ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले आफ्नोसहित सबै जनप्रतिनिधिको गाडी सुविधा कटौती गरेका छन् ।
बजेटमा अनुमान गरेअनुसार लोहन्द्रा खोलाबाट आउने राजस्व अहिलेसम्म नआएको र आन्तरिक राजस्व पनि लक्ष्य अनुसार नउठेको भन्दै उनले जनप्रतिनिधिको सवारी साधन, इन्धन र मर्मत सुविधामा कटौती गरेका हुन् ।
बजेटमा लोहन्द्रा खोलाबाट १ करोड ३५ लाख अनुमानित आम्दानी हुने भनिएको थियो तर ठेक्का नलाग्दा उक्त शीर्षकबाट १ रुपैयाँ पनि राजस्व आएको छैन ।
पालिका अध्यक्ष माझीले इन्धन शीर्षकको बजेटको स्रोत सुनिश्चित नभएसम्मका लागि आफूसहितको सवारी साधनको सुविधा कटौती गरिएको जानकारी दिए ।
‘लोहन्द्रा खोलाबाट १ करोड ३५ लाख आम्दानी हुने बजेटमा अनुमान छ तर, अहिलेसम्म ठेक्का नै लागेन,’ उनले भने ।
सोही आम्दानीको अपेक्षा अनुसार इन्धन, गाडी मर्मतमा, भ्रमणभत्ता, विकास निर्माणमा बजेट विनियोजन गरेको भन्दै उनले १ करोड ३५ लाख ब्लक भएपछि स्रोत सुनिश्चित नभएसम्मका लागि सबैको गाडी सुविधा खोस्ने, आफू पनि स्कारपियो नचढ्ने निर्णयमा पुगेको उनले बताए ।
माझीले प्रदेश सरकार र संघ सरकारले दिने भनेको अनुदान पनि कम आइरहेको र आन्तरिक राजस्व पनि लक्ष्य अनुसार नउठेको जानकारी दिए । आफूलाई काम गर्न कांग्रेस–एमालेका जनप्रतिनिधिले असहयोग र घेराबन्दी गरेको आरोप पनि उनले लगाए ।
‘म ग्रामथानवासी जनताको पक्षमा छु । २ वर्षमा ९ करोड बजेट फ्रिज भएको छ । अहिले पनि काम गर्न नदिएर बजेट फ्रिज गराउने प्रयास भइरहेको छ,’ उनले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारीले १ करोड ८० लाख आन्तरिक राजस्व उठाउने लक्ष्य राखिए पनि हालसम्म ५० लाखमात्रै उठेको जानकारी दिए ।
‘लोहन्द्रा खोला ठेक्का पनि लागेन । आन्तरिक राजस्व पनि लक्ष्य अनुसार उठ्ने अवस्था देखिएन । इन्धन र सवारी साधन मर्मत शीर्षकको बजेट पनि सकिएको कारण सबैको गाडी सुविधा कटौती गरिएको हो,’ उनले भने, ‘अब कार्यपालिका र सभा बसेर बजेट व्यवस्थापन गर्नुपर्छ ।’
सोही निर्णय अनुसार मङ्गलबार गाउँपालिका अध्यक्ष माझीले उपाध्यक्षसहित वडा अध्यक्षको गाडी नियन्त्रणमा लिएका छन् । मंगलबार नै बसेको कार्यपालिका बैठकमा विवाद चर्किएपछि बैठक प्रभावित बनेको थियो ।
गत माघ ३० गते बसेको कार्यपालिका बैठकले लोहन्द्रा खोलाको ठेक्कामा मिलेमतो गरेको पाइएपछि अध्यक्ष माझीले ठेकदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का आह्वान गर्ने सहितको निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध उपाध्यक्षसहित एमाले–कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षहरूले उच्च अदालत विराटनगरमा फागुन ४ गते रिट दायर गरेका थिए । उक्त रिटमा उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
अध्यक्ष माझीले गाडी सुविधा कटौती गरेपछि उपाध्यक्ष गुणावतीदेवी चौधरी सहितका अन्य जनप्रतिनिधिले भने असन्तुष्टि जनाएका छन् । १५ सदस्यीय कार्यपालिकामा अध्यक्ष माझी अल्पमतमा छन् ।
उनले माघ २९ गते बैठक बोलाएका थिए । तर, कोरम नपुगेपछि ३० गते एक चौथाइ सदस्यको उपस्थितिमा बैठक बोलाएर निर्णय गराएका थिए ।
स्थानीय सरकार सञ्चालन ऐनमा पहिलो बैठकमा कोरम नपुगेमा अर्काे बैठकमा एक चौथाइले कोरम पुग्ने व्यवस्था छ । ऐनअनुसार नै आफूले बैठक बोलाएको अध्यक्ष माझीले बताए । मंगलबार बसेको कार्यपालिका बैठकमा अदालतमा पुगेको विषयलाई लिएर विवाद भएपछि अध्यक्ष माझीले सबै जनप्रतिनिधिले प्रयोग गर्ने सरकारी सवारीका साधनको चाबी खोसेका हुन् ।
आफूले आजैदेखि सरकारी गाडी थन्काएर निजी मोटरसाइकल चढ्न थालेको अध्यक्ष माझीको भनाइ छ ।
ग्रामथान–६ का वडा अध्यक्ष वीरनारायण चौधरी थारुले भने कार्यपालिका बैठकपछि माओवादी कार्यकर्ता पठाएर अध्यक्षले गाडी खोसेको आरोप लगाए ।
गत मंसिरमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ७ वडा रहेको पालिकामा तीन नम्बर वडाका वडा अध्यक्ष रमेश कुमार भगले भने पालिकाबाट मोटरसाइकल लिएका थिएनन् । उनी नेकपा माओवादी केन्द्रका हुन् । १ नम्बरका वडा अध्यक्ष कांग्रेसका सुरेश कुमार माझीले भने पत्र नपठाएको भन्दै मोटरसाइकल फिर्ता गरेनन् ।
ग्रामथानमा एक जना कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष छन् भने एक जना माओवादीबाट निर्वाचित छन् । अन्य ५ जना भने एमालेका हुन् । ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म