सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३२ दललाई कारबाहीको तयारी

बुधबार, २१ फागुन २०८१, १५ : ०१
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरूमध्ये ८२ वटा दलले मात्रै समयमै लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । अन्य ३२ दलले अहिलेसम्म पनि प्रतिवेदन बुझाएका छैनन् । लेखा परीक्षण प्रतिवेदन समयमै नबुझाउने ती दलहरूलाई आयोगले कारबाहीको तयारी गरेको थालेको छ । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगकी प्रवक्ता निता पौडेल अर्यालले दलहरूले लेखा परीक्षण प्रतिवेदन समयमै बुझाउनुपर्नेमा ३२ ओटाले अहिलेसम्म नबुझाएको बताइन् । उनले भनिन्, ‘निर्वाचन आयोगले अडिट रिपोर्ट नबुझाउने दलहरूलाई जरिवाना गर्न कारबाहीको प्रक्रिया अघि बढाउँदैछौ । अहिलेसम्म काँग्रेस, एमाले, माओवादीसहितका ८९ दलले मात्रै विवरण बुझाएको देखिन्छ ।’ 

उनका अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरूले आयव्ययसहितको अडिट रिपोर्ट निर्वाचन बुझाएर सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय—व्यय विवरणअनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ । 

निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ । एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ । आयोगका अनुसार एमालेले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड बचत गरेको छ । यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरूबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ । 

त्यस्तै संसद्को दोस्रो ठुलो पार्टी नेपाली काँग्रेस भने आम्दानीका हिसाबले नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि कमजोर देखिएको छ । काँग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेस गरेको छ । उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ । खर्च ४ करोड देखाएको छ । काँग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो । चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थियो । त्यस्तै संसद्को तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ । माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ । माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ । 

 त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गरेको छ । रास्वपाको भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप