सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक, सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा गङ्गा आरती गरिएको छ । उनको स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा सन्त नेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज बेलुकी पशुपतिनाथ मन्दिर, बागमतीमा विशेष आरती गरिएको हो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष लोकेश ढकालले १४ वर्षअघि किसुनजीको शव पशुपतिमा जलेसँगै मूल्य, मान्यता र निष्ठाको राजनीति पनि जलेको धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको पनि उपस्थिति रहेको थियो ।
विसं १९८१ पुस ८ गते जन्मनुभएका किसुनजीको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनी देशको दुई पटक कार्यकारी प्रमुखको भूमिकामा रहँदा पनि अध्यात्मलाई नछोडेको धेरैले स्मरण गर्ने गरेका छन् । विसं २०१५ मा पहिलो पटक निर्वाचित संसद्को सभामुखका रूपमा पनि किसुनजीले काम गरेका थिए ।
किसुनजी अडान भएको, आदर्शमा नचुक्ने नेताका रूपमा चिनिन्छन् । पञ्चायतकालमा सुन्दरीजल बन्दी गृहमा बस्दा बिपी कोइराला र गणेशमान सिंह पञ्चायतले तयार गरेको कागजातमा हस्ताक्षर गरेर निस्किँदा पनि किसुनजी थप २० महिना एक्लै जेल बसी कागजातमा हस्ताक्षर नगरी निस्किएको इतिहास छ ।
प्रधानमन्त्री भएका बेला किसुनजीले बालुवाटारमा सरकारी काममा आएकालाई सरकारी भान्साबाट चियापान गराउने र आफूलाई व्यक्तिगत कामले भेट्न आएकालाई निजी भान्साबाट चिया खुवाउने गरेको स्मरण गर्छन् स्वामी आनन्द अरुण । दार्शनिक चाणक्यमा जस्तै मितव्ययी दर्शन किसुनजीमा पनि रहेको उनको भनाइ छ ।
स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
विसं २०८० पुस ८ गतेदेखि २०८१ पुस ८ गतेसम्म किसुनजीको जन्म शताब्दी वर्ष मनाइएको थियो । किसुनजीको जन्म शताब्दी वर्षकै अवसरमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष एवं कांग्रेस नेता ढकालले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस