बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने

बुधबार, २१ फागुन २०८१, २३ : १७
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् ।

निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए । 

हिजो नेपाली राजदूत शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदीको समय मिलाई दिन आग्रह गरेको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि सो आग्रहमा विदेश मन्त्रालयबाट  सकारात्मक प्रतिक्रिया नआएको बताइएको छ । 

परराष्ट्र मन्त्री आरजु मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुने जाने भएकी छिन् । त्यस क्रममा प्रधानमन्त्री मोदीलाई नै भेटेर सगरमाथा संवादका लागि निमन्त्रणा दिने तयारी परराष्ट्रमन्त्री आरजुको रहेको छ । 

रायसिना डायलगमा अर्थमन्त्री विष्णु पौडेल जानुपर्ने कार्यक्रम थियो । तर अर्थमन्त्री पौडेल नजाने भएपछि परराष्ट्रमन्त्री तयार भएकी हुन् । भारतका प्रधानमन्त्री मोदीलाई निम्तो दिनका लागि जानैपर्ने भएपछि रायसिना डायलग कार्यक्रमको बहाना बनाएर राणा चाँडै दिल्ली जान लागेकी हुन् । 

सगरमाथा संवाद अगामी जेठमा हुँदै छ ।  जेठ २–४ गतेसम्म विश्वका कैयौँ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विषय विज्ञ र अनुसन्धानदातालाई बोलाएर काठमाडौँमा संवाद आयोजना गर्ने सरकारको तयारी छ । 

संवाद कार्यक्रमका भारत, चीन तथा दक्षिण एसियाली देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी परराष्ट्रमन्त्रालयले गरेको छ । त्यसका लागि पहिलो निम्तो भारतीय प्रधानमन्त्री मोदीलाई दिन लागिएको हो । 

त्यसअघि अप्रिल २–४ सम्म थाइल्यान्डमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओली बिच साइडलाइन वार्ताको लागि पनि प्रयास भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप