मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
बार निर्वाचन

बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?

मङ्गलबार, २० फागुन २०८१, १९ : ००
मङ्गलबार, २० फागुन २०८१

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । 

निर्वाचन कार्यतालिकाअनुसार बिहीबार उम्मेदवारीको दरखास्त मिति तय गरिएको छ । दरखास्तका लागि दुई दिन मात्रै बाँकी रहँदा अधिकांश दलनिकट संगठनहरूले उम्मेदवारको टुंगो लगाएका छन् ।

नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए), नेकपा माओवादीनिकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चले अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएका हुन् । 

आरपीएलए र पीपीएलएबीच गठबन्धन गरेर अघि बढ्ने समझदारी भएको छ । सर्वोच्च अदालत बार एसोसिएसनको चुनावमा बनेको गठबन्धन बार एसोसिएसनको निर्वाचनमा पनि कायम रहने गरी समझदारी भएको दुवै संगठनका अधिवक्ताहरू बताउँछन् । दुवै संगठनले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लागेको छ । यद्यपि, हालसम्म संयुक्त उम्मेदवार को हुने भन्ने टुंगिन भने सकेको छैन । 

पीपीएलएबाट अध्यक्षको उम्मेदवारका लागि वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, ईश्वरीप्रसाद भट्टराई र रमेश कोइरालाको दाबी रहेको थियो । ईश्वरीप्रसाद र रमेश कोइरालाले संयुक्त गठबन्धनको साझा उम्मेदवार आफ्नो संगठनबाट हुने शर्तमा टीकाराम भट्टराईलाई समर्थन गरेका हुन् । ‘पीपीएलएबाट टीकाराम भट्टराईलाई उम्मेदवार पठाउने सहमति जुटेको छ, तर गठबन्धन हुँदा आरपीएलएबाट उम्मेदवार बनाउने विषय उठ्यो भने हाम्रो दाबी कायम रहन्छ,’ उनले भने । 

यता आरपीएलएले वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । गत गएको शुक्रबार नै आरपीएलको बैठकले पूर्वमहान्यायधिवक्ता तथा बार एशोसिएसनका पूर्व महासचिव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आरपीएलएबाट अन्य कुनै सदस्यले पनि दाबी पेस गरेका छैनन् । पीपीएलएसँग संयुक्त गठबन्धनको समझदारी भएको आरपीएलएका एक सदस्य बताउँछन् । तर आफूहरू पछि भने नहट्ने दाबी उनको छ । ‘श्रेष्ठलाई समर्थन गर्नेगरी आरपीएलएसँग गठबन्धन हुन्छ । हामी ‘ब्याक हुने’ अवस्था छैन,’ उनले भने ।

डीएलएको उम्मेदवार टुंगिन बाँकी

अन्य संगठनले आफ्ना उम्मेदवारको नाम टुंग्याइरहँदा नेपाली कांग्रेसनिकट संगठन डीएलएले भने हालसम्म उम्मेदवार टुंगाएको छैन । डीएलएबाट यदुनाथ खनाल, योगेन्द्रप्रसाद अधिकारी, विजय मिश्र र खम्मबहादुर खातीले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । 

तर उम्मेदवार छनोट समितिले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय नगरिसकेको डीएलएबाट उम्मेदवारको दाबी गरेका वरिष्ठ अधिवक्ता खनालले जानकारी दिए । 

यता मतदाता नामवलीमा विवाद उत्पन्न भएपछि डीएलएले आन्दोलनका कार्यक्रम तय गरेको छ । उच्च अदालत बार एसोसिएसनले काठमाडौँ अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको थियो ।

उच्चले काठमाडौँ जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौँले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।

बार काउन्सिल अद्यावधिक गरे नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोमा आरोप डीएलएको छ ।

उक्त विवाद सुल्झाउन मंगलबार डीएलए र निर्वाचन समितिबीच वार्ता भए पनि वार्ता निष्कर्षविहीन टुंगिएको छ । काठमाडौँ जिल्ला डीएलएका अध्यक्ष सुशील पौडेलले माग सम्बोधन नभए बुधबार निर्वाचन समितिको कार्यालयमा तालबन्दी गर्ने चेतावनी दिएको वार्तामा सहभागी एक सदस्यले बताए । 

निर्वाचन तालिकाअनुसार फागुन २० गते (आज) साँझ ४ बजेसम्म अन्तिम मतदाता नामवली प्रकाशन हुनुपर्नेमा विवादकै कारण नामवली प्रकाशन हुन सकेको छैन । समितिले डीएलएको माग सम्बोधन गर्ने आश्वासन भने दिएको वार्तामा ती सदस्यको भनाइ छ । उनले भने, ‘माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम गर्ने तयारी हामीले गरेका छौँ । यो विवादले पनि उम्मेदवारबारे निर्णय प्रभावित भएको छ । विवाद सुल्झिए भोलि (बुधबार)सम्म उम्मेदवारको टुंगो पनि लाग्न सक्छ ।’

पीपीएलए र एसपीएलएसँग वार्तामा डीएलए

सरकारमा सत्ता र प्रतिपक्षमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसनिकट कानुन व्यवसायी संगठनहरू नेपाल बार एशोसिएसनको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा छन् । सर्वोच्च बारको निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रनिकट कानुन व्यवसायीले गठबन्धन गरेका थिए । हालसम्म सोही गठबन्धनलाई अघि बढाउने समझदारी दुवै पक्षबीच भए पनि सत्तामा सँगै रहेका कांग्रेस र एमालेनिकट वकिलहरू नियमित छलफलमै छन् । 

डीएलएले पीपीएलएसँगै नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट पेसागत कानुन व्यवसायी संगठन (एसपीएलए) सँग पनि गठबन्धनका लागि नियमित छलफल गरिरहेको छ । उसो त डीएलएभित्र कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा सहभागी हुनुपर्ने मत पनि ठुलो छ । तर, पीपीएलए र आरपीएलएबीच गठबन्धन भएमा आफूहरू पनि गठबन्धन गरेर अघि बढ्नुपर्ने स्वर ठुलो बन्दै गएको डीएलएका एक वरिष्ठ अधिवक्ताले बताए । डीएलएले यसअघि सर्वोच्च बारमा एसपीएलएसँग गठबन्धन गरेर निर्वाचन लडेको थियो भने उक्त समूहबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल अध्यक्षमा विजयी भएका थिए । अन्य पदमा पनि सोही गठबन्धनको वर्चस्व देखिएको थियो । बार एसोसिएसनमा पनि एसपीएलएसँग जसैगरी गठबन्धन गर्नुपर्ने धारणा डीएलएभित्र रहेको छ । ‘‘एक्लै चुनावमा सहभागी हुने स्वर पनि नभएको होइन । तर एसपीएलए र पीपीएलए मिलेर आए निर्वाचन सहज नहुने विचार पनि धेरैको छ । त्यसैले गठबन्धन गरेर जानुपर्ने धारणा धेरैको छ,’’ एक सदस्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप