‘ओली सुध्रिन्छन् कि भनेर सचिव बनाइयो, सुखानी हत्याकाण्डपछि फरार भए’

५२ वर्षअघि २०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायती शासकद्वारा इलाम र झापाको सिमाना रहेको सुखानी जंगलमा झापा किसान आन्दोलनका चर्चित पाँच जना योद्धालाई गोली दागेका थिए । २०२८ सालको अन्त्यतिर नेकपा झापा समितिले सञ्चालन गरेको ‘वर्गशुत्र सफाय’ अभियानका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको हत्या भएको थियो ।
यसका प्रमुख नेताहरू वर्तमान प्रधानमन्त्रीसमेत रहेका केपी ओली, राधाकृष्ण(आरके) मैनाली, चन्द्रप्रकाश(सीपी) मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशी लगायत नेताहरू थिए । विद्रोहका प्रमुख नेता आरके मैनाली क्षयरोगले ग्रसित भएपछि २०२९ साल फागुनतिर नेतृत्वबाट अलग भए । आरकेको ठाउँमा गफ गर्ने तर काम नगर्ने प्रवृत्तिका ओलीलाई सुधार्ने हिसाबले सचिव बनाइएको सीपी मैनाली सम्झन्छन् । ओलीकै कमजोरीका कारण झापा आन्दोलनले ठुलो क्षति व्यहोरेको उनी दाबी गर्छन् ।
सुखानी हत्याकाण्डपछि ओली फरार रहेकाले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गरी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएको उनी बताउँछन् । हाल मालेका महासचिव समेत रहेका मैनालीसँग रातोपाटीकर्मी गणेश पाण्डेले झापा विद्रोह, सुखानी हत्याकाण्ड, पार्टी पुनर्गठन र कम्युनिस्ट आन्दोलनको भविष्यबारे कुराकानी गरेका छन्–
- सुखानी हत्याकाण्डलाई तपाईंले कसरी सम्झिनुभएको छ ?
झापा विद्रोहमा सक्रिय रहेका कार्यकर्तालाई मारेर विद्रोहको सन्देशलाई रोक्न सकिन्छ भन्ने तत्कालीन पञ्चायती सत्ताको निरङ्कुश र निर्लज्जतापूर्ण कार्य हो । त्यसमा आफ्नो जीवन उत्सर्ग गर्ने कमरेड रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई २१ फागुनको सन्दर्भमा मभित्रै दिलदेखि सम्झन्छु । सम्मान व्यक्त गर्छु, उहाँहरूलाई श्रद्धाञ्जली दिन्छु । उहाँहरूको सहादतबाट निश्चित जुन शिक्षा छ– समाजलाई परिवर्तन गर्ने, देशलाई पूर्ण स्वतन्त्र बनाउने, जनसत्ता स्थापना गर्ने, समाजवादी बाटो खोल्ने, त्यसमा निरन्तर क्रियाशील भइराख्ने कबुल गर्छु ।
- झापा विद्रोह राजनीतिक विद्रोह नभएर व्यक्ति हत्या थियो भन्ने आरोप छ नि ?
तत्कालीन सत्ता, जमिनदार, दलाल पुँजीपति वर्ग, निरङ्कुश सत्ताविरुद्ध बल प्रयोगको एउटा आन्दोलन थियो । त्यसका सन्देशलाई देशभित्र समान्ती दलाल, पुँजीपति, उत्पीडितलाई समाप्त गरेर जनतालाई अधिकार सम्पन्न गरी मुक्त गर्ने, देशबाहिरका प्रत्यक्ष र परोक्ष हस्तक्षेप बन्द गरी देशलाई साँचो अर्थमा स्वतन्त्र, सार्वभौम र अखण्ड राख्ने उद्देश्य हुन् । ती नै उद्देश्य जनताका सन्देश हुन् । यी नै सन्देश र उद्देश्यलाई मार्नका निम्ति वर्ग शत्रुकै पक्षधरता लिने शासक र शोषकहरूले त्यसको राजनीतिक पक्षलाई अनदेखा गर्नु वा विरोध गर्नु उनीहरूको वर्ग चरित्र अनुसारको कुरा हो ।
- तर त्यो विद्रोह उग्रवामपन्थी भड्काव थियो भनेर २०३५ सालमा माले पुनर्गठन गर्दा रियलाइज गर्नुभयो होइन ?
झापा विद्रोह तत्कालीन सत्ताविरुद्ध थियो । त्यस हदसम्म त्यो विद्रोह उपयुक्त थियो । अन्धकारलाई चिर्ने एउटा ज्योति थियो । अहिलेसम्म त्यसको औचित्य रहिरहेको छ । तर विद्रोह गर्ने क्रममा निरङ्कुश पञ्चायती समाप्त भएर तत्कालै देशमा जनतन्त्र वा जनगणतन्त्र स्थापना भइहाल्छ भन्ने मेरो पनि सोच थियो । आन्दोलनकै सोच थियो । तर त्यो बढी आदर्श प्रेरित र मनोगतवादी थियो । राजनीति उग्रवामपन्थी थियो भनेर महसुस गर्यौँ । पार्टीले त्यसलाई सच्यायो । सशस्त्र आन्दोलनलाई पनि सच्याउँदै राजनीतिक आन्दोलनबाट अगाडि बढ्ने र जनताको गणतन्त्र ल्याउने रणनीतिक लक्ष्यमा क्रमिक रूपमा पुग्ने कार्यदिशा लिएर हामीले काम गर्यौँ ।
- विद्रोहका योद्धामध्ये एक वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा आएपछि आन्दोलनले धक्का खाएको, सुखानी हत्याकाण्डपछि फरार रहेको आरोप कत्तिको सत्य हो ?
२०२७ सालको चैततिर पुरानो कम्युनिस्ट पार्टी कोशी प्रान्तीय कमिटीको अध्यक्ष मनमोहन अधिकारी हुनुभयो । त्यसका सचिव भरतमोहन अधिकारी थिए । त्यति वेलासम्म नेतृत्वमा रहेका किसान नेता मदन खपाङ्गीले नेतृत्व त्याग्नुभयो । पार्टीले सशस्त्र विद्रोह र जनगणतन्त्र स्थापनाको नीति लियो । पछि भूमिगत आन्दोलन सुरु भयो । विद्रोहको नेतृत्व(सचिव) आरके मैनालीले गर्नुभएको थियो । दुःख कष्ट, हन्डर ठक्कर, जेलनेल, खाना र सुत्ने व्यवस्था नमिल्दा बिरामी हुनुभयो । उहाँलाई क्षयरोगले समातेको थियो । यही कारण उहाँले २०२९ साल भदौतिर बिदा माग्नुभयो ।
त्यतिबेला ओली पनि पहाडबाट झापामा झर्नुभएको थियो । उहाँका परिवार २०२०/२२ तिर झापामा आएर बसोबास गरेका हुन् । उनी वामपन्थी नेता तथा प्रगतिशील साहित्यकार रामनाथ दाहालको घरमा बसेका थिए । रामनाथले नै उहाँको बसोबास, खानपान तथा पढाइको व्यवस्था मिलाइदिएका थिए । ओली विद्यार्थीमा प्रगतिशील विचार लिएर क्रियाशील थिए । २०२५ सालमा जिल्ला कमिटी सदस्य बनेपश्चात् रामनाथ जिल्ला कमिटी सदस्य भइसकेका थिए । झापाको चारपाने क्षेत्रमा पनि इलाका कमिटी बनेको थियो । त्यसको सचिव ओली हुनुहुन्थ्यो । सोही क्षेत्रमा संगठित भएर विद्यार्थीमा काम गर्नुहुन्थ्यो ।
म २०२७ सालमा आइएससी टुंगिएपछि भद्रपुरको डिग्री कलेजमा बीएमा इकोनमिक्स लिएर पढ्न त्यहीँ गएँ । त्यसपछि म भूमिगत पार्टी नेकपामा संगठित भएँ । म पढ्दै गरेको हुनाले विद्यार्थी क्षेत्रमा काम गर्ने जिम्मा दियो । विद्यार्थी संगठनको इन्चार्ज द्रोणाचार्य क्षत्री हुनहुन्थ्यो । अर्का एक जना बलराम भन्ने विद्यार्थीलाई समेटेर एउटा फ्याक्सन बनेका थियो ।
त्यसरी मेरो भेट ओलीसँग भेट भयो । ओलीको फुर्तीफार्ती निकै थियो । काम केही गर्दैनथे । तर सबै आफैले गरेजस्तो गफ लगाउँथे । २०२८ साल असारतिर म जिल्ला कमिटी सदस्य भएँ । त्यतिबेला आरके (राधाकृष्ण मैनाली) सचिव भइसक्नुभएको थियो । ओली चारपाने इलाका कमिटी सदस्य थिए । प्रेम ओली त्यसको सचिव थिए । सोही सालको फागुनतिर ओलीले जिल्ला कमिटीमा जाने इच्छा व्यक्त गरे । पार्टीले जिल्ला कमिटी सदस्य बनायो ।
चैतबाट हिंसात्मक आन्दोलन पनि सुरु भयो । किसान, विद्यार्थी, उत्पीडित क्षेत्रबाट प्रशासनविरुद्ध आन्दोलन हुँदै थियो । तर आरके बिरामी भएपछि केही साथीले गफ गर्ने काम नगर्ने प्रवृत्तिका ओलीलाई सचिव बनाइदियौँ, उनी सुध्रिन्छन् कि भन्ने मत राखे । संगठनको जिम्मेवारी दिए भने ओलीले आफूलाई सुधार्लान् भन्ने सोचेर सचिव बनाइयो । त्यसपछि राजनीतिक रूपमा चर्चित एक्सन ओरिन्टेट (वर्ग सफाय) कारबाही पनि भए । तर ओली सचिव भए पनि निश्चित क्षेत्रमा मात्रै सीमित भएर बसे । पार्टी सञ्चालन गर्न सकेनन् । साथीहरूसँग सम्पर्कविहीन भएर बसे । वर्ग शत्रुमाथिको प्रहार भयो । २०२९ साल मंसिरमा रामनाथ चारपानेबाट समातिनुभयो । अन्य चर्चित नेताहरू पनि समातिए । राजवंशी समुदायको बाहुल्यता रहेको क्षेत्रका चर्चित वीरेन राजवंशी पञ्चायत कालमा अधिकृत भइसकेका व्यक्ति हुन् । कृष्ण कुइँकेल विद्यार्थी आन्दोलनका चर्चित व्यक्ति हुन् । नेत्र घिमिरे हट्टाकट्टा तथा किसान आन्दोलनमा सक्रिय थिए । नारायण श्रेष्ठ सक्रिय व्यक्ति थिए । यसरी अलगअलग पृष्ठभूमि भएका व्यक्तिलाई सामूहिक हत्या गर्दा आन्दोलन समाप्त हुन्छ । विद्रोहको बाटो कसैले अङ्गाल्दैनन् भन्ने पञ्चायती शासकले ठानेर उहाँहरूलाई इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा राति गोली हानी निर्ममतापूर्वक हत्या गरियो ।
ओलीको कमजोरीका कारण झापा विद्रोहमा ठुलो क्षति व्यहोर्न पर्यो । यस हत्याकाण्डपछि ओलीसँग एक पटक मेरो भेट भयो । त्यतिबेला झापाको पश्चिमतिर बसेर उहाँले काम गर्नुहुन्थ्यो । त्यसपछि सम्पर्कविहीन भएका ओली विराटनगर हुँदै लखनौमा मोहनचन्द्र अधिकारी भएको ठाउँमा लुकेर बस्नुभएछ । २०३० सालमा नेपाल फर्किने क्रममा कात्तिकतिर माधव नेपालको घर रहेको रौतहटमा आएर बसेछन् । माधवले नै व्यवस्था गरेको क्षेत्रमा बस्नुहुन्थ्यो । मधेसी बाहुल्यता रहेको गाउँमा पहाडिया मानिसहरू देखिएपछि शंका गरेर उहाँहरूलाई पक्राउ परे । २०४४ सालसम्म ओली जेलमा परे ।
विद्रोहको बाटो कसैले अङ्गाल्दैनन् भन्ने पञ्चायती शासकले ठानेर उहाँहरूलाई इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा राति गोली हानी निर्ममतापूर्वक हत्या गरियो । ओलीको कमजोरीका कारण झापा विद्रोहमा ठुलो क्षति व्यहोर्न पर्यो ।
२०३० साल साउन २० गते नयाँवारिमा पञ्चायती सुरक्षाकर्मीद्वारा ठुलो घेराउ र दमनमा आरके मैनाली, लिला कट्टेल, सीता खड्का, हर्क खड्का, चन्द्र डाँगी, नारद वाग्ले लगायतका धेरै साथीहरू भित्रकै सुराकीका आधारमा घेराउमा परे । गरामनीका प्रधानपञ्च शिव न्यौपाने सरकारसँग मिलिसकेका रहेछन् । चन्द्र डाँगी घेराउ छिचोल्ने क्रममा पुलिसले गोली हानी हत्या गर्यो । धेरै साथीहरू समातिए । हाम्रो जनशक्ति घट्यो । त्यस्तो स्थितिमा ममाथि ठुलो प्रेसर थियो । चिनेजानेको मान्छेले तँ पनि भाग । जुनसुकै वेला मारिन सक्छ भन्थे ।
विद्रोहमा त्यत्रा साथीहरू कोही मारिए, कोही जेल परे । यस्तो स्थितिमा गाउँ र जिल्ला छोडेर विदेशमा पनि जानुपर्ने स्थिति भएपनि मैले पलायनको बाटो लिन उचित ठानिन । आफ्नो निष्ठामा कायम रहँदै विद्रोहको सन्देश जोगाउन र अन्य जिल्लामा प्रचार गर्न मोरङमा काम गर्ने विश्वनाथ भट्ट लगायत साथीहरूसँग मिलेर झापा–मोरङको एउटै पार्टी बनाउने अपिल गर्यौं । सोही अपिलको आधारमा २०३२ साल जेठ २४ गते मोरङमा को–अडिसन केन्द्र(माले) गठन गर्यौं । त्यसको सचिवको जिम्मेवारी मलाई सुम्पियो । यसरी सुखानी हत्याकाण्डपछि ओली जिल्लाबाट भागिसकेपछि पार्टीको जिम्मेवारी मेरो काँधमा आयो । जेलभित्र परेपनि उहाँ आन्दोलनमा अडिनै रहनुभयो । त्यसैले जेलभित्रका साथीहरू पनि धन्यवादको पात्र हुनुहुन्छ । र, बाहिरका साथीहरू ठुलो त्याग, तपस्या र सक्रियता देखाए । पार्टी पुनर्गठन गरी २०३५ सालमा माले बनाइयो । २०३७ सालमा जनमतसंग्रह भयो । सुधारीएको पञ्चायतलाई सूर्यबहादुर नेतृत्वको सरकारले शक्तिको दुरुपयोग र धाधली गरेर जितायो ।
- सुखानी हत्याकाण्डपछि कम्युनिस्ट आन्दोलन नै शिथिल भएको अवस्थामा पार्टी पुनर्गठन गरी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुभयो । तर २०३९ सालमा तपाईंलाई नै कारबाही भयो नि ?
निरङ्कुश पञ्चायतीविरुद्ध वाममोर्चा र कांग्रेस मिलेर आन्दोलन गर्नुपर्ने प्रस्ताव मैले गरेको थिएँ । सशस्त्र विद्रोहबाट तत्काल जनगणतन्त्र ल्याउने कार्यदिशा पार्टीले करेक्सन गर्यो । तर माधव नेपाल लगायत मुक्ति मोर्चाबाट आएका साथीहरूले लामो समयसम्म अल्झाए । मैले अघि सारेको जनक्रान्तिद्वारा बहुदलीय व्यवस्था ल्याउनुपर्ने प्रस्तावलाई २०३९ साल कात्तिकमा बसेको केन्द्रीय समिति बैठकले अस्वीकार गरी वामदेव गौतमले प्रस्ताव गरेको पुँजीवादी बुर्जुवा गणतन्त्रको कार्यदिशा पास भयो ।
मदन भण्डारी र माधव नेपालले पञ्चायत व्यवस्था ढाल्ने र बहुदलीय व्यवस्था ल्याउन संयुक्त वाममोर्चा बनाएर कांग्रेससँग मिलेर आन्दोलन गर्ने प्रस्ताव अस्वीकार गरे । यो प्रक्रिया २०४६ साल कात्तिकसम्म रह्यो । भदौमा मालेको चौथो राष्ट्रिय महाधिवेशन सिराहाको जङ्गलमा भएको थियो । मलाई कारबाही गरेपछि झलनाथ खनाल महासचिव भएका थिए । खनालको ठाउँमा मदन भण्डारी महासचिव भए । मदन महासचिव भएपछि बसेको दोस्रो बैठकमा निर्दलीय पञ्चायतीविरुद्ध आन्दोलन गरौँ, वाममोर्चा बनाउँ । कांग्रेससँग सहकार्य गरौँ भनेर प्रस्ताव राखेँ । त्यही प्रस्तावमा पार्टीले निर्णय गर्यो । मैले त्यतिबेला र अहिले त्यति तात्त्विक अन्तर पाएको छैन । यही प्रस्ताव तपाईंले नबुझेर सङ्कीर्ण भएर मलाई दक्षिणपन्थीको आरोप लगाएर कारबाही गर्नुभयो । तर अहिले हामी सबै त्यसको पक्षमा छौँ । त्यतिबेला मैले लिएको कार्यनीति गलत थिएन भन्ने कुरा अहिले आएर पुष्टि भएको छ । त्यसकारण ममाथि लगाएको आरोप हटाइदिन प्रस्ताव गरेको थिएँ । महासचिव तपाईं नै रहनुहोस्, त्यसमा मेरो कुनै विरोध छैन । तर ममाथिको कालो टोपी हटाउनोस् भन्दा मदनले नै मानेनन् । अन्य कसैले पनि एक शब्द चुइँक्क बोलेनन् ।
- तपाईंको प्रस्ताव किन मानेनन् जस्तो लाग्छ ?
किन चाहेनन् भने यो उनीहरूको आन्तरिक मात्रै निर्णय थिएन । उनीहरूले आफ्नो मनले गरेको भए त्यो आरोपलाई फिर्ता लिनुपर्ने हो । बाहिरी शक्तिको प्रभावमा ममाथि कारबाही गरिएको थियो भन्ने मलाई लाग्छ । सीपी मैनाली देशभक्तिपूर्ण छ । बहिरी शक्तिको प्रभावमा यसले काम गर्दैन भन्ने बुझेर मजस्तो मान्छे उदीयमान पार्टी मालेको नेता भइरह्यो भने विदेशीप्रति कम्फर्टेबल नहुने भएर नै कारबाही गरियो । मलाई उठ्नै नदिने गरी उनहरूले अनुचित पूर्वाग्रही र उद्देश्यमूलक ढङ्गले कारबाही गरे । जबकि म अल्पमतमा परेपछि राजीनामा दिइसकेको थिएँ । तत्कालीन कार्यनीति र कार्यक्रममा अल्पमतमा परेपछि नैतिकताको आधारमा राजीनामा दिएको थिएँ ।
- एमाले नेतृत्वहरूले सहिदको सपनालाई धोका दिँदै आउनुभयो भन्ने तपाईंको निष्कर्ष हो ?
२०४९ सालदेखि मदनले अगाडि सारेको जनताको बहुदलीय जनवाद(जबज) सिद्धान्त हो । हामीले अपनाउँदै आएको जनवादी सिद्धान्त हो । ती सिद्धान्तलाई विस्थापित गरी जबज पारित गर्न बहुमत जुटाउनुभयो । त्यसको उद्देश्य भनेको अहिले संसदीय अभ्यास छ, त्यसमा बहुमतको सरकार बन्ने, अल्पमत प्रतिपक्षमा बस्ने, चेक एन्ड ब्यालेन्सको नीति रहने स्वाभाविक नै हो । यसमा त्यतिवेला पनि मैले विरोध गरेको होइन ।
तर त्यही बाटो हिँडेर नै देशमा जनवादी क्रान्ति पूरा हुन्छ । जनसत्ता स्थापना हुन्छ, समाजवादी स्थापना हुन्छ भन्ने जुन नीति छ, त्यो मार्क्सवादमा नभएको सिद्धान्त हो । त्यस्तै विचार युरोपका कम्युनिस्टहरूले अँगालेका थिए । विकसित मुलुकमा चुनावबाट बहुमत ल्याएर समाजवाद स्थापना लागु गर्न सक्छौँ भनेर एउटा विचारधारा सन् १९७० को सुरुवाततिर युरोप कम्युनिस्ट भनेर चिनिन्थ्यो । तर उनीहरूको सिद्धान्त १० वर्ष पनि टिकेन । चुनावद्वारा बहुमत ल्याएर कुनै काम गर्न नसकिने रहेछ भनेर युरोप कम्युनिस्ट छिन्नभिन्न भयो । मदनले त्यही असफल युरोप कम्युनिजमबाट नक्कल गरेर नेपालमा जनवाद, समाजवाद र साम्यवाद आउँछ भनेर मार्क्सवाद प्रतिकूल वस्तुनिष्ठसँग मेल नखाने दुनियाँमा कहीँ प्रमाणित नभएको कुरालाई नेपालमा लादे । त्यसले गर्दा नाम कम्युनिस्ट पार्टी तर त्यसको मूल गुदी पुँजीवादी भयो । बिस्तारै बिस्तारै एमाले पुँजीवादी वर्गघाती पार्टी बन्दै गयो । चुनावबाट नै जनवादतिर लैजाने हो । संसदीय चुनाव नै सबै थोक हो । लुटेर, घुस खाएर, तस्करी गरेर जसरी भए पनि चुनाव जित्नु क्रान्तिकारी हो भन्ने दलाल पुँजीवादी सोच हाबी भयो । अहिले भूमाफियालाई पोस्ने गरी भूमिसम्बन्धी अध्यादेश ल्याएको छ । त्यसले भूमिहीन किसानलाई केही मद्दत गर्दैन । भूमाफियाबाट कमिसन खाएर उनीहरूलाई पोस्न ल्याएको अध्यादेश हो । यसरी माफियालाई सरकारी जग्गा बाँडेर अर्बौँ रकम कुम्लाउने र चुनाव जित्नु क्रान्तिकारी हो भन्ने कुरा एमालेका ओली र उनका नेताहरूले बुझ्दछन् ।
भूमि बाँडेर मात्र सुकुमबासीको समस्या समाधान हुँदैन । त्यसका लागि रोजगारी, शिक्षादीक्षा, सीप, तालिम, उत्पादन वृद्धि आदि इत्यादिमा राज्यले लगानी गर्नुपर्छ । एमालेकाे उद्देश्य देशलाई मरुभूमि बनाएर भए पनि विदेशीलाई बेचेर पनि चुनाव जित्नु छ । जनविरोधी र मार्क्सवादविरोधी कुरा तिनीहरूको दिमागमा घुसेको छ ।
अध्यादेश पारित गर्न उसले पार्टी नै फुटाउन विधेयक ल्याउन खोजेको छ । यस्तै चरित्रका कारण एमाले नाम मात्रको कम्युनिस्ट भएपनि विचार, चरित्र, सिद्धान्त मार्क्सवादबाट विचलित भएको छ ।
यता प्रचण्डले २०५२ सालदेखि सशस्त्र विद्रोह गर्यो । सशस्त्र आन्दोलनबाट तत्काल गणतन्त्र ल्याउने उग्रवामपन्थी बाटो लियो । विस्तारवादी र हैकमवादी शक्तिको पाहुना भएर माओवादीले १० वर्ष युद्ध गरे । जनयुद्ध भनिए पनि वास्तवमा त्यो जनयुद्ध होइन । यस्ता दुई प्रवृत्तिबाट नेपालका कम्युनिस्ट आन्दोलन दूषित भएका छन् । कम्युनिस्ट आन्दोलन नै भ्रमित भएको छ ।
- अब देशले कसरी निकास पाउन सक्छ ?
राष्ट्रिय जनवादी क्रान्तिको क्रममा हामी छौँ । चार वटा त्यसका उपचरणहरू पार गरी पाँचौँ चरणमा प्रवेश गरेका छौँ । मुख्य दलहरू(एमाले, माओवादी) वर्गघाती र राष्ट्रघाती भए । कांग्रेस हिजोदेखि नै विदेशमुखी चरित्र भएको पार्टी हो । अहिले देश आन्तरिक रूपमा अधोगतितिर छ । आर्थिक, सामाजिक, राजनीति, सांस्कृतिक रूपले विचलित भएको छ ।
२००७ साल, ०४६ साल र ०६३ सालमा आएका हस्तक्षेपहरूलाई यी दलहरूले विरोध नगरेको, विस्थापित नगरेको र उल्टै बढाउँदै गएको हुनाले बाहिरी चर्को हस्तक्षेपको चरणमा छौँ । यी कारणले देश अहिले भड्खालोमा परेको छ । यो भुमरीबाट यो देशलाई निकाल्ने देशभक्त शक्ति, स्वतन्त्र व्यक्तिहरूको हो । देशभक्तहरू कोही स्वतन्त्र, कोही राजनीतिमा नलागेका, कोही कांग्रेस, कोही कम्युनिस्ट र कोही राजावादीमा छन् ।
यी सबै शक्तिहरू राजनीतिक सिद्धान्तका आधारमा नभई देश जोगाउने सिद्धान्तका आधारमा वैकल्पिक शक्ति बनाएर हाम्रो नीति, विचार, आचरण र राजनीतिमा आएका उपरी संरचना आएका विकृति र विसङ्गतिलाई परिवर्तन गर्ने सम्पूर्ण क्रान्ति आजको आवश्यकता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?