मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

सांसदहरूको प्रश्नः नेपालका नदीमा पानीजहाज कसरी आउँछ ?

मङ्गलबार, २० फागुन २०८१, १९ : ५३
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । सांसदहरूले नेपालका नदीमा पानीजहाज आउन नसक्ने तर्क गरेका छन् । 

मंगलबार राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि भएको समितिमा सांसद सुरेशकुमार आलेले नेपालका नदीहरू भिरालो धरातलमा बग्ने भएकाले र ठुला नदीहरूमा बाँध भएकाले पानीजहाज चलाउन त्यति सम्भव नदेखिएको बताए । 

‘नेपालममा पानीजहाज सीधै समुद्रबाट आउन सम्भव छैन,’ सांसद आलेले भने, ‘समुद्रमा नेपालको पानीजहाज सञ्चालन गर्ने विषय अघि बढाए पनि नेपालका नदीमा बाँध भएकाले बाँधभन्दा अगाडि पानीजहाज सञ्चालन गर्न नसक्ने अवस्था छैन । जलवायु परिवर्तनको विस्वव्यापी समस्या छ । नेपालका नदीहरू सुक्दै गएका छन् । यस्तोबेला पानीजहाज चलाउन सकिन्छ जस्तो लाग्दैन ।’ 

सांसद तारामान स्वाँरले पनि नेपालका सबैजसो ठुला नदीमा बाँध भएकाले पानीजहाज चलाउन सम्भव नभएको तर्क गरे ‘नेपालका ठूला नदीमा बाँधहरू छन् बाधबाट पानीजहाज कसरी आउँछ ? नेपालका नदी समतल भएर बग्दैनन् किनकि पहाडबाट बग्छन् ? यहाँहरूले ६ सय ७ सय किलोमिटरसम्म पानीजहाज चलाउन सकिने कुरा उल्लेख गर्नुभएको छ । नेपालका नदीमा चलाउन सम्भव छ कि छैन ?,’ स्वाँरले प्रश्न गरे, ‘कुनै नेपालीले विदेशी जहाज हायर गरेर समुद्रमा चलाए यो ऐन लागू हुन्छ कि हुँदैन ?’

सांसद स्वारले विधेयकमा अन्तर्रास्ट्रियस्तरका समुद्र र आन्तरिक जल परिवहनको विकासका निम्ति चाहिने पूर्वाधार, नीतिगत सुधार नभएको उल्लेख गरे । यसैगरी नयाँ विधेयक र पुरानो विधेयकमा खासै फरक नदेखेको उनको तर्क थियो । 

‘विधेयकमा समुद्रमा चलाउने अन्तर्रास्ट्रिय र आन्तरिक जल परिवहनको विकासका निम्ति हामीलाई चाहिने पूर्वाधार, नीतिगत सुधार केछ ? यसको बारेमा म स्पास्ट हुन चाहन्छु । दोस्रो जलपरिवहनका लागि बन्दरगाह आवश्यक पूर्वाधार हो,’ सांसद स्वाँरले भने, ‘यसको निर्माण व्यवस्थापन सञ्चालन बन्दरगाहको स्थान, क्षमता आवश्यकताको सम्बन्धमा यो विधेयक कहिँपनि उल्लेख छैन । त्यसकारणले यो बारेमा के हो? छुट्टै जलपरिवहन व्यवस्था  छ कि छैन?’ 

आन्तरिक र अन्तराष्ट्रिय पानीजहाजको नीतिगत व्यवस्थालाई एउटै व्यवस्थामा ल्याउँदा अन्योल देखिएको उनको भनाइ छ । साथै पानीजहाज सञ्चालनका लागि आवश्यक जलमार्ग चिह्नबारे विधेयकमा उल्लेख नगरेको भन्दै उनले पानीजहाजसम्बन्धी सुरक्षाको विषयमा उल्लेख नभएको सांसद स्वाँरले बताए । 

भारतसँग जलमार्ग सञ्चालनको सन्दर्भमा सन्धि सम्झौता भएको नभएको बारे पनि उनले प्रश्न गरे । 'यदि नभएको हो भने नेपालका नदीबाट बङ्गालको खाडीमा जाने हो । त्यहाँ कसरी पुग्न सकिन्छ ? भारतले बाधा सिर्जना गर्ने त होइन?’ उनले प्रश्न गरे । 

सांसद भगवती न्यौपाने पनि समुद्रमा चल्ने ठुला पानीजहाज नेपालमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठाइन्? ‘नेपालका नदीहरूमा कन्टेनर बोक्ने पानीजहाज ल्याउन सकिन्छ कि सकिँदैन ? कस्तो पानीजहाज आउँछ यसबारे भावि योजना केछ ?’ उनले प्रश्न गरिन् । 

विष्णुकुमार विश्वकर्माले ५४ वर्षपछि जलयातायातसम्बन्धी विधेयक संशोधन हुँदा पनि उचित किसिमले संशोधन नभएको बताए । 

सुमित्रा विसीले विदेशी जहाज नेपाल भित्र्याउनेबारे विधेयकमा उल्लेख नभएको बताइन् । 

समतिमा भएको छलफलमा नेपाल पानीजहाज कार्यालयका मणिराम भुसालले नेपालका ठूला नदीमा पानीजहाज चलाउन सकिने उल्लेख गरे । 'नेपालको नारायणी नदीमा जेट बोट अहिले पनि चल्छ । ५० जना मान्छे राखेर एकघण्टामा हेर्ने हो भने त्रिवेणीघाट हुँदै नारायणघाटसम्म १ घण्टामा आइपुग्छ । पानीजहाज सञ्चालन गर्दा डल्फिनजस्ता पानीमा पाइने जीव खुसी भएका एउटा अनुसन्धानले पत्ता लगाएको छ । ठुलो आवाज आउँदैन,' उनले भने । 

मोटर भएका पानीमा चल्ने सबै सवारी पानीजहाज भएका उनकाे तर्क थियो । उनले भने, ‘डुंगा र र्‍यायाफ्टिङ पानीजहाजमा पर्दैनन्,’ पानीजहाज भनेपछि मालसामान बोक्ने यात्रु बोक्ने कार्गाे पनि पर्छन् नेपालमा ।’ भुसालले नेपालको पानीजहाज सञ्चालन गरे पनि बन्दरगाह बनाउनु नपर्ने दाबी गरे । साथै विश्वभरका जुनसुकै नागरिकले नेपालमा दर्ता गरी चलाउन सक्ने उल्लेख गर्दै विदेशी पानीजहाज नेपालमा नआउने बताए । 

नेपालमा ५४ वर्षअघि पानीजहाज सञ्चालन भएको र सोही वर्षदेखि नेपालले कर तिर्दै आएको उनको भनाइ थियो। ‘अन्तराष्ट्रिय सामुद्रिक संगठन (आईएमओलाई) लाई ५४ वर्षदेखि कर बुझाउँदै आएका छौँ,’ उनले भने,‘अघिल्लो वर्ष ९ हजार पाउन्ड तिरेका छौँ ।’

साथै उनले नेपालका ठुला नदीमा बाँध भएकाले पानी जहाज चलाउन नमिल्ने भए पनि गण्डक बाँधमा पानीजहाज आउन मिल्ने स्ट्रक्चर भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप