मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : खनाल

मङ्गलबार, २० फागुन २०८१, १३ : २९
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् । 

मंगलबार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने , ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरू पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ? चुच्चे नक्सा नेपालले बनायो । त्यसलाई कार्यान्वयन गरियोस् । भने हामी उभिन सक्दैनौँ ?’

खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरे । उनले अध्यादेश ल्याउनुपर्ने के जरुरी अवस्था आइपर्‍यो ? भनेर प्रश्न समेत गरे । 

उनले भने, ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाइको सरकार भारीभर्कम सरकार भए पनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो । अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरूप कुनै पनि ऐनहरू सामान्य रूपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन । अध्यादेशहरू तत्काल कानुन बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो । त्यस्तो के विशेष अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन । त्यस कारण यसको प्रक्रियाकै हिसाबले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’

उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताए । वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा म्यानपावर कम्पनी खोलेर बसेको गम्भीर आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप