ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
मङ्गलबार, २० फागुन २०८१, १८ : ३१

काठमाडौँ । ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका घर भएर कपिलवस्तुको शिवराज नगरपालिका बस्दै आएका जित बहादुर दमाई र नमी दमिनी छन् ।
दाङको इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत दाङले उनीहरु विरुद्ध २०५७ असोजमा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
फैसलासँगै फरार भएका उनीहरु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ मा लुकेर बसेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर अमर बहादुर माझीले रातोपाटीलाई बताए । दाङ जिल्ला अदालतको आदेशले उनीहरूलाई कारागार चलान गरिएको छ ।