बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

रेडपाण्डा संरक्षणका लागि पहल सुरु

बुधबार, २१ फागुन २०८१, ०५ : ०३
बुधबार, २१ फागुन २०८१

मङ्गलबारे । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो । 

कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन समेत गरेको छ । टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाइएको छ । 

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यसअघि पनि सोही ठाउँमा आठ सय रोपनी जमिन खरिद गरिसकेको छ । उक्त जग्गामा वृक्षारोपण समेत भइसकेको जनाइएको छ । रेडपाण्डा संरक्षण गर्न जैविकमार्ग विस्तारमा लागि जग्गा अपुग भएपछि कृषि मन्त्रालयअन्तर्गतको उक्त जमिन वन तथा वातावरण मन्त्रालय मातहतमा ल्याएर काम अगाडि बढाउन लागिएको हो । 

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी, मेघमा, तुम्लिङ्गलगायतमा वृक्षारोपण गरी वन्यजन्तु आवतजावत गर्ने जैविकमार्ग बनाउन पहल थालिएको वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक एवम् प्राविधिक टोलीका संयोजक धनञ्जय लामिछानेले बताए । उनका अनुसार पहिलो चरणमा जमिन उपयुक्त छ या छैन भन्ने विषयमा काम गरिनेछ ।

सो क्षेत्रमा हाल गाइपालन भइरहेको छ । चरन क्षेत्रका रूपमा रहेको जमिनलाई संरक्षण गर्न र हरियाली बनाउन काम थालिएको हो । सो क्षेत्रमा वृक्षरोपण गरी रोजगारी सृजना समेत गर्ने उद्देश्य रहेको रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ्फुरी शेर्पाले बताए । 

रेडपाण्डाको आहारका लागि आवश्यक  बिरुवा रोपण गरी जैविकमार्ग बनाउने काम नेटवर्कसँगको सहकार्यमा काम भइरहेको दीपज्योजी युवा क्लबका कार्यक्रम संयोजक राम रिमालले बताए । 

उक्त क्षेत्र नेपाल–भारत सीमामा पर्छ । भारततर्फ घना जङ्गल भए पनि नेपालतर्फ उजाड चौर छ । जसका कारण वन्यजन्तु आवतजावतमा समस्या भइरहेको छ । नेपालतर्फ बोटबिरुवा लगाएर हरियाली बनाउन सकेमा नेपाल र भारत लोपोन्मुख रेडपाण्डालगायतका वन्यजन्तु आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । रेडपाण्डा इलामसहित ताप्लेजुङ, पाँचथरलगायत नेपालका १३ जिल्लामा पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप