मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

केपीलाई विद्याको सन्देश : कम्युनिस्ट एकता गर्ने कि मार्ग प्रशस्त गर्ने ?

विश्लेषक भन्छन्– पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति रणनीतिक र अर्थपूर्ण
मङ्गलबार, २० फागुन २०८१, १४ : ०२
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाका बिच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘गुट र फुट’लाई परास्त गरेर कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सांकेतिक दबाब दिएकी छन् ।

भण्डारीको यस्तो अभिव्यक्तिले एमालेका ओली पक्ष सशंकित र भण्डारी पक्ष खुसी हुन पुगेका छन् । जबकि पछिल्लो समय अध्यक्ष ओली नेताहरूको टाउको वा पार्टीपार्टी जोडेर हुने कम्युनिस्ट एकता नटिक्ने भन्दै त्यसको विपक्षमा उभिँदै आएका छन् ।

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै एमालेकै पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले अब फुटेर नभई जुटेरमात्र देश र जनताको सम्मृद्धिको आकांक्षा पूरा हुने बताइन् । यसका लागि कम्युनिस्ट एकताको विकल्प नभएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीको यो अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले निकै अर्थपूर्ण र रणनीतिक भनेर अर्थ्याएका छन् ।

करिब १० मिनेट लिखित सम्बोधन गरेकी भण्डारीले एमाले अध्यक्ष ओलीको प्रशंसा पनि गरिन् । ओलीले नेपाली राजनीति र नेकपा एमालेको आन्तरिक जीवनमा खेलेको भूमिकाको उनले प्रशंसा गर्नुका साथै विशिष्ट राजनीतिज्ञ, नेतृत्वकर्ता र रणनीतिकारका रूपमा चित्रित गरिन् ।

सम्बोधनको अन्त्यतिर भने भण्डारीले अध्यक्ष ओलीलाई स्पष्ट दुई सन्देश दिन भ्याइन्, जसलाई विश्लेषकहरूले अर्थपूर्ण भनेका हुन् ।

‘मुलुकको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनुभएको पार्टी नेकपा एमालेको महत्त्वपूर्ण योगदान रहँदै आएको छ’, भण्डारीले भनिन्, ‘अध्यक्ष ओलीले नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु ।’

भण्डारी त्यतिमै रोकिइनन् । उनले भविष्यमा समेत ओलीबाट त्यस्तै किसिमको भूमिकाको अपेक्षा गरिन् । ‘साथै भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को एउटा सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ ।’

यति भनिसकेपछि भण्डारी मुस्कुराइन् र थप भनिन्, ‘मलाई लाग्छ, पार्टीका समस्त नेता–कार्यकर्ताको अपेक्षा पनि यस्तै राजनीतिक सिर्जनात्मकतामा रहेको हुनुपर्दछ ।’

त्यसपछि भण्डारीले जननेता मदन भण्डारीलाई पनि सम्झिइन् । ‘जननेता मदन भण्डारीले अघि सार्नुभएको नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जवज) लाई नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गरेको छ’, उनले भनिन्, ‘जवजको मार्गदर्शनमा नेकपा एमालेले आफूलाई एक निणार्यक राष्ट्रिय शक्तिका रूपमा विकास गरी सामाजिक न्यायसहितको सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सङ्कल्प गरेको छ ।’

दुई कार्यकाल (करिब ७ वर्ष ) मुलुकको सर्वोच्च पद राष्ट्रपतिको भूमिका निर्वाह गरी भण्डारी २०७९ फागुन यता साधारण नागरिकको हैसियतमा छिन् । त्यसयता उनी एमालेको आन्तरिक अन्तरद्वन्द्वलाई सुक्ष्म ढंगले नियाल्दै आएकी छन् । उनलाई एमालेकै कतिपय नेता–कार्यकर्ताले एमालेको नेतृत्व सम्हालनेगरी सक्रिय हुन उकास्ने गरेका छन् । तर, भण्डारीले सक्रिय राजनीति गरिदिउन् भन्ने एमाले नेता–कार्यकर्ताप्रति एमाले अध्यक्ष ओली सन्तुष्ट देखिएका छैनन् ।

भण्डारी आफैँले पनि खुलस्त ढंगले राजनीतिमा सक्रिय हुने बताइसकेकी छैनन् तर उनको चाहना भने सक्रिय राजनीतिमा फर्कने रहेको निकटस्थ बताउने गर्छन् । कतिपयले भण्डारीको चाहनाअनुसार नै निकटस्थहरूलाई उनको पक्षमा बोल्न लगाइएको अर्थका रूपमा पनि बुझ्ने गरेका छन् । त्यसैको संकेतस्वरुप भण्डारीले केही महिनाअघि गण्डकी र कोशी प्रदेशको भ्रमण समेत गरेकी छन् । निकट भविष्यमै सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश भ्रमण गर्ने उनको योजना छ ।

भण्डारीको पछिल्लो अभिव्यक्तिलाई पनि उनको सक्रिय राजनीतिमा आउने संकेतका रूपमा जोडेर पार्टीभित्र र बाहिरमात्र नभई विश्लेषकहरूले समेत विश्लेषण गर्न थालेका छन् ।

राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल सोमबार काठमाडौँमा पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै भण्डारीले दिएको अभिव्यक्ति ‘स्ट्राटेजी’ भएको बताउँछन् ।

‘पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा सुरुमा एमाले अध्यक्ष तथा प्रधानमन्त्रीको प्रशंसा गर्नुभयो तर त्यो प्रशंसा गौण हो’, पोखरेलले रातोपाटीसँग भने, ‘गौण कुन अर्थमा भने सम्बोधनको अन्तिममा पार्टी टुटफुट होइन, कम्युनिस्ट एकतामा जोड गर्नुस् भनिएको छ । शब्दहरू सुन्दा र विश्लेषण गर्दा उहाँको अभिव्यक्ति एकदमै स्ट्राटेजीका रूपमा बुझ्न सकिन्छ ।’

कुनै कार्यक्रममा गएर सिधै छोड या यो बाटो लाग भन्दा ठाडो अर्ती दिएजस्तो हुने भएकाले पनि भण्डारीले ओलीलाई कूटनीतिक र सांकेतिक रूपमा ‘अब यसरी पार्टी चल्दैन है !’ भन्ने सन्देश दिएको पोखरेल बताउँछन् ।

‘यसरी स्ट्राटेजी रूपमा प्रस्तुत हुँदा केपी ओली पक्षका मानिसलाई पनि चित्त बुझ्ने नै भयो तर मूल कुरा यो हो कि तपाईं कम्युनिस्ट एकताको बाटोमा लाग्नुस्, यदि लाग्नुहुन्न भने एकताको बाटोमा लाग्नेका लागि मार्ग प्रशस्त गर्नुस् भन्ने हो’, पोखरेलले भने ।

केपी ओली अहिले कम्युनिस्ट एकताको पक्षमा नरहेको पोखरेल बताउँछन् । त्यो भावना बुझेर नै भण्डारीले ‘तपाईंले सक्नुहुन्छ’ भनेर ओलीलाई एकातिर फुर्क्याएको र अर्कोतिर ‘यदि तपाईं त्यो बाटो हिँड्नुहुन्न भने बाटो छाड्नुस्, लाग्नेहरू अघि बढ्छन्’ भनिएको उनको भनाइ छ ।

भण्डारीले समयको माग अनुसार आफू चल्ने भन्दै आएकी छन् । त्यो समयको माग के हो भनेर उनले खुलाएकी भने छैनन् ।

पोखरेलका अनुसार भण्डारीले दिएको अभिव्यक्ति अत्यन्तै स्ट्राटेजी र अर्थपूर्ण रूपमा बुझ्न उपयुक्त हुनेछ । ‘अर्थपूर्ण त छँदैछ किनकि उहाँ अब लुम्बिनी, मधेस प्रदेश पनि जाँदै हुनुहुन्छ । यो भनेको पानी छाम्ने काम हो’, पोखरेलले भने, ‘पार्टीभित्र देशभर अनुकूल र प्रतिकूल परिस्थिति बुझ्ने प्रयास देखिन्छ । धरातलीय यथार्थ बुझ्न खोजेको हो ।’

अर्का विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम पनि पोखरेलको भनाइमा सहमत देखिन्छन् । पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा पुनः आइसकेको गौतम बताउँछन् ।

‘विद्या भण्डारी प्रत्यक्ष रूपमा नेकपा एमालेको राजनीतिमा आइसकिन् । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनै हुँदैन भन्ने मतको विपक्षमा मेरो मत छ । साथै एक्सपर्टिज र उमेर पनि छ भने आउँदा केही फरक पर्दैन’, गौतमले भने ।

भण्डारीमा सक्रिय राजनीतिमा आउने चाहना भए पनि आफ्नो क्षेत्र के र कसरी अघि बढ्नुपर्छ भन्ने प्रस्ट भइनसकेको गौतमले बताए । ‘आकांक्षा छ । आफ्नो क्षेत्र के र कसरी अघि बढ्ने भन्ने प्रस्ट छैन’, उनले भने ।

भण्डारीले ओलीबारे दिएको अभिव्यक्ति पनि त्यसैको एक सन्देश भएको गौतमको ठहर छ । ‘पुस्तक लोकापर्णमा जसरी ओलीको नाम लिएर उहाँले बोल्नुभयो, यसको राजनीतिक अर्थ हुन्छ’, गौतमले भने, ‘अर्थ नहुने भए किन भनेको त ? तिमीहरू फुट्यौ, फुट्नु हुँदैन । कम्युनिस्ट एकता गर्ने तपाईंको दायित्वभित्र पर्छ । यदि तपाईं सक्नुहुन्न भने अरु कोही आउँछ पनि भनेको होला ।’

गौतमको भनाइमा भण्डारीले ओलीलाई ‘कि तपाईं कम्युनिस्ट एकता गर्नुस्, यदि सक्नुहुन्न भने मार्ग प्रशस्त गर्नुस् भनेको अर्थका रूपमा प्रस्ट बुझ्न सकिन्छ ।

एमालेका एक पदाधिकारीका अनुसार भण्डारी आगामी महाधिवेशनबाटै एमालेको नेतृत्व गर्न चाहन्छिन् । त्यसैका लागि उनले विभिन्न जिल्ला र प्रदेश पुगेर एमाले नेता कार्यकर्ताको मनोभावना बुझ्ने प्रयत्न गरिरहेकी छन् ।

अर्कोतिर अध्यक्ष ओली पनि फेरि अर्को कार्यकाल आफैँ नेतृत्व लिन चाहन्छन् । ‘पूर्वराष्ट्रपति भण्डारीको चाहना बुझेर नै हुनसक्छ अध्यक्षज्यू अर्ली महाधिवेशनको तयारीमा हुनुहुन्छ’, ती पदाधिकारी भन्छन्, ‘अर्ली महाधिवेशन गरेर अध्यक्ष पद सुरक्षित गर्ने ओलीजीको रणनीति बुझिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप