मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते

मङ्गलबार, २० फागुन २०८१, ११ : १२
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करण चैत ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी अगाडि बढाइसकिएको जानकारी दिए ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको उत्साह बढाउँदै आएको छ’ उनले भने । उनले छैटौँ संस्करणलाई अझ स्तरीय बनाउने तयारी भइरहेको बताए । 

छैटौँ संस्करणको अवार्ड वितरण कार्यक्रम खुला मैदानमा आयोजना गरिने जानकारी पनि उनले दिए । छैटौँ संस्करणमा २०८१ सालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षकसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने बताइएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार प्रदान गरिने छ ।

यसैगरी, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई भने २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

यसैबिच, स्पोर्टस अवार्डको छैटौँ संस्करणलाई पनि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले साथ दिने भएको छ । अवार्ड कार्यक्रमलाई हरेक वर्ष प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यसपटक पनि मुख्य प्रवर्द्धक बनेर साथ दिन लागेको आयोजकले जनाएको छ । 

मुख्य प्रवर्द्धन सम्बन्धी सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् । अवार्डका लागि मुख्य प्रायोजकसहित अन्य सह–प्रायोजकहरूको खोजी सुरु गरिएको पनि आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप