बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी वरीयतामा च्याम्पियन्स ट्रफीको प्रभाव

एकैपटक १४३ स्थान माथि उक्लिए भारतका वरुण चक्रवर्ती, नेपाली खेलाडीलाई मिश्रित असर

बुधबार, २१ फागुन २०८१, १५ : ३६
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा केवल दुई खेल खेलेको भारतीय बलर वरुण चक्रवर्तीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा निकै ठुलो फड्को मारेका छन् ।

भारतका ३३ वर्षीय स्पिनर वरुण पछिल्लो आईसीसी एकदिवसीय बलिङ वरीयतामा एकैपटक एक सय ४३ स्थान माथि उक्लिएका हुन् । पछिल्लो वरीयतामा उनी ९६ औँ स्थानमा छन् । जारी च्याम्पियन्स ट्रफीमा उनले हालसम्म दुई खेलमात्र खेलेका छन् ।

च्याम्पियन्स ट्रफीको अघिल्लो दुई खेलमा उनले प्लेइङ–११ मा स्थान पाएका थिए । तर, समूहगत चरणको अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध उनी मैदानमा ओर्लिएका थिए । उक्त खेलमा उनी एक्लैले पाँच विकेट लिएका थिए । 

त्यसपछि अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा पनि उनले अवसर पाएका थिए । अस्ट्रेलियाविरुद्धको उक्त खेलमा वरुणले दुई विकेट हात पारेका थिए । च्याम्पियन्स ट्रफीको दुई खेलमै सात विकेट लिएपछि उनी आईसीसी वरीयतामा यति ठुलो फड्को मार्न सफल भएका हुन् । 

वरुणले हालसम्म भारतका लागि केवल तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै आठ विकेट लिएका छन् । उनले सन् २०२५ को फेब्रुअरी ९ तारिखमा घरेलु मैदानमा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । 

पछिल्लो एकदिवसीय बलिङ वरीयतामा पनि श्रीलंकाका महिस थिक्सना पहिलो स्थानमा छन् । यद्दपि, उनको टोली श्रीलंका जारी च्याम्पियन्स ट्रफीमा सहभागी छैन । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन् । उनी अघिल्लो वरीयताको तुलनामा दुई स्थान माथि उक्लिएका हुन् ।

तेस्रो स्थानमा न्युजिल्यान्डका म्याट हेनरी छन् । उनी विगतको तुलनामा तीन स्थान माथि उक्लिएका हुन् । नामिबियाका बेनार्ड स्कोल्ज चौथो स्थानमा छन् । उनको वरीयतामा कुनै परिवर्तन आएको छैन । अफगानिस्तानका रासिद खान तीन स्थान तल झरेर पाँचौँ वरीयतामा पुगेका छन् । 

भारतका कुलदीप यादव पनि तीन स्थान तल झरेर छैटौँ वरीयतामा पुगेका छन् । नेपाली बलरहरुको वरीयतामा भने खासै परिवर्तन आएको छैन । दीपेन्द्रसिंह ऐरी एक स्थान माथि उक्लिएर ८५औँ वरीयतामा पुगेका छन् ।

यसैगरी, पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पनि केही परिवर्तन देखिएको छ । भारतका शुभमन गिल पहिलो र पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा यथावत छन् । एक स्थान माथि उक्लिएका दक्षिण अफ्रिकाका हेनरिक क्लासेन तेस्रो वरीयतामा छन् ।

एक स्थान माथि उक्लिएका भारतका विराट कोहली चौथो वरीयतामा छन् । भारतीय कप्तान रोहित शर्मा भने दुई स्थान तल झरेर पाँचौँ वरीयतामा पुगेका छन् । ब्याटिङतर्फ नेपाली ब्याट्सम्यानहरु विगतको भन्दा पनि तल खस्किएका छन् । 

आसिफ शेख ८७ औँ स्थानमा यथावत छन् । तर, कुशल भुर्तेल दुई स्थान तल झरेर ९१औँ वरीयतामा पुगेका छन् । यसका अतिरिक्त, नेपाली टोलीका कप्तान रोहित पौडेल पनि दुई स्थान तल झरेर ९४ औँ वरीयतामा पुगेका छन् । 

पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा पनि निकै परिवर्तन देखिएको छ । अफागनस्तिानका अजमतुल्लाह ओमरजाई दुई स्थान माथि उक्लिएर पहिलो वरीयतामा पुगेका छन् । यसअघि पहिलो वरीयतामा रहेका अफगानिस्तानकै मोहम्मद नाबी दोस्रो स्थानमा झरेका छन् । 

जिम्बाबेका सिकन्दर राजा पनि एक स्थान तल झरेर तेस्रो वरीयतामा पुगेका छन् । अलराउन्डर वरीयतामा नेपाली खेलाडीहरु भने एक–एक स्थान माथि उक्लिएका छन् । एक–एक स्थान माथि उक्लिएका सोमपाल कामी ५७ औँ, दीपेन्द्रसिंह ऐरी ५८ औँ र सन्दीप लामिछाने ५९ औँ वरीयतामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप