विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भोगेको नमिठो हारको बदला लिने धुनमा भारत

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा मंगलबार पहिलो सेमिफाइनल खेल खेलिँदै छ । पहिलो सेमिफाइनलमा भारतले निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ ।
अस्ट्रेलिया र भारतबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो १४ः४५ बजे सुरु हुनेछ । भारत र अस्ट्रेलिया समूहगत चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् । भारत समूह ‘ए’ को विजेता र अस्ट्रेलिया समूह ‘बी’ को उपविजेता बनेको थियो ।
यी दुवै टोली आईसीसी च्याम्पियन्स ट्रफीको दुई–दुई पटकका विजेता पनि हुन् । त्यसैले मंगलबार हुने पहिलो सेमिफाइनल खेललाई जारी संस्करणको ‘प्रतिकात्मक फाइनल’ का रूपमा पनि हेरिएको छ । समर्थकहरू पनि अधैर्यतापूर्वक यो खेलको प्रतीक्षामा छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोलीमा खासै अन्तर देखिँदैछ । पछिल्लो आईसीसी एकदिवसीय वरीयतामा भारत पहिलो र अस्ट्रेलिया दोस्रो स्थानमा आसीन छन् ।
जारी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेलेको छ । सुरक्षाको कारण देखाउँदै भारतीय टोली पाकिस्तान भ्रमणमा नगएपछि भारतको सबै खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा राखिएको हो ।
समूहगत चरणमा अस्ट्रेलियाको तीनवटै खेल भने पाकिस्तानका दुईवटा स्टेडियममा परेको थियो । अस्ट्रेलियाको खेल लाहोरस्थित गद्दाफी स्टेडियम र रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राखिएको थियो ।
मंगलबार खेलिने सेमिफाइनल खेल भारतका लागि अस्ट्रेलियासँग पछिल्लो हारको बदला लिने गतिलो अवसर पनि हो । सन् २०२३ मा घरेलु मैदानमा खेलिएको आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँगै पराजित भएको थियो ।
- भारतको सेमिफाइनल यात्रा
जारी च्याम्पियन्स ट्रफीमा भारत समूहगत चरणको तीनवटै खेल जित्दै सेमिफाइनलमा पुगेको हो । भारतीय टोली ६ अंकसहित समूह ‘ए’ को विजेता बनेको थियो । उक्त समूहबाट चार अंकसहित न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
भारतीय टोलीले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ विकेटको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो ।
- अस्ट्रेलियाको सेमिफाइनल यात्रा
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा अस्ट्रेलिया पनि समूहगत चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अस्ट्रेलिया चार अंकसहित समूह ‘बी’ को उपविजेता बनेको थियो । उक्त समूहबाट दक्षिण अफ्रिका पाँच अंकसहित पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा इङ्ल्यान्डलाई पाँच विकेटले हराएको थियो । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । अस्ट्रेलिया र अफगानिस्तानबिचको खेल पनि वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो । दुवै टोलीले एक–एक अंक पाएका थिए ।
- च्याम्पियन्स ट्रफीमा भारत
भारतले च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । च्याम्पियन्स ट्रफीमा भारतको यो नवौँ सहभागिता हो । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।
च्याम्पियन्स ट्रफीको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने भारत दोस्रो टोली हो । दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि चुम्ने पहिलो राष्ट्र भने अस्ट्रेलिया हो । भारतले पहिलो पटक सन् २००२ मा आयोजित तेस्रो संस्करणको उपाधि चुमेको थियो ।
त्यतिबेला आयोजक श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अर्को दिन फाइनल खेल राखिएको थियो । दोस्रो दिनको फाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा दुईवटा राष्ट्रलाई संयुक्त रूपमा विजेता घोषित गरिएको यो पहिलो पटक थियो । च्याम्पियन्स ट्रफीमा भारतले पहिलो उपाधि चुम्दा सौरभ गांगुली कप्तान थिए ।
यसैगरी, सन् २०१३ मा भारतले दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । त्यतिबेला भारतले फाइनलमा आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि हात पारेको थियो । त्यतिबेला भारतीय टोलीका कप्तान थिए, महेन्द्रसिंह धोनी ।
यसका अतिरिक्त, सन् २००० मा आयोजित च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण र सन् २०१७ मा आयोजित आठौँ संस्करणमा पनि भारत फाइनलसम्म पुगेको थियो । भारतीय टोली सन् २००० को फाइनलमा न्युजिल्यान्डसँग चार विकेटले र सन् २०१७ को फाइनलमा पाकिस्तानसँग एक सय ८० रनले पराजित भएको थियो ।
- च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया
अस्ट्रेलियाले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईसीसी च्याम्पियन्स ट्रफीमा निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको यो लगातार नवौँ सहभागिता हो ।
अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको उपाधि जित्न पाँचौँ संस्करणसम्म प्रतीक्षा गर्नु परेको थियो ।
सन् २००६ मा सम्पन्न पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियन टोलीले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यतिबेला रिकी पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले उपाधि चुमेको थियो ।
यसैगरी, च्याम्पियन्स ट्रफीको छैटौँ संस्करण सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । उक्त संस्करणको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । त्यो संस्करणको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएको थियो ।
त्यतिबेला पनि पोन्टिङ नै अस्ट्रेलियाका कप्तान थिए । यसदेखि बाहेक अस्ट्रेलियन टोली च्याम्पियन्स ट्रफीको फाइनलसम्म पनि पुग्न सकेको छैन ।
- आईसीसीको आधिकारिक प्रतियोगितामा आपसी भिडन्त
आईसीसीद्वारा आयोजित एकदिवसीय प्रतियोगितामा यी दुई टोलीबिच हालसम्म १८ पटक भिडन्त भएको छ । त्यसमध्ये १० खेलमा अस्ट्रेलिया र सात खेलमा भारत विजयी भएका छन् । एक खेल अनिर्णीत रूपमा सकिएको छ । मंगलबार यी दुई टोली १९औँ पटक आपसमा भिड्न लागेका हुन् ।
आईसीसीद्वारा आयोजित एकदिवसीय प्रतियोगिताको नकआउट चरणमा भने यी दुई टोलीबिच सातौँ भिडन्त हुन लागेको हो । नकआउट चरणमा यसअघि अस्ट्रेलिया र भारतबिच ६ पटक भिडन्त भएको छ । त्यसमध्ये तीन खेलमा अस्ट्रेलिया र तीन खेलमा भारत विजयी भएका छन् ।
नकआउट चरणमा सबैभन्दा पहिले यी दुई टोली आईसीसी च्याम्पियन्स ट्रफीमै भिडेका थिए । सन् १९९८ मा सम्पन्न च्याम्पियन्स ट्रफीको पहिलो संस्करणको क्वार्टरफाइनलमा भारतले अस्ट्रेलियालाई ४४ रनले हराएको थियो ।
सन् २००० मा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो संस्करणमा पनि यी दुई टोलीबिच आपसी भिडन्त भएको थियो । उक्त संस्करणको क्वार्टरफाइनलमा पनि भारतीय टोलीले अस्ट्रेलियालाई २० रनले पराजित गरेको थियो ।
सन् २०११ मा सम्पन्न आईसीसी विश्वकपको क्वार्टरफाइनलमा पनि भारतले अस्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको थियो । उक्त विश्वकपको उपाधि पनि भारतले नै जितेको थियो । भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो ।
यसैगरी, अस्ट्रेलियाले पनि आईसीसीद्वारा आयोजित एकदिवसीय प्रतियोगिताको नकआउट चरणमा भारतलाई तीन पटक हराएको छ । अस्ट्रेलियाले सन् २००३ मा सम्पन्न एकदिवसीय विश्वकपको फाइनलमा भारतलाई एक सय २५ रनले हराएको थियो ।
त्यसपछि, सन् २०१५ मा सम्पन्न एकदिवसीय विश्वकपको सेमिफाइनलमा पनि अस्ट्रेलियाले भारतलाई ९५ रनले पराजयको स्वाद चखाएको थियो । यसका अतिरिक्त, सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो ।
च्याम्पियन्स ट्रफीको नकआउट चरणमा भने अस्ट्रेलियाले हालसम्म भारतलाई हराउन सकेको छैन । च्याम्पियन्स ट्रफीमा भारतले दुईपटक अस्ट्रेलियालाई पराजित गरेको छ ।
- एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलिया अगाडि
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म भारत र अस्ट्रेलियाबिच कुल एक सय ५१ खेल खेलिएको छ । त्यसमा भारतभन्दा अस्ट्रेलिया निकै बलियो देखिन्छ । ८४ एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । ५७ एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई हराएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबिचको १० खेल भने अनिर्णीत रूपमा सकिएको छ । अस्ट्रेलियाले घरेलु मैदानमा खेलिएको ३८ खेलमा भारतलाई हराएको छ । भारतले घरेलु मैदानमा खेलिएको ३३ खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ ।
यसैगरी, अस्ट्रेलियाले भारतीय टोलीको घरेलु मैदानमा खेलिएको ३४ खेलमा जित हात पारेको छ । अस्ट्रेलियन टोलीको घरेलु मैदानमा खेलिएको १४ खेलमा भारतले सफलता हात पारेको छ । ‘न्यूट्रल भेन्यू’ मा भने अस्ट्रेलियाले १२ र भारतले १० खेल जितेको तथ्याङ्कले देखाउँछ ।
- पछिल्ला पाँच भिडन्तको अवस्था
अस्ट्रेलिया र भारतबिच खेलिएको पछिल्ला पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलको तथ्याङ्कलाई हेर्दा भने थोरै अन्तरले भारत अगाडि देखिन्छ । पछिल्ला पाँचमध्ये तीन खेलमा भारत र दुई खेलमा अस्ट्रेलिया विजयी भएका छन् ।
सन् २०२३ को सेप्टेम्बर २२ तारिखमा खेलिएको खेलमा भारतले अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो । सन् २०२३ को सेप्टेम्बर २४ तारिखमा खेलिएको खेलमा पनि भारतले अस्ट्रेलियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ९९ रनले हराएको थियो ।
यसैगरी, सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा खेलिएको खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हराएको थियो । सन् २०२३ कै अक्टोबर ८ तारिखमा खेलिएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो ।
यो भिडन्त भने आईसीसी एकदिवसीय विश्वकपमा भएको थियो । पछिल्लो पटक भने यी दुई टोलीबिच सन् २०२३ को नोभेम्बर १९ तारिखमा भिडन्त भएको थियो । उक्त खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो । यो खेल आईसीसी एकदिवसीय विश्वकपको फाइनल थियो ।
- श्रेयष ऐयरको नाममा भारतको सर्वाधिक रन
जारी च्याम्पियन्स ट्रफीमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान श्रेयष ऐयर हुन् । उनले अघिल्ला तीन खेलमा कुल एक सय ५० रन बनाएका छन् । जारी च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी पाँचौँ नम्बरमा छन् ।
जारी प्रतियोगितामा ऐयरले बनाएको उच्च स्कोर भने ७९ रन हो । भारतका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान सुभमन गिल हुन् । यी युवा ओपनर ब्याट्सम्यानले तीन खेलमा कुल एक सय ४९ रन बनाएका छन् ।
जारी प्रतियोगितामा गिलको उच्च स्कोर भने अविजित एक सय एक रन हो । भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा विराट कोहली तेस्रो स्थानमा छन् । उनले तीन खेलमा कुल एक सय ३३ रन बनाएका छन् । उनको उच्च स्कोर भने अविजित एक सय रन हो ।
यसैगरी, जारी प्रतियोगितामा भारतका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती, मोहम्मद शामी र कुलदीप यादव हुन् । यी तीनैजना बलरले च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा पाँच–पाँच विकेट लिइसकेका छन् ।
- अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने इङ्लिस
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान जस इङ्लिस हुन् । उनले दुई खेलमा कुल एक सय २० रन बनाएका छन् । जारी प्रतियोगितामा उनको उच्च स्कोर पनि अविजित एक सय २० रन नै हो ।
अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा भने म्याथ्यू सर्ट रहेका छन् । उनले आफूले खेलेको दुई खेलमा कुल ८३ रन बनाएका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर भने ६३ रन हो ।
यसैगरी, जारी प्रतियोगितामा अस्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने बलर बेन ड्वारशस हुन् । उनले दुई खेलमा ६ विकेट लिइसकेका छन् । जारी प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन भने ४७ रन खर्चिएर तीन विकेट हो ।
उनी सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि तेस्रो स्थानमा आसिन छन् । अस्ट्रेलियन बलर एडम जाम्पाले पनि हालसम्म चार विकेट लिइसकेका छन् । जारी प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ४८ रन खर्चिएर दुई विकेट हो ।
- स्पिन बलरलाई साथ दिने पिच
भारत र अस्ट्रेलियाबिचको पहिलो सेमिफाइनल खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिने छ । यो स्टेडियमको पिच पहिले तिब्रगतिका बलरहरुलाई साथ दिने प्रकृतिको थियो । तर, जारी च्याम्पियन्स ट्रफीमा भने यो पिचले स्पिन बलरहरुलाई बढी सहयोग पूर्याउँदै आएको छ ।
जारी प्रतियोगितामा यो स्टेडियममा खेलिएको खेलमा पहिलो पालीमा तिब्रगतिका बलर र दोस्रो पालीमा स्पिन बलर हावी भएको देखिएको छ । जारी च्याम्पियन्स ट्रफीमा हालसम्म यो स्टेडियममा तीन खेल खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले एक र जवाफी ब्याटिङ गर्ने टोलीले दुई खेल जितेका छन् ।
भारतले आफ्नो तीनवटै खेल यही स्टेडियममा खेलेको हो । यो स्टेडियममा अस्ट्रेलिया र भारतबिच पहिलो पटक भिडन्त हुन लागेको हो । जारी प्रतियोगितामा यो स्टेडियममा हालसम्म कुनै पनि टोलीले दुई सय ५० भन्दा बढी रन बनाउन सकेको छैन ।
- छैन वर्षाको सम्भावना
भारत र अस्ट्रेलियाबिच मंगलबार पहिलो सेमिफाइनल खेल खेलिँदा दुबईमा वर्षाको कुनै सम्भावना नरहेको बताइएको छ । मंगलबार दुबईको तापक्रम २१ देखि २९ डिग्री सेल्सियसको बिचमा रहने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाको गति भने २७ किलोमिटर प्रति घण्टा रहने छ ।
- अस्ट्रेलिया र भारतको सम्भावित टोली
भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयष ऐयर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, हर्षित राणा वा वरुण चक्रवर्ती र मोहम्मद शामी ।
अस्ट्रेलिया : स्टिभन स्मिथ (कप्तान), ट्राभिस हेड, ज्याक फ्रेजर म्याकगर्क वा कुपर कोनोली, मार्नस लाबुशेन, जस इङ्लिस (विकेटकिपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, नाथन एलिस, वेन ड्वारशस, एडम जाम्पा र तनवीर संघा ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’
-
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली
-
केपीलाई विद्याको सन्देश : कम्युनिस्ट एकता गर्ने कि मार्ग प्रशस्त गर्ने ?