बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व

बुधबार, २१ फागुन २०८१, ०६ : ३२
बुधबार, २१ फागुन २०८१

नुवाकोट । नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् । जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताए ।

“विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल हुँदै माझीको ढुङ्गा खियाउने पेसा हरायो”, उनले भने , “माछा मारेर जीविका चलाउँदै आएको पेसा पनि अहिले लोभ भएको अवस्था छ ।” 

माझी समुदायको सबैभन्दा ठूलो पर्व लदी हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिएको छ । पर्व मनाउन बागमती प्रदेश नुवाकोटका विदुर नगरपालिकाले बजेट विनियोजन गरेसँगै जिल्लाभरका माझीहरु एकीकृत भएर सामूहिक रुपमा पर्व मनाएका हुन् । 

विगतका वर्षमा आ–आफ्नो घरबाट निस्केर खोला नदीको किनारमा पूजा गरेर फर्कने गरिएको संस्कृतिलाई सामूहिक रुपमा मनाउन बजेट उपलब्ध गराइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले बताए । 

नेपाल माझी महिला उत्थान सङ्घका केन्द्रीय अध्यक्ष तथा निवर्तमान बागमती प्रदेससभा सदस्य रीता माझीले खोला नदीको उत्खननले माझीको पेसा सङ्कटमा परेको बताए । उहाँले प्राकृतिक स्रोतबाट सङ्कलित राजस्वको केही हिस्सा माझी समुदायको हितमा खर्चनुपर्ने माग गरे । प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा माझी समुदायलाई मात्र भनेकामा आपत्ति जनाउँदै पर्वको महत्व बुझाउन सबै जातजातिलाई नै सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ थियो । 

त्यसअवसरमा नदी किनारको आवास, फुर्लुङ, जाल, ढडिया, बल्छी, घौका, हुक्का, हतियार, भाडावर्तन, पोषाक, भेषभूषाको प्रदर्शनी गरिएको थियो । नुवाकोट माझी महिला उत्थान सङ्घका अध्यक्ष राधिका माझीले स्थानीयस्तरमा तीन तहको सरकारबाट सहयोग अपेक्षा गरिएको बताए । नेपाल माझी सङ्घ नुवाकोटका अनुसार हाल नुवाकोटमा एक सय ११ घरपरिवारमा तीन सय आठ महिला र तीन सय २६ पुरुष छन् । उनीहरुको मुख्य बसोबास त्रिशूली र तादी नदी आसपासको क्षेत्रमा पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप