बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनल

समान चरित्र बोकेका दक्षिण अफ्रिका र न्युजिल्यान्ड फाइनल प्रवेशका लागि भिड्दै

बुधबार, २१ फागुन २०८१, ११ : ४८
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको दोस्रो सेमिफाइनल खेल बुधबार खेलिँदै छ । दोस्रो सेमिफाइनल खेलमा पहिलो संस्करणको विजेता दक्षिण अफ्रिका र दोस्रो संस्करणको च्याम्पियन न्युजिल्यान्डबिच भिडन्त हुनेछ । 

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिचको खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनल खेलमा विजयी हुने टोलीले फाइनलमा भारतसँग उपाधिका लागि भिडन्त गर्नेछ । 

भारतीय टोली भने मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पछिल्लो समय न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुबै टोली लयमा छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुबै टोलीबिच खासै अन्तर छैन । न्युजिल्यान्ड वरीयताको चौथो स्थानमा आसिन छ । दक्षिण अफ्रिका भने वरीयताको पाँचौँ स्थानमा छ ।

यी दुबै टोली आईसीसीद्वारा आयोजित ठुला प्रतियोगिताहरुमा सधैं अभागी सावित हुँदै आएका छन् । दक्षिण अफ्रिकाले सन् १९९८ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेयता हालसम्म आईसीसीद्वारा आयोजित प्रतियोगिताको उपाधि चुम्न सकेको छैन । 

यसैगरी, न्युजिल्यान्डको अवस्था पनि उस्तै छ । न्युजिल्यान्डले सन् २००० मा च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । त्यसयता न्युजिल्यान्डले आईसीसीद्वारा आयोजित कुनै पनि प्रतियोगिताको उपाधि हात पार्न सकेको छैन । 

न्युजिल्यान्डको सेमिफाइनल यात्रा
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूहगत चरणमा न्युजिल्यान्डले आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।

न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र पाकिस्तानलाई ६० रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेलमा भने न्युजिल्यान्डको टोली भारतसँग ४४ रनले पराजित भएको थियो ।

nea

जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डले हालसम्म तीनवटै खेल तीन फरक स्टेडियममा खेलेको छ । न्युजिल्यान्डले पहिलो खेल पाकिस्तानको कराँचीमा, दोस्रो खेल पाकिस्तानकै रावलपिण्डीमा र तेस्रो खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलेको थियो ।

जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डले हालसम्म लाहोरस्थित गद्दाफी स्टेडियममा भने भिडन्त गरेको छैन । त्यसैले न्युजिल्यान्डले गद्दाफी स्टेडियममा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्नेछ । जारी च्याम्पियन्स ट्रफीमा चारवटा खेल चारवटै फरक रंगशालामा खेल्ने न्युजिल्यान्ड एकमात्र टोली पनि हो ।

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका
जारी च्याम्प्यिन्स ट्रफीमा दक्षिण अफ्रिका भने समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहगत चरणको खेलमा दक्षिण अफ्रिका अपराजित रहेको थियो । दक्षिण अफ्रिकाले तीनमध्ये दुई खेलमा जित हासिल गर्‍यो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

sa1

दक्षिण अफ्रिकी टोलीले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई एक सय सात रनको विशाल अन्तरले हराएको थियो । दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात विकेटले पराजित गरेको थियो । 

जारी च्याम्पियन्स ट्रफीको समूहगत चरणमा दक्षिण अफ्रिकाको दुई खेल कराँचीमा र एक खेल पाकिस्तानकै रावलपिण्डीमा परेको थियो । त्यसैले दक्षिण अफ्रिकाले पनि लाहोरस्थित गद्दाफी स्टेडियममा पहिलो पटक न्युजिल्यान्डको सामना गर्न लागेको हो । 

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड
न्युजिल्यान्डले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा सहभागिता जनाउँदै आएको छ । त्यसैले आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डको यो नवौँ सहभागिता हो ।

न्युजिल्यान्डले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । न्युजिल्यान्डले सन् २००० केन्यामा आयोजित दोस्रो संस्करणको फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई चार विकेटले हराउँदै उपाधि चुमेको थियो । 

आईसीसीद्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरुमा न्युजिल्यान्डले जितेको यो एकमात्र उपाधि पनि हो । त्यतिबेला न्युजिल्यान्डका कप्तान थिए, स्टिफन फ्लेमिङ । न्युजिल्यान्डको टोलीमा नाथन एस्टल, क्रिस क्रेन्स, क्रेग म्याकमिलन, क्रिस ह्यारिस, एडम परोरे, स्कट स्टाइरिस लगायतका प्रभावशाली खेलाडी थिए ।


यसदेखि वाहेक न्युजिल्यान्ड सन् २००९ मा सम्पन्न छैटौँ संस्करणमा पनि फाइनलसम्म पुगेको थियो । त्यतिबेला न्युजिल्यान्डको टोली फाइनलमा बलियो छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो । 

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले पनि सन् १९९८ मा आयोजित पहिलो संस्करणदेखि नै निरन्तर रुपमा च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको पनि यो लगातार नवौँ सहभागिता हो । 

दक्षिण अफ्रिकाले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ । दक्षिण अफ्रिकाले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणकै उपाधि कुम्ल्याएको थियो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा दक्षिण अफ्रिका ऐतिहासिक टोली पनि हो ।

sa

उक्त संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई चार विकेटले हराउँदै उपाधि हात पारेको थियो । आईसीसीद्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगितामा दक्षिण अफ्रिकाले जितेको पनि यो एकमात्र उपाधि हो । 

त्यतिबेला दक्षिण अफ्रिकी टोलीको कप्तान थिए, हेन्सी क्रोनिए । उक्त टोलीमा ड्यारल कलिनन, माइक रिन्डल, मार्क बाउचर, ज्याक्स कालिस, जोन्टी रोड्स, डेल बेनकेन्सटिन, डेरेक क्रुक्स, निकी बोए, प्याट साइमक्स, स्टिभ एलवर्थीलगायतका प्रभावशाली खेलाडी सहभागी थिए । त्यसयता दक्षिण अफ्रिकी टोली कुनै पनि संस्करणको फाइनलसम्म पनि पुग्न सकेको छैन । 

च्याम्पियन्स ट्रफीमा तेस्रो आपसी भिडन्त
दक्षिण अफ्रिका र न्युजिल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा तेस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि दुईपटक भएको आपसी भिडन्तमा दक्षिण अफ्रिका र न्युजिल्यान्डले एक–एक खेल जितेका छन् । 

सन् २००६ मा सम्पन्न च्याम्पियन्स ट्रफीको समूहगत चरणमा पहिलो पटक यी दुई टोलीबिच आपसमा भिडन्त भएको थियो । उक्त खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यसपछि सन् २००९ मा दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको समूहगत चरणमा पनि यी दुई टोलीबिच खेल भएको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पाँच विकेटले हराएको थियो । 

एकदिवसीय भिडन्तमा दक्षिण अफ्रिका अगाडि
दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासलाई हेर्दा दक्षिण अफ्रिका निकै बलियो देखिन्छ । यी दुई टोलीबिच हालसम्म ७३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । 

त्यसमध्ये ४२ खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ । २६ खेलमा भने न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । फरक महादेशको प्रतिनिधित्व गर्ने यी दुई टोलीबिचको पाँच खेल भने अनिर्णित रुपमा सकिएको छ । 

दक्षिण अफ्रिकाले घरेलु मैदानमा खेलिएको १७ खेलमा न्युजिल्यान्डलाई हराएको छ । न्युजिल्यान्डले भने घरेलु मैदानमा खेलिएको १२ खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । न्युजिल्यान्डको घरेलु मैदानमा दक्षिण अफ्रिकाले १२ खेल जितेको छ ।

यसैगरी, दक्षिण अफ्रिकाको घरेलु मैदानमा न्युजिल्यान्डले पाँच खेल जितेको छ । ‘न्यूट्रल भेन्यू’ मा भने दक्षिण अफ्रिकाले १३ र न्युजिल्यान्डले नौ खेल जितेका छन् । यी दुई टोलीले जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’ मै खेल्न लागेका हुन् ।

पछिल्ला तीन खेलमा आपसी भिडन्त
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेलिएको पछिल्ला तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको तथ्याङ्कले भने न्युजिल्यान्डलाई केही बलियो देखाउँछ । पछिल्ला तीनमध्ये दुई खेलमा न्युजिल्यान्ड र एक खेलमा दक्षिण अफ्रिका विजयी भएका छन् ।

सन् २०१९ को जुन १९ तारिखमा खेलिएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हराएको थियो । सन् २०२३ को नोभेम्बर १ तारिखमा खेलिएको खेलमा दक्षिण अफ्रिकाले किविज टोलीलाई एक सय ९० रनले पराजित गरेको थियो । 

उक्त खेल भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपका क्रममा खेलिएको थियो । यसका अतिरिक्त, सन् २०२५ को फेब्रुअरी १० तारिखमा खेलिएको एकदिवसीय खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

न्युजिल्यान्डका टम लाथमको नाममा सर्वाधिक रन
जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान टम लाथम हुन् । उनले तीन खेलमा कुल एक सय ८७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र एक अर्धशतक बनाएका छन् । लाथमले पाकिस्तानविरुद्ध अविजित एक सय १८ रन र बंगलादेशविरुद्ध ५५ रन बनाएका थिए । 

tom

न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा विल योङ दोस्रो स्थानमा आसिन छन् । उनले तीन खेलमा कुल एक सय २९ रन बनाएका छन् । उनको उच्च स्कोर भने एक सय सात रन हो । 

यसैगरी, जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर भने म्याट हेनरी हुन् । उनले तीन खेलमा आठ विकेट लिइसकेका छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि पहिलो स्थानमा छन् ।

म्याट हेनरीले एउटै खेलमा गरेको उत्कृष्ट प्रदर्शन भने ४२ रन खर्चिएर पाँच विकेट हो । दोस्रो सर्वाधिक विकेट लिने बलर विलियम ओ’रुर्क हुन् । उनले तीन खेलमा ६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने ४७ रन खर्चिएर तीन विकेट हो ।

दक्षिण अफ्रिकाको सर्वाधिक विकेट मल्डरको नाममा

ryan-rickelton-century-pti-ap
जारी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रायन रिकल्टन हुन् । उनले दुई खेलमा कुल एक सय ३० रन बनाएका छन् । एउटै खेलमा उनको उच्च स्कोर भने एक सय तीन रन हो । 

सर्वाधिक रन बनाउने दक्षिण अफ्रिकी ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा राशी भान डर डुसेन रहेका छन् । उनले दुई खेलमा कुल एक सय २४ रन बनाएका छन् । एउटै खेलमा उनको उच्च स्कोर भने अविजित ७२ रन हो । 

यसैगरी, जारी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर वायन मुल्डर हुन् । उनले दुई खेलमा पाँच विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २५ रन खर्चिएर तीन विकेट हो । सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा संयुक्त रुपमा मार्को यानसेन र कागिसो राबडा रहेका छन् । उनीहरुले चार–चार विकेट लिएका छन् ।

ब्याट्सम्यानलाई मायाँ गर्ने पिच
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच दोस्रो सेमिफाइनल खेलिने पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको छ । 

यो स्टेडियममा हालसम्म कुल ७२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले भने ३३ खेलमा जित हात पारेका छन् । एक खेल बराबरीमा र दुई खेल अनिर्णित रुपमा सकिएको छ । 

यो स्टेडियममा बनेको सबैभन्दा ठुलो स्कोर भने तीन विकेट गुमाएर तीन सय ७५ रन हो । सन् २०१५ मा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानले जिम्बाबेविरुद्ध उक्त स्कोर बनाएको थियो । 

छैन वर्षाको सम्भावना
दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच दोस्रो सेमिफाइनल खेल हुने दिन बुधबार लाहोरमा वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, दिनभर मौसम सफा रहने छ । लाहोरको तापक्रम १० देखि २४ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । हावाको गति भने १७ किलोमिटर प्रति घण्टा रहने छ । 

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको सम्भावित टोली
दक्षिण अफ्रिका :
टेम्बा बाभुमा (कप्तान), एडन मारक्रम, रायल रिकेल्टन, रासी भान डर डुसेन, हेनरिक क्लासन (विकेटकिपर), डेभिड मिल्लर, वायन मुल्डर, मार्को यानसन, कागिसो राबडा, केशव महाराज र लुङ्गी एनगिडी ।
न्युजिल्यान्ड : मिचेल सान्टनर (कप्तान), विल योङ, रचिन रविन्द्र, केन विलियम्सन, ड्यारल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, माइकल ब्रासवेल, म्याट हेनरी, काइल जामिसन र विलियम ओ’रुर्क ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप