मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने

मङ्गलबार, २० फागुन २०८१, १० : ५४
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । फुटबलको फ्रेच्नाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पनि अफ्रिकन स्ट्राइकर आफिज ओलावालेले धनगढी फुटबल क्लबबाटै खेल्ने भएका छन् । 

यसअघिको दुई संस्करणमा पनि ओलावालेले धनगढी फुटबल क्लबबाटै खेलेका थिए । धनगढीलाई अघिल्ला दुवै संस्करणको फाइनलसम्म पुर्‍याउन पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो । 

ओलावालेले भारत र बंगलादेशको शीर्ष लिगमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । उनले नेपालका ‘ए’ डिभिजन क्लबहरुबाट पनि व्यवसायिक फुटबल खेलिकेका छन् । 

धनगढी फुटबल क्लबले ३० वर्षीय नाइजेरियन स्ट्राइकरको आगमनबाट आफूहरु उत्साही भएको बताएको छ । धनगढी एफसीले विदेशी खेलाडीका रुपमा यसअघि लेबननका स्ट्राइकर अहमद हिजाजीलाई पनि आबद्ध गरिसकेको छ ।

यसैगरी, धनगढी एफसीले आफ्नो प्रमुख प्रशिक्षकका रुपमा पनि विदेशीलाई नै नियुक्त गरेको छ । स्पेनका हुवाँ म्यानुएल मार्टिनेज साइज धनगढी फुटबल क्लबका प्रमुख प्रशिक्षक हुन् । 

धनगढी फुटबल क्लबले नेपाल सुपर लिगको आगामी संस्करणका लागि राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो सद्भावनादूत नियुक्त गरेको छ । 

कृतिशरत्न छुन्जु धनगढी एफसीका मार्की खेलाडी हुन् । टोलीमा खेलाडीको भूमिकामा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप