‘माकुरामण्डली’ले महिलालाई कहाँ समालोचक देखोस्, बरा !
पाठ्यक्रममा जाल बुनिरहेका माकुराहरू

विश्वविद्यालयजस्तो उच्च प्राज्ञिक निकायले पढाउने एमए तहको नेपालीको पाठ्यक्रममा ५७ जना स्रष्टाका ६२ वटा पाठमध्ये दुईजना मात्र महिला समावेश हुनु समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालका सरोकारवाला नागरिकका लागि विमर्शयोग्य विषय बन्छ कि बन्दैन ? यसबारे कुनै साहित्यिक महोत्सवका प्यानलिस्टहरूले बोल्नुपर्छ कि पर्दैन ? अँध्यारा कुनामा बसेर जताततै दम्भले सलबलाइरहने माकुराहरूलाई सबैले चिन्नुपर्छ कि पर्दैन ? आउनुस्, एकछिन यसै विषयमा बहस गरौँ !
पर्दापछाडि जाल बुन्ने षड्यन्त्रमा माहिर माकुरालाई कहिलेदेखि चिन्न थालेँ, मलाई प्रस्ट सम्झना छैन । ओठमाथि जिल्जिलाउँदा बिबिरासहितको घाउ आउँदा भने सबैले भन्नुहुन्थ्यो— ‘माकुराले छेरेछ !’ त्यो गजगज चिलाउने र हप्तौँसम्म निको नहुने घाउले दिएको सास्तीले होला, दलिन र रुखमा झुन्डिएका जाली माकुरादेखि चाहिँ परै रहन्थेँ । तिनको छेउछाउमा जाँदा पनि छेरेर घाउ बनाइदिइहाल्छ कि भन्ने डर हुन्थ्यो । त्यस बेलादेखि अहिलेसम्म आइपुग्दा यस्ता अनेकौँ माकुरामध्ये कथित प्राज्ञिक माकुराले समेत जाल बुन्न, षड्यन्त्र गर्न र खेद्न चाहिँ छाडेका छैनन् ।
ढोकाको माथि, भर्याङका कुना, आलमारीको चेपबाट आज फालेको माकुराको चिपचिपे जालो सके त भोलि नै, नभए दुई–तीन दिनपछि जस्ताको तस्तै भइहाल्छ । म फाल्ने ऊ बनाउने । अहिले त्यसमै अल्झिएका छौँ हामी । मरेर पनि जालमै झुन्डिएका माकुराका खोस्टाको रहस्य बुझेपछि चाहिँ त्यसलाई हेर्ने मेरो पुरानो दृष्टि केही फेरिएको छ, तथापि पूरै सकारात्मक त होइन फेरि । मलाई लाग्छ, आफ्नै आमालाई खाएर जीवनप्राप्त गर्ने यो किरो प्रकृतिमा किन अस्तित्ववान् हुनुपरेको होला ? आफैँलाई समाप्त पारेर माकुराको जीवनचक्रलाई निरन्तरता दिइरहेका माकुरीहरू कस्ता आकांक्षाका साथ गर्भधारण गर्छन् होला ? हुन त प्रकृतिको सिर्जनाकर्म नै पोथी जातिको त्यागबाट गतिमान् भएको छ ।
मान्छेका सन्दर्भमा त झन् भौतिक जीवनको निर्मितिपछि पनि पुरुष जातिलाई आमा जातिकै साथ, सहयोग र त्यागको खाँचो पर्दोरहेछ । समाजका सामु ‘म पनि केही हुँ’ भन्नका लागि ऊ आफ्नै आमा, दिदी, बहिनी र पत्नीलाई नकुल्चिएर अगाडि बढ्न नरुचाउने रहेछ सायद ! त्यसो भए माकुरा र मान्छेमा फरक के रह्यो ? माकुराहरू त बरु आमाको शरीर रहँदासम्म आफ्नो भौतिक अस्तित्व नै सम्भव नहुने प्रकृतिको अभिशाप शिरोपर गरिरहेका छन् । के मान्छेलाई त्यस्तो कुनै श्राप परेको छ ? आमा प्रजाति अस्तित्ववान् हुनु उसका लागि त्यति खतरनाक हो ? अवश्य पनि होइन ।
एमए नेपाली विषयको पाठ्यक्रमको पछिल्लो परिवर्तन (२०८१ देखि लागु हुने) मा नेपाली साहित्यका अधिकांश विधा र समालोचना क्षेत्रका योगदान गरेका प्राज्ञिक महिलाहरूको नामोनिसान भेटिँदैन । साहित्यिक प्रतिभा र पाठहरू समेटिएका ‘फुटकर नेपाली कविता’ विषयमा ११ जना पुरुष कविले स्थान पाउँदा यसपटक भने तोया गुरुङ आफ्नो योग्यता थप्न सफल भइछन् ।
हाम्रो समाजको पुरुषप्रधान चिन्तनले जहिलेसम्म आमा जातिलाई दासीका रूपमा कज्याउन पाउँछ, तबसम्म मात्र उसका लागि महिला ममतामयी आमा हो; आदर्श पत्नी हो; सहृदयी प्रेमिका हो; अनि सुकुमारी छोरी । जब उसले आफ्नो अधिकारमाथि दाबी गर्छे, ऊसँग आँखा जुधाएर बोल्न खोज्छे, काँध मिलाएरै हिँड्न खोज्छे, तब शासकीय चेतको पुरुष तुरुन्तै माकुराका बच्चामा रूपान्तर भइहाल्दो रहेछ र आफ्नै आमा प्रजातिको ऐतिहासिक सामाजिक अस्तित्व नै समाप्त पार्न लागिहाल्दो रहेछ । उसको मात्र सामथ्र्यबाट प्रकृति गतिवान् हुँदो हो त भौतिक अस्तित्व पनि समाप्त पार्दो हो । उसको यही हर्कत हाबी भएकाले नै हरेक किसिमको सत्तामा रहेका पुरुषहरूको महिलाप्रतिको व्यवहार माकुरा प्रकृतिबाट अछुतो देखिएको छैन । यो पङ्क्तिकार त्रिभुवन विश्वविद्यालयमा शिक्षणरत रहेकाले यसका प्रमाणहरू पनि त्यतैबाट जुटाऊँ होला ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतको एमए नेपाली विषयको पाठ्यक्रमको पछिल्लो परिवर्तन (२०८१ देखि लागु हुने) मा नेपाली साहित्यका अधिकांश विधा र समालोचना क्षेत्रका योगदान गरेका प्राज्ञिक महिलाहरूको नामोनिसान भेटिँदैन । साहित्यिक प्रतिभा र पाठहरू समेटिएका ‘फुटकर नेपाली कविता’ विषयमा ११ जना पुरुष कविले स्थान पाउँदा यसपटक भने तोया गुरुङ आफ्नो योग्यता थप्न सफल भइछन् । उनकै समकालीन कुन्दन शर्मा र उनीभन्दा एक दशकपहिले नै कृति प्रकाशित गरिसकेकी वानीरा गिरि भने अझै पनि यो परीक्षामा असफल भइरहेका छन् !
‘नेपाली आख्यान’ विषयमा चाहिँ ‘लिजेन्ड’ जस्तै गरी पारिजात मात्र १० जना पुरुषका बिचमा कपासको थुङ्गो जसरी बसेकी रहिछन्, जुन कुनै पनि बेला विषय समितिका हीन माकुराहरूको ‘फुऽऽऽ’बाट उड्न सक्ने सम्भावना पनि उत्तिकै छ । किनभने यसअघि कथा र विशेष अध्ययन अन्तर्गत ऐच्छिक विषयमा एउटा पूर्ण पत्रमा पढाइँदै आएकी पारिजात अहिले ती दुवै स्थान गुमाउँदै ‘शिरीषको फूल’को करामतले मात्र एक ठाउँमा जोगिएकी छन् । जबकि यही विषयमा विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर गोठाले र इन्द्रबहादुर राईचाहिँ माकुराहरूको समवर्गीय सहुलियत प्राप्त गरी कथा र उपन्यास दुवै विधामा नवीकरण हुन पाएका छन् । यीबाहेकका ‘खण्डकाव्य र महाकाव्य’, ‘नेपाली नाटक र निबन्ध’ तथा ‘नेपाली समालोचना’ शीर्षकका पाठ्यांशमा भने माकुराराजले महिला प्रतिभाहरूलाई पूरै गलहत्याएको छ । त्यसमा पनि ‘खण्डकाव्य र महाकाव्य’ मा एउटै समुदायका स्रष्टालाई आरक्षित गरिएको छ ।
यो वैश्ययुगमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, सोमनाथ सिग्द्याल, लेखनाथ पौड्याल र यसपटकका नवप्रवेशी मोदनाथ प्रश्रितका सनातनी र समन्वयवादी चिन्तनको ‘ककटेल’ स्वादसँगै बालकृष्ण समको दर्शनको ‘झुसिलो डकार’ सँुघ्ने सौभाग्य पनि विद्यार्थीलाई मिल्ने भएको छ । उनीहरूका लागि खण्डकाव्यमा वसन्त शर्मा लुइँटेल, मोतीराम भट्ट, माधव घिमिरे र मोहन कोइरालाका ईश्वर, प्रेम, प्रकृति, इतिहास र नदीलाई हेर्ने कारुणिक दृष्टिकोणबाट भव्य लाभ मिल्नेछ । वैश्य भएर पनि यसअघि विद्वान् ब्राह्मणहरूका बिचमा घुस्ने अपराध गरेका कारण यसपटक सिद्धिचरण श्रेष्ठ चाहिँ खारेजीमा परेका छन् भने पौड्याल र देवकोटालाई उही पत्रमा दोहोर्याएर खण्डकाव्य अन्तर्गगतको सेवा–सुविधा पनि प्रदान गरिएकै छ । यसपटक पनि ‘नेपाली नाटक र निबन्ध’ विषय खसआर्य पुरुषहरूलाई बिर्ताका रूपमा सुरक्षित गरिएको छ ।
अपवादका रूपमा पहिले अटाएका विजय मल्लबाट पनि यहाँ श्रेष्ठकै जस्तो गल्ती भएको छ । त्यसैले अब छिटै ती पनि गलहत्याइने क्रममा हुन सक्छन्, किनभने यी पनि सांस्कृतिक रूढिको आलोचनामा केन्द्रित लेखनका कारण सनातनी सत्ताका लागि विषाक्त ठहरिएकाले पारिजात जसरी विशेष अध्ययनबाट खेदिएका स्रष्टा हुन् । नाटकमा मोतीराम भट्ट, पहलमानसिंह स्वाँर, बालकृष्ण सम, गोपालप्रसाद रिमाल र विजय मल्ल अहिलेसम्म भाग्यमानी साबित भएका छन् भने निबन्धमा ‘दिव्योपदेश’, ‘जङ्गबहादुरको बेलायत यात्रा’, लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, भैरव अर्याल, तारानाथ शर्मा, श्यामप्रसाद शर्माजस्ता स्वनामधन्य स्रष्टा अटाउँदा लामिछाने र अर्यालकी समकालीन पारिजात भने बहिष्करणमा परेकी छन् ।
नाटकमा मोतीराम भट्ट, पहलमानसिंह स्वाँर, बालकृष्ण सम, गोपालप्रसाद रिमाल र विजय मल्ल अहिलेसम्म भाग्यमानी साबित भएका छन् भने निबन्धमा ‘दिव्योपदेश’, ‘जङ्गबहादुरको बेलायत यात्रा’, लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, भैरव अर्याल, तारानाथ शर्मा, श्यामप्रसाद शर्माजस्ता स्वनामधन्य स्रष्टा अटाउँदा लामिछाने र अर्यालकी समकालीन पारिजात भने बहिष्करणमा परेकी छन् ।
नेपाली साहित्यको केन्द्रीय विभागको स्थापना (२०१७) देखि हालसम्म समालोचनाका क्षेत्रमा योगदान गरेका र पढाउनलायक एकजना महिला पनि त्रिविका माकुराहरूले फेला पारेका छैनन् । ‘नेपाली समालोचना’मा सोमनाथ सिग्द्यालदेखि खगेन्द्रप्रसाद लुइँटेलसम्मका पन्ध्रजना पुरुष स्रष्टाहरू मात्र समावेश भएका छन् । खगेन्द्रप्रसाद लुइँटेल पटक–पटक बौद्धिक चोरीमा आरोपित व्यक्ति हुन् । उनको सहलेखन रहेको ‘लोकवार्ता विज्ञान र लोकसाहित्य’ पुस्तक तुलसी दिवसका कृतिबाट विनासन्दर्भ दर्जनौँ पृष्ठ सारेको अभियोग लागेपछि सारिएका पृष्ठमा छाप लगाएर मात्र बेचिएको प्रमाण अहिले पनि देख्न सकिन्छ । यस्ता पौरखी समालोचकलाई छाडेर विज्ञ ‘माकुरामण्डली’ले महिलालाई कहाँ समालोचक देखोस्, बरा ! २००० सालमै लक्ष्मीप्रसाद देवकोटाको ‘नेपाली साहित्य गगनका दुई नक्षत्र’ (१९९८, शारदा) शीर्षकको समालोचनामा महिलाको काव्यमा अभिव्यञ्जित पीडाको साधनाले स्थान नपाएको भनेर आलोचना गर्दै समालोचना लेखेकी प्रभादेवी उपाध्या पाठ्यक्रम निर्माणमा संलग्न माकुराको नजरमा पर्ने कुरै भएन । किनकि यिनले महाकविले लेखेको समालोचनामा रहेका कमजोरी खोतल्ने दुस्साहस गरेकी थिइन् ।
२०१८ सालदेखि लेखन आरम्भ गरेर २०२२ सालमा समालोचनाको कृति नै प्रकाशित गरिसकेकी सरिता ढकाललाई पनि यिनीहरूले स्थान दिने कुरै भएन । यिनले पनि तत्कालीन समयमा पुरुषहरूको पेवाजस्तो रहेको समालोचना विधामा कलम चलाएर उनीहरूलाई झस्काइदिएकी थिइन् । २०२५ सालदेखि समालोचना लेख्न थालेकी देवी शर्माले त झन् पुरुष समालोचकहरूको नजरमै नपरेका शारदाकालीन नेपाली साहित्यको इतिहासमा विलुप्त पारिएका महिला स्रष्टाहरूको खोजी नै गरेकी थिइन् । नेपाली साहित्यका महिला प्रतिभाहरूको योगदान खोजेर तिनको स्थान देखाई नेपाली समालोचनाकी ‘एलेन सोवाल्टर’ नै साबित भएकी उनलाई पढाएर माकुराहरूले आफ्नै खुट्टामा बञ्चरो किन हानुन् र ? यही लहरमा उभिएका कमला साङ्कृत्यायन, लख्खीदेवी सुन्दास, सुधा त्रिपाठी, ज्ञानु पाण्डे त झन् उनीहरूका वर्गदुश्मन नै भइहाले ।
नेपाली ‘खण्डकाव्य र महाकाव्य’ जस्तो शास्त्रीय विधामा महिला अटाउने त कुरै भएन । माकुराहरूको मात्र जोड चल्दो हो त उहिले वेद पढ्न प्रतिबन्ध लगाए जसरी यी विधामा महिलालाई कलम चलाउन पनि दिँदैनथ्यो होला । भानुभक्त आचार्यदेखि मोहन कोइरालासम्मका १० जना खसआर्य समुदायका पुरुष स्रष्टाका कृति र तिनको रचनाकारिताको अध्ययन मात्र प्राथमिकता पर्नु नै यसको बलियो प्रमाण हो । ‘नेपाली नाटक र निबन्ध’मा पनि एक्लो सन्तानले प्राप्त गरेको बपौती जसरी उनीहरूलाई मात्र लालपुर्जा प्रदान गरिएको छ । त्यसैले मोतीराम भट्टदेखि विजय मल्लसम्मका ६ जना हजुरबाहरूको भव्य उपस्थितिमा हजुरआमाहरूलाई खोज्ने धृष्टता गर्न त नहुने हो ! निबन्धमा छरिएको जिजुबाजे पृथ्वीनारायण शाहदेखि श्यामप्रसादसम्मका ६ जना बाहरूको चिन्तनबाट भन्दा पनि आमाहरूको अनुपस्थितिले चाहिँ हामीलाई पक्कै पनि राज्यले लिएको समावेशी र समाजवादोन्मुख बाटोमा हिँड्न प्रेरणा प्रदान गर्ने नै छ ! यस्तो सर्वत्र परिपूर्ण पाठ्यक्रम प्राप्त हुँदाहुँदै पनि भेँडाको मुखमा कुपिन्डो नअटाएको जस्तो यो मनले चाहिँ के खोजेको हो कुन्नि ?
उहिल्यै आमाले सुनाएका दन्त्यकथाका भावुकता र बाले खोजेका गाउँखाने कथाका तार्किक उत्तरबाट जितेका गाउँ अहिले सम्झनामा आउँछन् र फेरि मलाई झस्काइदिन्छन् । कति संवेदनशील र रोमाञ्चक तरिकाले म आमाबा दुवैको ज्ञान र सीपबाट अभिसिञ्चित भएकी रहिछु ? विगतको त्यही आधारले होला, मलाई विविध समुदायका महिलाका मौलिक चिन्तन, उनीहरूमाथिको उत्पीडनको खप्टाइ, मातृवात्सल्ययुक्त र सद्भावमा आधारित अपरिमित प्रेम एवम् अनुभवजन्य ज्ञानलाई प्रसार गर्नका लागि पनि पाठ्यक्रममा महिलाका गाथाहरू आउनुपर्छ भन्ने लाग्छ । महिलाहरूको सङ्घर्षको सौन्दर्य, लैङ्गिक र यौनिक यथार्थ, वैयक्तिक भएर पनि राजनीतिक बनेको आत्मपीडा, सामाजिक–आर्थिक सम्बन्ध तथा ऐतिहासिक मूल्यको पहिचान गर्न र गराउन नचाहने विषाक्त पुरुषत्वयुक्त प्रवृत्ति के माकुराको भन्दा कम उत्पीडनकारी हो र ?
कसैले चित्त दुखाउँदा पिल्चे भइदिने मलाई बा भन्नुहुन्थ्यो— ‘धैर्य गर्, एक दिन सबैको पालो आउँछ ।’
आमा हप्काउनुहुन्थ्यो, ‘गल्ली नगरेपछि जुध्नु पो पर्छ, रोएर किन बस्ने ?’ अहिले सोध्न मन लाग्छ — हजुरआमा र आमाको पालो कस्ले मिच्यो, बा ? जीवनमा जस्तै प्राज्ञिक क्षेत्रमा पानि सहकार्य गर्नुपर्ने हामीलाई यसरी उपेक्षा गर्दै प्रतिध्रुवीय धारमा धकेल्ने धृष्टताबाट हुने क्षतिको भर्पाइ कसले गर्ने हो ? मातृभावनालाई उपेक्षा गर्ने माकुरा हर्कतलाई चिरेर माहुरीको प्रेरणादायी कथा बनाएका जोनाथन स्विफ्टलाई अहिले सम्झिरहिछु । कथामा माकुराकी आमाले दिएको श्रापजस्तै गरी अहंकेन्द्री माकुराहरू मौका पाएको पाठ्यक्रममा षड्यन्त्रका घिनलाग्दा जाल बुन्दै त्रिविका अँध्यारा कुनाहरूमा झुन्डिरहुन्; हामी फूलको रस ग्रहण गरेर मह बनाउने माहुरीको सुन्दर कला आत्मसात् गर्दै इतिहास चेतनाका साथ अगाडि बढिरहौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू