बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
भाषा–संस्कृति

भाषामा खिसिट्युरी : मनोरञ्जन होइन, अपराध हो

बुधबार, २१ फागुन २०८१, ११ : ००
बुधबार, २१ फागुन २०८१

सुरु गायक कुमाः सागरको नामबाटै गरौँ न । उनको नामलाई कसैले ‘कुमः’ भनेका छन्, कसैले ‘कुमाः’ । भक्तपुर र काठमाडौँको नेवाः भाषामा रहेको भाषिक भेदका कारण आएको फरक हो यो । 

काठमाडौँ र भक्तपुरका नेवाः शब्दहरूमा आकारको चलखेल हुने गर्छ । काठमाडौँमा ‘छम्ह’ हुन्छ, भक्तपुरमा ‘छम्हा’ अर्थात् ‘एकजना’ । काठमाडौंमा ‘ग्वाः’ हुन्छ, भक्तपुरमा ‘ग्वः’ अर्थात् पान । त्यस्तै काठमाडौँमा ‘कुमाः’ हुन्छ, भक्तपुरमा ‘कुमः’ । त्यसैले गायक सिद्धिसागर प्रजापति ‘कुमः’ पनि हुन्, ‘कुमाः’ पनि हुन् । 

नेवाः समाजमा माटाको भाँडाकुँडा बनाउने समुदायलाई प्रजापति अर्थात् ‘कुमः/कुमाः’ भनिन्छ । अझ पुरानै रूपमा जाने हो भने ‘कुम्हाः’ भनिन्छ । नेपालीमा यसलाई ‘कुमाले’ पनि भएिको पाइन्छ । कुमाः समुदाय भक्तपुरका आदिवासी हुन्, जो भक्तपुरको काँचो माटोलाई आकार दिने पेसा गर्छन् ।  

कुनै बेला भक्तपुरको यो फरक नेवाः लबजलाई काठमाडौँकै नेवारहरूले पनि खिसिट्युरी गर्ने चलन थियो । काठमाडौँका नेवारहरू आफ्नो भाषालाई मात्र शुद्ध ठान्थे, अरु ठाउँका नेवारले बोल्ने भाषालाई ‘गामाः भाय्’ भनेर हेप्ने गर्थे । पाल्पा, बन्दीपुर, पोखरा, बाग्लुङ आदि नगरबाट कुनै काम विशेषले काठमाडौँ आएका नेवारहरूले यो पीडा अनुभव गरेको हुनुपर्छ । आफ्नो भाषालाई ‘गामाः भाय्/गाउँले भाषा’ भनेर हेप्ने कारणले बाहिर जिल्लाबाट काठमाडौँ आउने नेवारहरू काठमाडौँमा नेवार भाषा बोल्न डराउँथे । त्यसैले काठमाडौँ आएपछि उनीहरूको मातृभाषा बन्द हुन्थ्यो । नेवाः समुदायको राष्ट्रिय संगठन ‘नेवाः देय् दबू’ गठन भएपछि यो चलनविरुद्ध अभियानै चल्यो र अहिले यो बन्द भएको छ । त्यतिबेला अहिलेको जस्तो चेतना विकसित भइसकेको थिएन । अहिले पनि कुनै नेवारले बाहिर जिल्लाका स्थानीय नेवारलाई उसको आफ्नै लबजयुक्त भाषामाथि खिसिट्युरी गर्छ भने त्यसलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । नेवारले नेवारकै खिसिट्युरी गरेको त हो नि भनेर छुट दिन मिल्दैन ।  

त्यस्तै कुनै बेला अपाङ्गता भएका व्यक्तिहरूलाई पनि ‘लाटा’, ‘अन्धा’, ‘लङ्गडा’ जस्ता शब्द प्रयोग गरी हेप्ने गरिन्थ्यो । उनीहरूको पनि क्यारिकेचर गरी खिसिट्युरी गर्ने चलन थियो । तर ती समुदायको मानव अधिकारसम्बन्धी जागरण बढ्दै गएपछि त्यो पनि बन्द भएको छ ।

यी सबै खिसिट्युरीहरू विगतमा प्रचलित त्यस्ता बर्बर अभ्यास हुन् जसलाई त्यतिबेला ‘मनोरञ्जन’ नाम दिइएको थियो । अहिले समय बदलिसकेको छ । कुनै निमुखा व्यक्ति वा समुदायलाई खिसिट्युरी गर्ने कार्यलाई अब मनोरञ्जन भनिँदैन, अपराध भनिन्छ । गायक कुमाः सागरमाथि गरिएको खिसिट्युरी पनि मनोरञ्जन होइन, अपराध हो । उनले गाएको गीतलाई खिसिट्युरी गरी अश्लील अर्थ समेत निकालिएको छ । यसले अपराधका अन्य ऐनहरू पनि आकर्षित गर्छ । 

नेवाः समुदायलाई अक्सर गिज्याइने विषय भनेको उनीहरूको बोलीमा ‘ट’ र ‘त’ नछुट्टिनु हो । नेवाःहरूको बोलीमा ‘ट’ र ‘त’ नछुट्टिनुको कारण नेवाः भाषामा यी दुई ‘त/ट’ बिच कुनै भेद नहुनु हो । नेवाःहरूले यी ‘त/ट’ भन्दा पनि फरक तेस्रो खालको अर्कै ‘त’ बोल्ने गर्छन्, जसको स्वर देवनागरी लिपिको वर्णमालामा छैन ।

कसैले बोल्ने भाषा वा त्यसको लबजलाई लिएर खिसिट्युरी गर्ने कार्यले अहिले नेपालमा प्रचलित विभिन्न ऐनहरू आकर्षित गरेको देख्न सकिन्छ । यसले व्यक्तिको मानमर्दनसम्बन्धी कानुन, समाजमा घृणा फैलाउने कानुन, सार्वजनिक रूपमा अश्लील हर्कत गरेको कानुनहरू छुन गएको छ । गएको वर्ष बागमती प्रदेश सरकारले नेपालमै पहिलोपटक ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ ल्याएको छ । उक्त ऐनको दफा ६ मा भाषामाथि विभेद र अपमानजन्य व्यवहार गर्नु दण्डनीय हुने उल्लेख छ । मधेश प्रदेशको संसदमा पेस भएको सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमा पनि भाषिक विभेद र अपमान गर्नुलाई दण्डनीय ठहर्‍याइएको छ ।

भाषाशास्त्रीका भनाइ अनुसार मातृभाषा बोल्ने कुनै पनि व्यक्तिले दोस्रो भाषा बोल्दा उसको पहिलो भाषा (मातृभाषा) को असर त्यसमा परेकै हुन्छ । यो भाषाविज्ञानका हिसाबले सामान्य कुरा हो । नेवाः समुदायलाई अक्सर गिज्याइने विषय भनेको उनीहरूको बोलीमा ‘ट’ र ‘त’ नछुट्टिनु हो । नेवाःहरूको बोलीमा ‘ट’ र ‘त’ नछुट्टिनुको कारण नेवाः भाषामा यी दुई ‘त/ट’ बिच कुनै भेद नहुनु हो । अझ खास भनौँ भने नेवाःहरूले बोल्न ‘त’ भनेको न ‘त’ हो, न ‘ट’ हो । नेवाःहरूले यी ‘त/ट’ भन्दा पनि फरक तेस्रो खालको अर्कै ‘त’ बोल्ने गर्छन्, जसको स्वर देवनागरी लिपिको वर्णमालामा छैन । नेवाःहरूले बोल्ने ‘म्ह’, ‘न्ह’, ‘ल्ह’ जस्ता स्वरहरू खस नेपाली मातृभाषीहरूले उच्चारण गर्न सक्दैनन् । उनीहरू ‘म्ह’लाई ‘म’ भन्छन्, ‘न्ह’लाई ‘न’ भन्छन् । ‘ल्हासा’लाई ‘लासा’ भन्छन् । ‘लासा’ भनेको नेवाः भाषामा ‘ओछ्यान’ हो । कुखुराको भाले बास्दा ब्राह्मण क्षेत्रीले ‘कुखुरी काँऽ’ सुन्छ, नेवाःले ‘कुकुल्यांकूऽ’ सुन्छ, हिन्दी भाषीले ‘कुड्कुकूऽ’ सुन्छ । अर्थात् भाषा भनेको फरक परिवारका व्यक्तिको बोलाइमा मात्र होइन, सुनाइमा पनि फरक हुन्छ । यस्तो सुन्दा मजा त आउँछ, तर यो ‘मजाक’ बनाउने विषय भने होइन ।


अहिले केही ‘जोकर’हरूले के पनि तर्क गरेको देखियो भने ‘यो पनि गर्न हुन्न, त्यो पनि गर्न हुन्न भने क्यारिकेचर भनेकै नगर्नु त ?’ क्यारिकेचर गर्नै नहुने विषय होइन, तर प्रश्न आउँछ — के प्रयोजनका लागि गर्ने ? सकारात्मक कुरा देखाउन गर्ने कि नकारात्मक कुरा देखाउन गर्ने ?


कुनै नेवाः, मधेसी, राई, लिम्बु, तामाङ आदि समुदायका व्यक्तिले खस नेपाली भाषा बोल्दा त्यसमा आ–आफ्नो मातृभाषाको गन्ध आउँछ भने त्यो त नेपाली भाषाको सुन्दर पक्ष हो । यसले नेपाली भाषालाई धनी नै बनाउँछ, कमजोर पार्दैन । जुन विषयवस्तुले भाषालाई उन्नत बनाउँछ, त्यसलाई खिसिट्युरी गरेर किन दुरुत्साहन गर्ने ? 

नेपाली मनोरञ्जन क्षेत्रमा नेवाः लगायत राई, लिम्बु, मधेसी समुदायका भाषिक लबजलाई मजाक बनाएर मजा लिने चलन छ । यसको विरोधमा आवाज उठिरहेको सबैलाई थाहा छ । सम्बन्धित समुदायले नै यसको प्रतिवाद गरेपछि त्यो रोकिनैपर्छ । फलाना समुदायले प्रतिवाद गरेन, फलानाले मात्र किन प्रतिपाद गर्नुपर्‍यो भनेर प्रश्न गर्नु मूर्खता हो । सबै समाजको चेतनास्तर, सहिष्णुतास्तर, बुझाइ, परम्परा एउटै हुँदैन । कुनै समाजका लागि सामान्य हुन्छ भने कुनै समाजका लागि आपत्तिजनक । नेवाः समाज यो देशमा सांस्कृतिक–भाषिक रूपमा उत्पीडित समुदाय हो । त्यो समुदायको भाषा र संस्कृतिलाई कसैले मजाक बनाएको उनीहरूलाई मन पर्दैन । भारतमा सिख समुदायका सरदारहरूलाई हास्यको पात्र बनाएर धेरै नै नाटक, चुट्किला आदि बनाइएका छन् । सिख समुदाय यसमा दुःखी हुँदैन, उल्टो यसैमा ‘एन्ज्वय’ गर्छन् । यो उनीहरूको परम्परा बनिसकेको छ । 

नेवाः समाज यो देशमा सांस्कृतिक–भाषिक रूपमा उत्पीडित समुदाय हो । त्यो समुदायको भाषा र संस्कृतिलाई कसैले मजाक बनाएको उनीहरूलाई मन पर्दैन । भारतमा सिख समुदायका सरदारहरूलाई हास्यको पात्र बनाएर धेरै नै नाटक, चुट्किला आदि बनाइएका छन् । सिख समुदाय यसमा दुःखी हुँदैन, उल्टो यसैमा ‘एन्ज्वय’ गर्छन् । यो उनीहरूको परम्परा बनिसकेको छ ।

अहिले केही ‘जोकर’हरूले के पनि तर्क गरेको देखियो भने ‘यो पनि गर्न हुन्न, त्यो पनि गर्न हुन्न भने क्यारिकेचर भनेकै नगर्नु त ?’ क्यारिकेचर गर्नै नहुने विषय होइन, तर प्रश्न आउँछ — के प्रयोजनका लागि गर्ने ? सकारात्मक कुरा देखाउन गर्ने कि नकारात्मक कुरा देखाउन गर्ने ? जसको क्यारिकेचर गरिएको हो उसलाई होँच्याउने मात्रै उद्देश्य राखिन्छ भने त्यस्तो ‘क्यारिकेचर’माथि प्रश्न उठ्नु स्वाभाविक हो । मधेसी युवाको क्यारिकेचर गर्दा सधैँ पानवाला मात्रै देखाउन आवश्यक छैन होला ? डाक्टर, इन्जिनियर, हाकिम, शिक्षक, असल नेताका रूपमा मधेसी युवाको क्यारिकेचर किन गर्न सकिँदैन ?

समाजमा यो विषय उठिरहेको अहिले होइन, जति उठाउँदा पनि उठ्न बन्दै भइहालेको भने छैन । त्यसैले पनि यसलाई दण्डनीय बनाउनु अत्यावश्यक छ । कुमाः सागरको लबजलाई प्रयोग गरेर नेवाः भाषाको खिसिट्युरी गर्ने साजन श्रेष्ठलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठिरहँदा योभन्दा पहिले यस्तै खिसिट्युरी गर्ने अर्का कलाकार अपूर्व क्षितिजको भनाइ पनि सार्वजनिक भइरहेको छ । वास्तवमा यस्ता खिसिट्युरी गर्नेहरूलाई कारबाही गर्नैपर्छ भन्ने कुरा अपूर्व क्षितिजको नयाँ ‘फुरफुर’ले पनि पुष्टि गरेको छ । उनलाई पहिल्यै कारबाही गरेको भए उनलाई थाहा हुन्थ्यो कि यसो गर्नु दण्डनीय हो र साजन श्रेष्ठलाई उक्साउन आउँदैनथे । यस्तो कुरा हरेकपटक उठ्छन् । विरोध भएपछि माफी मगाएर टुङ्गाइन्छन् । यो वास्तवमा माफी मागेर टुंगिने सामान्य विषय होइन भन्ने सन्देश पनि अहिले दिनु आवश्यक छ । गल्ती महसुस गरेपछि माफी माग्नु गलत होइन । माफी मात्रै पनि यो गल्तीको क्षतिपूर्ति हुन सक्दैन । मानौँ कुनै चोरले सामान चोरी गरिसक्यो । प्रहरीले पक्राउ गरेपछि गल्ती भयो भनेर चोरेका सामान सबै फिर्ता गर्दैमा चोरले उन्मुक्ति पाउँछ ? चोरी गरेको अपराधमा उनलाई कुनै दण्ड हुँदैन ? 

भाषाको लबजलाई खिसिट्युरी गर्नुलाई दण्डनीय मान्ने कानुनहरू फितलो वा अस्पष्ट छन् भने त्यसलाई कडा र सुस्पष्ट बनाउन आवश्यक छ । यसलाई सानोतिनो विषयका रूपमा किन पनि लिनु हुँदैन भने भाषा, धर्म, संस्कृति मानिसको पहिचान र भावनासँग जोडिएको हुन्छ । भावना कोमल हुन्जेल त्यो रचनात्मक हुन्छ, भड्क्यो भने विध्वंश निम्त्याउन सक्छ । खिसिट्युरी गर्नेहरूलाई कानुनी कारबाही गर्न हामी कुनै विध्वंश नै पर्खेर बसेका हौँ त ? होइन । समाजमा सचेत र प्रबुद्ध वर्गले यसमा समायोचित ध्यान पुर्‍याउनैपर्छ । 

(लेखक भाषा आयोगका सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश किरण
सुरेश किरण
लेखकबाट थप