राप्रपाका प्रवक्तालाई प्रश्नः तपाईंहरुको आन्दोलन किन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पुनर्स्थापनाका साथै भ्रष्टाचारको विरुद्धमा चैतदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । त्यसअघिदेखि नै राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभाका साथै मोटरसाइकल र्याली पनि गरिरहेको छ ।
राप्रपाले फागुन ९ गते पोखराबाट भण्डाफोर सभा सुरु गरेर फागुन २७ मा सुर्खेतबाट समापन गर्ने तय गरेको छ। जसमा अध्यक्ष राजेन्द्र लिंदेनसहितका नेताहरु सक्रियतापूर्वक लागिरहेका छन् । यस्तै डा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले पनि चैतको आन्दोलनअघि प्रमुख सहरहरूमा मोटरसाइकल र्याली निकालिरहेको छ ।
यसै सन्दर्भमा राप्रपाको आन्दोलनलगायतका विषयमा रातोपाटीले पार्टीका नेता तथा प्रवक्ताहरु मध्येका एक सगुन सुन्दर लावतीलाई संक्षिप्त ५ प्रश्न गरेको छ–
- तपाईंहरुको आन्दोलन किन, अरू उपाय छैनन् ?
राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य लगायतका लक्ष्य प्राप्त गर्न जनसंघर्ष गर्नुपर्दछ भन्ने पार्टी महाधिवेशनकै निर्णय हो । सोही बमोजिम राप्रपा अहिले अघि बढिरहेको छ । चैतमा वर्तमान सरकारलाई धक्का दिने गरी काठमाडौँमा कार्यक्रम सञ्चालन गर्नेछौं ।
हामी नेपाली जन्मिदै ९० हजार रुपैयाँ ऋण बोकेर जन्मिने अवस्था छ । नेपालको नाम विश्वकै भ्रष्ट देशहरूको सूचीमा दर्ज भएको छ । २६०० नेपाली दैनिक विदेश पलायन हुन्छन् । राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा बेथिति छ, परराष्ट्र क्षेत्र दिशाहीन छ । देश संकट उन्मुख छ, त्यसैले गम्भीर समस्याको गम्भीर समाधान अपरिहार्य भएको हो । आन्दोलन, परिवर्तन देश र जनताको लागि बाध्यता भएको हो ।
- विगतको जस्तै नाम मात्रैको आन्दोलन हुन्छ भन्नेहरू पनि छन् नि ?
हामी त केवल माध्यम हौँ, प्रस्तावक हौँ, अन्तिम निर्णयकर्ता जनता हुन् । अहिले जनताको जुन मुड देखिएको छ, राप्रपाले आयोजना गरेको कार्यक्रम र मोटरसाइकल र्यालीहरूमा युवा र जनताको जसरी प्रभावकारी उपस्थिति देखिएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा जुन किसिमको प्रतिक्रियाहरू प्राप्त हुँदैछ, त्यसबाट जनता यथास्थितिको अन्त्य चाहन्छन् र परिवर्तन चाहन्छन् भन्ने प्रस्ट हुन्छ ।
भ्रष्ट र आत्मसमर्पणवादी नेतालाई बिदा दिएर, राजसंस्थालाई खुला दिलले स्वागत गर्न तयार छन् भन्ने देखिन्छ । त्यस कारण यस पटकको आन्दोलन विशेष छ ।
- प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रबाट आएको वक्तव्यलाई कसरी लिनु भएको छ ?
अभिभावकलाई देश र जनताप्रति चासो हुनु, बिग्रदो अवस्थाप्रति चिन्ता हुनु स्वाभाविक छ । सन्देश देशको गौरव, गरिमा र धरातलीय यथार्थमा केन्द्रित छ ।
देशलाई जोगाउन, राष्ट्रिय एकतालाई कायम राख्न राजाबाट आम नेपालीलाई सहयोग गर्न आह्वान भएको छ । राजाको सदिच्छामा हाम्रो पूर्ण समर्थन छ र सबै नेपाली जनताले सहयोग गर्छन् भन्ने विश्वास छ ।
- राप्रपाको अभियान कहाँ गएर टुङ्गिन्छ छ ?
देश र जनताले सकारात्मक निकास प्राप्त नगरेसम्म हामी विश्राम लिने छैनौँ । सबै नेपाली जनता, विशेष गरेर उपत्यकावासीको पनि सहयोग समर्थन रहनेमा विश्वस्त छौँ ।
- चैतमा आन्दोलन भनिरहनु भएको छ, अहिलेदेखि नै भण्डाफोर सभा र मोटरसाइकल र्यालीचाहिँ किन ?
यसलाई आन्दोलनअघिको पूर्वतयारी भनेर बुझ्दा हुन्छ । हामीले विभिन्न सहरमा मोटरसाइकल र्याली गर्ने क्रममा फागुन २१ मा काठमाडौँमा गर्दैछौँ । राष्ट्रिय झन्डामा गरिने मोटरसाइकल र्यालीमा समान विचार र लक्ष्य भएका सबै दल, समूह, संस्थाहरू सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण