समाजवादी मोर्चामा आबद्ध दलहरूको प्रतिबद्धता– सुखानी बलिदानको यात्रा पुरा गर्न जुनसुकै मूल्य चुकाउन तयार छौँ
काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दलहरूले सुखानी बलिदान दिवसको अवसरमा अग्रगमनको यात्रालाई समाजवादसम्म पुर्याउन जस्तोसुकै मूल्य चुकाउन परे पनि तयार रहेको प्रतिबद्धता जनाएका छन् । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा झापा जिल्लाका इन्चार्ज रञ्जित तामाङ, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसिंहले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिबद्धता जनाएका हुन् ।
२०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायती शासकद्वारा झापा किसान आन्दोलनका पाँच जनालाई जेल सार्ने बाहानमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेको थियो ।
कम्युनिस्ट पार्टीको नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित गर्ने गरिएका पश्चगामी कदमहरू भइरहेको, नयाँको नाममा भ्रमित गर्ने प्रवृत्ति र जनताले अस्वीकृत गरिसकेको साथै इतिहास बनिसकेको राजतन्त्र फर्काउन खोज्ने प्रवृत्ति देशलाई दुर्घटनामा लैजाने प्रवृत्ति भएको विज्ञप्तिमा उल्लेख छ ।
माओवादीले २०२९ साल फागुन २१ गते सुखानी हत्याकाण्डका सहिद रामनाथ दाहाल, विरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र २०५२ साल फागुन १४ गते हत्या भएका माओवादी जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको सम्झनामा हरेक वर्ष सहिद सप्ताह बनाउँदै आएको छ । यता झापा विद्रोहमा सहभागी भएका नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माले लगायत दलहरूले सुखानी हत्याकाण्डलाई बलिदान दिवसको रूपमा हरेक वर्ष मनाउँदै आएको छ ।