मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
स्वास्थ्य बीमा

अर्थले निकासा गरेको ३ अर्ब अघिल्लो आर्थिक वर्षको बाँकी भुक्तानीमै खर्च

यो वर्ष मात्रै पौने ७ अर्ब भुक्तानी
बुधबार, २१ फागुन २०८१, १५ : ००
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । अर्थ मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई बुधबार ३ अर्ब रुपैयाँ प्रदान गर्ने निर्णय गर्‍यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निकासा गरेको ३ अर्ब ८४ करोड रुपैयाँ रकममध्ये ३ अर्ब रुपैयाँ स्वास्थ्य बीमाको बाँकी भुक्तानीका लागि खर्च हुने मन्त्रालयले जनाएको छ । 

केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा रहेको फेक क्लेमबारे अध्ययन नभई बिमाको नयाँ भुक्तानी गर्न नसक्ने बताएका थिए । मन्त्री पौडेलको भनाइबिच मन्त्रालयकै मागका आधारमा अर्थ मन्त्रालयले रकम निकासा गरेपछि अस्पतालले बाँकी भुक्तानी पाउने अपेक्षा गरिएको छ । 

तर, थप ३ अर्बको निकासा अघिल्लो आर्थिक वर्षसम्मको बाँकी भुक्तानीमै खर्च हुने अवस्था रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्माका अनुसार सरकारले ३ अर्ब रकम दिएपछि अब आर्थिक वर्ष ०८०/८१ सम्मको भुक्तानी लगभग पूरा हुनेछ । तर, चालु आर्थिक वर्षको भुक्तानीको दाबी बाँकी नै रहने शर्मा बताउँछन् । 

‘हामीले यो वर्षमा भएको ‘क्लेम’को फाइल नै खोलेका छैनौँ । त्यसैले भुक्तानीयोग्य क्लेम कति हो भन्ने यकिन छैन । अघिल्लो वर्षकै भुक्तानी बाँकी छ । तीन अर्ब आएपछि अघिल्लो वर्षको स्वीकृत भुक्तानी लगभग पूरा हुन्छ । 

  • यो वर्ष मात्रै पौने ७ अर्ब भुक्तानी

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष सुरु भएपछि मात्रै स्वास्थ्य बीमा बापतको ७ अर्ब ७८ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्षसम्मकै बाँकी रहेको सो बराबरको भुक्तानी गरिएको शर्मा बताउँछन् । 

यसमध्ये दसैँको मुखका असोज १८ गते बोर्डले ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ निकासा दिएको थियो । त्यस्तै कात्तिक १४ गते ४६ करोड ७१ लाख, माघ ९ गते १ अर्ब २८ करोड ९२ लाख, फागुन १ गते १ अर्ब ४५ करोड ६७ लाख र फागुन १५ गते ३५ करोड ४२ लाख रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ । 

सरकारले स्वास्थ्य बिमाको अनुदानका लागि यो वर्ष ७ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । स्वास्थ्य बिमाको प्रिमियमबापत करिब अढाई अर्ब रुपैयाँ जम्मा हुने प्रक्षेपण गरिएको छ । यो समेत गरी स्वास्थ्य बीमाका लागि करिब १० अर्बको फन्ड जम्मा हुन्छ । तर, मागदाबी भने २२ अर्ब हाराहारीमा हुने बोर्डको प्रक्षेपण छ । यो अन्तरका कारण सरकारले अहिले दिएको रकमले समेत खासै ठुलो असर गर्नसक्ने अवस्था भने नरहेको बोर्डका अधिकारीहरू बताउँछन् । 

स्वास्थ्य बिमाको भुक्तानी नहुँदा र मन्त्री पौडेलको पछिल्लो अभिव्यक्ति स्वास्थ्य बीमा सेवा नै बन्द हुने हो कि भन्ने चर्चा थियो । यसैबिचमा विभिन्न अस्पतालले स्वास्थ्य बीमा सेवा कटौती गरेका छन् भने केहीले सेवा नै स्थगित गरेको सूचना निकाल्ने गरेका थिए । 

बोर्डका कार्यकारी निर्देशक शर्मा भने अहिलेसम्म कुनै पनि संस्थाले सेवा बन्द नगरेको दाबी गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप