मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
मेलम्ची

मेलम्चीको पाइप : काठमाडौँबासीलाई पानी कि ‘वाटर एम्बुस’ ?

मङ्गलबार, २० फागुन २०८१, २० : ००
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । मंगलबार बिहान थापाथली चोकबाटभित्र जाने सहायक सडकमा एक्कासि मेलम्ची खानेपानीको पाइप फुट्यो । पाइप फुटेको केही मिनेटमै सडक र निजी आवासहरू जलमग्न बने । 

नर्भिक अस्पताल नजिकै किराना पसल सञ्चालन गर्दै आएका नारायण धरेल पसल खोल्न लागेका थिए, पसल खोल्नेबित्तिकै मेलम्चीको पानी पाइप फुटेर पसलसम्म आइपुग्यो । पसलभित्रै पानी पुग्ने डरले हतारहतार सटर बन्द गरेको उनी बताउँछन् । उनका अनुसार पानीको फोर्स घरको माथिल्लो तलासम्म पुग्लाजस्तै थियो । नर्भिक अस्पताल नजिकका निजी आवास र सटरहरू जलमग्न भएका उनले सुनाए । 

मेलम्चीको पाइप फुटेर जलमग्न हुने खतरा बढेसँगै स्थानीयबासीले प्रहरी र महानगरपालिका गुहारेका थिए । त्यसपछि काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकार त्यहाँ पुगेर उपत्यका खानेपानी लिमिटेड र महानगर प्रहरीलाई खबर गरेका थिए । 

तर थापाथलीमा केयूकेएल आइपुग्दा थापाथली चोकभित्रको शाखा सडक पूरै जलमग्न भइसकेको थियो । पाइप फुटेको करिब ४० मिनेटपछि मात्रै केयूकेएलले पानी बन्द गरेको थियो । पाइप फुट्दा वरपरका औषधि पसल, औषधिको गोदाम र होटलमा बढी क्षति पुगेको छ । 

अहिले नर्भिक र थापाथली प्रसूतिगृह जाने सडकमा ट्राफिक प्रहरीले सवारी आवागमन पूर्ण रूपमा बन्द गराएको छ । थापाथली प्रसूतिगृहमा उपचार गराउन आएका सुत्केरी, गर्भवती महिला बिरामी चोकबाटै हिँडेर अस्पतालसम्म पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

पछिल्लो समय मेलम्चीका पाइप बारम्बार फुट्न थालेका छन् । 

स्थानीयबासी सत्यनारायण मेहेताले सरकारले मेलम्चीको पानी बिछ्याएर ‘वाटर एम्बुस’ बनाएको आरोप लगाए । उनले भने, ‘यसले मानिसलाई समस्या बनाउँछ । कतिखेर कहाँ ब्लास्ट हुन्छ थाहा नै हुँदैन ।’

मेलम्ची खानेपानी आयोजनाले वितरण गर्ने शाखाको ट्यांकीमा आपूर्ति हुँदै आएको ५ सय एमएमको पाइप मंगलबार फुट्दा करिब ४० मिनेटमा ५ लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनका अनुसार थापाथलीमा फुटेको पाइप पानीको प्रेसरकै कारणले भएको देखिएको छ ।

केयूकेएलले बिछ्याएको पाइपमा २४ सै घण्टा पानी नहुँदा पाइपमा ग्यास भरिएर ठाउँ–ठाउँमा पाइप फुट्ने समस्या देखिएको उनको भनाइ छ । पानी नहुँदा हावा भरिएको पाइपमा हावा र पानीको प्रेसर हुने र जोइन्ट भएको कमजोर ठाउँमा पाइप ब्लास्ट हुने उनले बताए । जमिनमुनि गाडिएका जीआई पाइपहरू भएका पनि उनले बताए । प्रवक्ता राईको भनाइले पनि काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीका पाइप वाटर एम्बुस नै बन्ने खतरा छ । 

यो विषयमा सरकार र सम्बन्धित निकायहरू सर्तक हुन जरुरी देखिएको छ । पाइप फुटेर सडकमा खाल्डो हुने र पैदल यात्रु हिँडिरहेको अवस्थामा वाटर एम्बुसमा पर्न सक्ने देखिएको छ । 

त्यस्तै केयूकेएलका इन्जिनियर प्रकाश बराल पनि पाइप फुट्नुको सबैभन्दा ठूलो कारण हावा र पानीको प्रेसर नै भएको बताउँछन् । पाइपमा हावा पस्ने र कमसल भएका ठाउँमा फुट्ने उनले स्वीकार गरे । कतिपय ठाउँमा भने लिक भएर पिन फुटिरहेको उनले बताए । 

पूर्वाधारविद् आशीष गजुरेल पनि यस्तै तर्क गर्छन् । पाइपमा हावा भरिएर बस्ने र पानी हाल्दा पानीको प्रेसर थेग्न नसक्ने उनले बताए । नरम पाइपमा पानी ल्याएर घरको माथिसम्म पुग्नेगरी बनाइएकाले समस्या भएको उनको भनाइ छ । पाइपको क्षमताभन्दा बढी पानीको प्रेसर भएको उनले बताए । 

युटीलिटी करिडोरको योजना नल्याउन बारम्बार समस्या

अन्तर सरकारी निकायबिच विकास निर्माणका काममा समन्वय नहुँदा निम्तिएको समस्या सुल्झाउन युटिलिटी करिडोरसम्बन्धी ऐन आवश्यक छ । तर अहिलेसम्म सरकारले यस्तो कानुन बनाउन सकेको छैन । विकास निर्माणका काममा सरकारी निकायबिच समन्वय अभाव भएकाले यस्ता समस्या देखिरहेका छन् । 

युटिलिटी करिडोरसम्बन्धी कानुन बने स्वच्छ खानेपानी, विद्युत् सेवा, सुरक्षित सार्वजनिक स्वास्थ्यलगायत सेवासमेत सुनिश्चित हुने विज्ञहरू बताउँछन् । विद्यमान स्थानीय सरकार सञ्चालन ऐन, सहरी विकास ऐन, विद्युत् ऐन लगायतले युटिलिटी कोरिडोरको परिकल्पना गरेको छ । सहरी विकास मन्त्रालयले यसअघि नै ‘युटिलिटी करिडोर एक्ट’ ड्राफ्ट गरेको थियो । तर कानुन बनाउने विषयमा छलफल मात्र भएको छ । 

केयूकेएलका प्रवक्ता राईले युटिलिटी करिडोरको योजना ल्याउने कुरा लामो समयदेखि चले पनि अहिलेसम्म राज्यले नै ल्याउन नसकेको बताए । युटिलिटी करिडोरको कन्सेप्ट नहुँदा बारम्बार यस्तो समस्या आउने गरेको उनले उल्लेख गरे । सेटल सिटीमा नयाँ संरचना बनाएर काम गर्न एकदमै चुनौती भएको र समन्वयकारी रूपमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

थापाथलीमा मेलम्चीले पाइप बिछ्याएपछि विद्युत् प्राधिकरणले तार भूमिगत गरेको उनले बताए । पहिला बनाएको संरचनामाथि अर्को संरचना बनाउँदा समस्या देखिने उनको भनाइ छ । थापाथलीमा  एयर प्रेसरकै कारण पाइप फुटेको प्रारम्भिक अनुमान गरिएको पनि उनले बताए । भने, ‘पानीसँगको कुरामा लिकेज नहुने भन्ने हुँदैन । पहिले पाइप लामो सयम सडकमा छोड्दा त्यसको असर अहिले देखिएको हुन सक्छ । विभिन्न निकायसँग समन्वय गर्दागर्दै पनि त्यो पर्याप्त भएको छैन ।’

पूर्वाधारविद् गजुरेलले नेपालमा हुने भौतिक विकास दीर्घकालीन सोचका साथ बनाउन आवश्यक रहेको पनि बताए । लामो समयदेखि एउटा निकायले बनाउने र अर्को निकायले भत्काउने काम नरोकिएकाले बारम्बार यस्ता समस्या आइरहने उनको भनाइ छ । एक निकायबाट भएको कामले सबै निकायलाई असर परिरहेको उनले गुनासो गरे । त्यसकै लागि सरकारले युटिलिटी करिडोर नीति बनाउन जरुरी रहेको उनले बताए ।

अहिलेसम्म कहाँ–कहाँ फुट्यो मेलम्ची पाइप 

काठमाडौँ उपत्यकामा काठमाडौँमा उपत्यकामा विभिन्न समयमा खानेपानी र ढलका पाइपहरू फुट्ने समस्या नयाँ होइन । मेलम्चीको पानी काठमाडौँमा ल्याइएसँगै खानेपानीका पाइप फुट्ने समस्या बढेको छ । पछिल्लो समय करिब १० स्थानमा मेलम्चीको पाइप फुटिसकेको छ । 

गत माघ ३० गते बुधबार बबरमहलमा पनि विद्युत् प्राधिकरणले खानेपानीको पाइप फुटाउँदा सडक, आसपासका सरकारी कार्यालय र निजी घरहरू डुबानमा परेका थिए ।  विद्युत्को तार भूमिगत गर्ने क्रममा खानेपानीको पाइपमा क्षति पुग्दा डुबानमा परेको थियो  । 

त्यतिबेला केयूकेएलले विद्युत् प्राधिकरणलाई दोष देखाउँदै आफैँ मर्मतसम्भार गरेको थियो । मेलम्ची खानेपानीको २० इन्च मोटो फलामे पाइप फुट्दा बबरमहल क्षेत्र वरिपरि रहेका सरकारी र निजी भवन डुबानमा परेका थिए । उक्त पाइप फुटेको चार घण्टासम्म आयोजनाले पानी बन्द गर्न सकेको थिएन । 

बबरमहलमा फुटेको पाइप मर्मत नहुँदै थापाथलीमा पाइप फुटेको हो । उपत्यकामा समन्वयकारी भूमिकामा रहेका निकायहरूले एकआपसमा समन्वय नगर्दा एउटाले बिगार्ने अर्कोले बनाउने चलिरहेको छ । सडक विभाग, केयूकेएल, महानगर र विद्युत् प्राधिकरण यसका मुख्य जिम्मेवार निकाय हुन् ।

२०७९ मंसिर २६ गते मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा लैनचौर क्षेत्र जलमग्न भएको थियो । जसका कारण सडक भत्किनुका साथै पैदल यात्रु र सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

गत मंसिरमा नयाँ बजार क्षेत्रमा पनि खानेपानीको पाइप फुट्दा यस्तै भएको थियो । सानो र पुरानो पाइपमा पानीको चाप बढी भएकाले पाइप फुटेको केयूकेएलले जनाएको थियो । मेलम्चीको पानी वितरणसँगै यस्ता धेरै ठाउँमा समस्या आएका छन् । 

केयूकेएलका अनुसार अहिलेसम्म काठमाडौंको माछापोखरी, वनस्थली, चुच्चेपाटी, खुलामञ्च, गोकर्णको मुलपानी क्षेत्र र ललितपुरको पुल्चोकमा मेलम्चीको पानीको पाइप फुटेको जनाएको छ ।

केयूकेएलको लापरबाही कि कम गुणस्तरको पाइप ?

पछिल्लो समय केयूकेएलको लापरबाहीले पनि पाइप फुट्ने गरेको जानकारहरूले बताएका छन् । केयूकेएलले कम गुणस्तरका पाइपहरू बिछ्याउने तथा ठेकेदारले नाम मात्रैको काम गर्दा पनि अनुगमन नगर्दा समस्या भएको आरोप लाग्ने गरेको छ । 

बबरमहलमा पाइप गुणस्तरभन्दा पनि ठेकेदारको लापरबाहीका कारण घटना भएको काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रवक्ता चन्द्रकुमार श्रेष्ठले बताए । विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको उनले बताए । तर थापाथलीको भने त्यस्तो नभएको उनको तर्क छ । 

पानी वितरणका लागि बिछ्याएको २० इन्च मोटो फलामे पाइपको गुणस्तरमा कमी नभएको श्रेष्ठले दाबी गरे । निर्देशनालयले ठेक्का सम्झौता हुँदा नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरको पाइप बिछ्याएको उनी बताउँछन् । 

अहिलेसम्म पाइप फुट्नुमा तेस्रो पक्ष नै प्रमुख कारण भएको केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन् । ‘पाइपको गुणस्तर मापन गरेर मात्रै खरिद हुन्छ । अन्तर्राष्ट्रिय एजेन्ट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एजेन्टबाट आएको हुन्छ । गुणस्तर कम भएर फुटेको भन्न मिल्दैन, अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन ।’ 

निर्माता र तेस्रो पक्ष निरीक्षण एजेन्सीबिच सहमतिअनुसार नै आईएसओ २८५९ मान्यताप्राप्त २० इन्चको पाइप राखिएको उनले बताए । 

राईले बबरमहलमा पाइप फुट्नुको कारण विद्युत् प्राधिकरण भए पनि थापाथलीमा भने हावा र पानीको प्रेसरका कारण भएको बताए । उनले पनि खानेपानीको पाइपको गुणस्तरमा कमजोरी नभएको दाबी गरे । 

एकान्तकुना, अनामनगर क्षेत्रमा वितरण हुने पानी ‘रिलिज’ हुन नपाउँदा थापाथलीको खानेपानी पाइप ‘ब्लास्ट’ हुन पुगेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप