संसदमा कुलमानको चर्चा : बचाउमा विपक्षी सांसद, जवाफ दिन सभामुखको निर्देशन
_X7IXGOBipp.jpg)
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले षडयन्त्रपूर्वक हटाउन लागेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले विरोध गरेका छन् ।
बुधवारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए ।
त्यसपछि बोलेका पाण्डेले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्ने र दुःख दिनेमात्र नभएर कार्यसम्पादन मूल्याङ्कनमा समेत शून्य अङ्क दिएर के गर्न खोजेको हो भन्दै सदनमार्फत सरकारको जवाफ मागे । उनले सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह समेत गरे ।
‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अङ्क दिएको भनेको सुनिएको छ यो कुरा के हो ?’, पाण्डेले भने– ‘जसले राम्रो काम गरेको छ । निरन्तर विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ । यो कुरा के हो ?’
पाण्डेले प्राधिकरणलगायत सार्वजनिक संस्था घाटामा गइरहेको बेला घिसिङले प्राधिकरणलाई नाफामा लैजाँदै विद्युत् निर्यात समेत गर्न लागि रहेका बेला हटाउन लाग्नुले सरकार विचौलियको हितको पक्षमा लागेको त होइन भन्दै प्रश्न गरेका हुन् ।
त्यस्तै रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्राधिकरणलाई फाइदामा पुर्याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएको भन्दै असन्तुष्टि जनाए । ‘कुलमान घिसिङजस्तो प्राधिकरणलाई फाइदामा पुर्याउनेहरुलाई सरकारले मूल्याङ्कन जिरोमा गर्छ र विभिन्न बहनामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर उनलाई निष्कासनको बहाना र परिपन्चहरू सिर्जना गरिरहेको छ’, झाको भनाइ छ ।
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि कुलमानलाई हटाउन लागिएकोमा विरोध गर्दै ६ महिना कार्यकाल बाँकी रहँदै हटाए सदन र सडक आन्दोलन समेत गर्न पछि नपर्ने चेतावनी दिए । अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने र शून्य अङ्क दिने काम गरेर सरकारले षड्यन्त्र गरेको शाहीको आरोप छ ।
‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने, ‘नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ’, शाहीको भनाइ छ । त्यस्तै माओवादीका अर्का सांसद सूर्यमान तामाङ दोङले प्राधिकरणलाई नाफामा लैजाने कुलमानलाई हटाउन सरकारले गरेको हर्कतप्रति नेपाली जनताले चासो देखाए भने के हुनसक्छ ? भनेर प्रश्न गरे ।
‘विद्युत् प्राधिकरणलाई निरन्तर नाफामा लैजान मिहिनेत गर्ने कुलमानलाई सरकारले किन देख्न सकेन ?’, प्रश्न गर्दै दोङले भने, ‘सरकारले कुलमानलाई हटाउन गरेको जुन खालको हर्कत गरेको छ त्यसप्रति नेपाली जनताले चासो देखाए भने के हुनसक्छ ?’
विपक्षीको माग अनुसार सभामुख देवराज घिमिरेले विपक्षीहरूले उठाएको विषयबारे सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।
‘आजको बैठकमा सबै प्रतिपक्षहरूबाट राखिएको विषय तथा माननीय सदस्यहरूले आकस्मिक, शून्य समय र विशेष समयमा उठाउनुभएका विषयमा समेत प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ प्रति सम्बन्धित माननीय मन्त्रीहरूको म गम्भीर ध्यानाकर्षण गराउँदछु । साथै उठेका विषयहरूमा सभालाई जानकारी गराउन म निर्देश गर्दछु,’ सभामुख घिमिरेले निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड