीलाई त्यहाँको अदालतले ‘डिपोर्ट’ गर्ने आदेश गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।
- भन्छन्, ‘कसैविरुद्ध उजुर गर्दैनौँ’
अमेरिकाबाट फर्काएकाहरूसँग ब्यूरोका अनुसन्धान अधिकृतहरूले त्यहाँ पठाउने समूहबारे सोधपुछ गरेका छन् । तर, उनीहरूले बिचौलियाबारे बताउन अस्वीकार गरेका छन् । उनीहरूले भनेका छन्, ‘कसैविरुद्ध पनि उजुर गर्दैनौँ ।’
केही दिनअघि अमेरिका हिँडेका युवक ११ महिनामा बिचबाटै फर्किएका थिए । ११ महिनामा उनी नाइजेरिया पुगेर फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा