सुदूरपश्चिममा माओवादीभित्रको विवाद मिलाउन प्रचण्डलाई सकस

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रभित्रको विवाद साम्य हुन सकेको छैन । संसदीय दलको नेतृत्व परिवर्तन, मन्त्री चयन प्रक्रिया र पार्टी व्यवस्थापनमा देखिएका असन्तुष्टिका कारण विवाद सतहमा आएको हो ।
यो विवादले पार्टीको संगठनात्मक संरचनालाई कमजोर बनाउनुका साथै संसदीय दलको भूमिकालाई प्रभाव पारिरहेको छ । केन्द्रीय नेतृत्वले पार्टीभित्रको विवाद मिलाउन दिएको निर्देशनसमेत कार्यान्वयन हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको नेतृत्व परिवर्तन विवादको मूल जड हो । २०८० माघ १२ गते बहुमत सांसदहरूले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए । १० सांसदमध्ये धामीको पक्षमा ६ जना र भट्टका पक्षमा ४ जना थिए ।
तर, धामीले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको आरोप लाग्दै गयो । उनका केही निर्णयले असन्तुष्टि जन्माएपछि सांसद शिव ओली विपक्षमा उभिए । यससँगै दुवै पक्षमा सांसद संख्या बराबरी (५/५ जना) भएपछि संसदीय दलको विवाद झन पेचिलो बन्यो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले २०८० फागुन १४ गते सबै सांसदलाई खुमलटार बोलाएर छलफल गरेका थिए । उनले आफू २० गते कैलाली पुग्नुअघि विवाद समाधान गर्न निर्देशन दिएका थिए । यद्यपि विवाद समाधान हुन सकेको छैन ।
अध्यक्ष प्रचण्डले निर्देशन दिएको एक साता बिते पनि अहिलेसम्म त्यसको कार्यान्वयनका लागि कुनै प्रक्रिया अगाडि बढेको छैन ।
सुदूरपश्चिममा अहिले प्रतिपक्षमा रहेको माओवादीले दुई पटक सरकारमा सहभागी हुने अवसर पाएको थियो । पहिलो पटक खगराज भट्ट विनाविभागीय मन्त्री बनेका थिए ।
संसदीय दलको नेता बनेपछि मानबहादुर धामीले आफू निकटका व्यक्तिलाई मात्र मन्त्री पदमा नियुक्त गरेको आरोप लाग्यो । अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक लगायतका सांसदलाई मन्त्री बनाइएपछि असन्तुष्ट पक्षहरू झन् आक्रोशित बनेका थिए ।
खगराज भट्ट पक्षधरहरू मन्त्री चयन प्रक्रियालाई पारदर्शी नभएको भन्दै विरोधमा उत्रिएका थिए । संसदीय दलका सबै सदस्यलाई समान अवसर दिनुपर्नेमा नेताले मनोमानी गरेको उनीहरूको आरोप थियो ।
धामीले गरेका एकलौटी निर्णयका विरूद्ध पार्टी केन्द्रीय कार्यालयमा पटक–पटक छलफल भएको बताइएको छ । पार्टीभित्रकै केही नेताले संसदीय दलको नेतृत्वबाट धामीलाई हटाएर पुनः भट्टलाई नेता बनाउनुपर्ने माग गरेअनुसार अहिले अध्यक्ष प्रचण्डले भट्टलाई नै संसदीय दलको नेता बनाउन निर्देशन दिएका छन् ।
‘प्रचण्ड सुदूरपश्चिममा पार्टीभित्रको विवाद मिलाउन चाहन्छन तर उनलाई सकस छ,’ माओवादी केन्द्रका एक नेताले भने ।
विवाद ससंदीय दलको विषयमा मात्र होइन, प्रदेश पार्टी कार्यालय र विभिन्न जिल्ला, पालिका कमिटीमा पनि देखिएको छ । माओवादी केन्द्रको बझाङ जिल्ला कमिटीभित्र पनि असन्तुष्टि देखिएको छ । गत असोजमा नेतृत्व चयन गर्दा विस्तृत छलफल नगरेको भन्दै केही प्रदेश कमिटी सदस्यले समानान्तर कमिटी गठन गरेका थिए ।
यस कमिटीको संयोजक नन्दलाल धामी र सचिव अम्मरराज भण्डारी छन् । उनीहरूको आरोप छ— ‘पार्टीभित्र गुटबन्दी मौलाएको छ, केही नेतालाई पटक–पटक जिम्मेवारी दिइएको छ भने कतिपयलाई एकपटक पनि अवसर दिइएको छैन ।’
बझाङका छबिस–पाथिभेरा, दुर्गाथली, थलारा, तलकोट, मष्टा लगायतका पालिकामा माओवादी केन्द्रका इन्चार्जहरूले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक सुदूरपश्चिम प्रदेशका नेताहरूलाई विवाद समाधान गर्न निर्देशन दिएका छन् । संसदीय दल र पार्टीको आन्तरिक विवादलाई समाधान गर्न नेताहरूलाई उनले जिम्मेवारी दिइसकेका छन् ।
अध्यक्ष प्रचण्ड २०८० फागुन १२ गतेबाट झापामा सुरु गरेको ‘तराई–मधेस जागरण अभियान’ बिचमै छोडेर विवाद हल गर्न काठमाडौँ आएका थिए ।
प्रचण्डले संसदीय दलको नेतृत्व खगराज भट्टलाई दिनुपर्ने भन्दै सोही अनुसार निर्देशन दिए पनि त्यसलाई कार्यान्वयन गर्ने विधि र प्रक्रियाबारे स्पष्टता नहुँदा समस्या झन् जटिल बन्दै गएको छ ।
संसदीय दलका नेता धामीले ‘आफ्नो व्यवस्थापन के हुन्छ’ भनेर प्रश्न उठाएका छन् । यस विषयमा प्रचण्डले ‘केही न केही व्यवस्था हुन्छ’ भने पनि अहिलेसम्म त्यसबारे कुनै ठोस निर्णय आएको छैन ।
माओवादी केन्द्रभित्र गुटबन्दी गहिरिँदा पार्टीको संगठनात्मक संरचना कमजोर भइरहेको छ ।
प्रदेश सभा सदस्य ओमविक्रम भाटका अनुसार पार्टीमा व्यवस्थापनको समस्या छ । ‘सिनियर साथीहरू छुटेका छन् । नेतृत्वले सबैलाई समेट्न सकेको छैन, त्यसकै असर संसदमा पनि परेको हो,’ उनले भने ।
अर्का सांसद शिव ओली भन्छन्, ‘हिजो मानबहादुर धामीलाई बहुमतका आधारमा नेता बनायौँ तर उनले विधिविपरीत काम गर्न थालेपछि हामी फेरि खगराज भट्टलाई समर्थन गर्न बाध्य भयौँ ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सुदूरपश्चिमको विवादलाई समाधान गर्न सफल हुन सकेका छैनन् । पार्टीभित्र केही नेताले श्रेष्ठकै भूमिकाप्रति प्रश्न उठाइरहेका छन् ।
आन्तरिक विवाद लामो समयसम्म रहिरहे सुदूरपश्चिम माओवादीमा संकट आउन सक्ने देखिएको छ । साना तिना विवादले पार्टीको अभियानमा कुनै समस्या नरहेको कतिपय नेताको भनाइ छ । विवादबारे बढी मिडियावाजी र हो–हल्ला भएको उनीहरू बताउँछन् ।
संसदीय दलमा समस्या देखिएको जिकिर गर्दै ती नेताहरू यसलाई हल गर्दै अभियानलाई सहज तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् ।
‘त्याग, बलिदान गरेर आएको पार्टी हो, संघर्ष गरेर यहाँसम्म आएको पार्टीमा यस्ता सानातिना विवादले केही समस्या हुँदैन,’ एक नेताले भने, ‘विवादलाई मिलाउँदै लैजाने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी